गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्।
नोभेम्बर ३(१८ कात्तिक) देखि डिसेम्बर ३(१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ।
यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए । त्यस्तै २ हजार ५ सय ३३ यात्रु भैरहवा अवतरण गरेका छन्।
साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन्। एक महिनामा कुल १ सय ५६ उडान/अवतरण भएका छन्। ७८ उडान र ७८ अवतरण भएको विमानस्थलले जनाएको छ।
एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ। जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ। यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ।
त्यस्तै फ्लाई दुबईले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ।
थाइ एयर एसियाले चार सय ४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ।