लभी हस्पिटालिटी ग्रुपले नेपाली खानाको स्वाद अन्तर्राष्ट्रिय बजारमा पुर्याएको छ। लभीको व्यवस्थापनमा दुबईमा 'ल्याब स्पोर्ट्स बार एन्ड मल्टिकुजिन रेस्टुरेन्ट' खुलेको हो।
ग्रुपका सिइओ सुदर्शन पौडेलका अनुसार एक करोड रूपैयाँ लगानीमा बनेको यो रेस्टुरेन्ट गत अप्रिलबाट सञ्चालनमा आएको हो।
नेपाली हस्पिटालिटीलाई विश्व बजारमा लैजानुपर्छ भन्ने सोचेर पहिलो गन्तव्यका रूपमा दुबईमा रेस्टुरेन्ट खोलेको उनले बताए।
'दुबई पर्यटकको राम्रो आगमन हुने ठाउँ हो। नेपालीहरू पनि धेरै छन्। त्यसैले हामी त्यहाँ पुगेका हौं,' सुदर्शनले भने, 'यो हाम्रो ग्रुपको व्यवस्थापनमा चल्ने मुलुक बाहिरको पहिलो रेस्टुरेन्ट हो।'
स्पोर्ट्स बार र रेस्टुरेन्ट दुवै भएकाले 'ल्याब' छोटो समयमै धेरैले रूचाएको उनको भनाइ छ।
यो रेस्टुरेन्टको विशेषता भनेको खेलकुद, लाइभ म्युजिक र खानाका परिकार हुन्। स्पोर्ट्स बारमा विश्वभर चल्ने खेलकुदहरू ठूलो स्क्रिनमा देखाइन्छ।
रेस्टुरेन्टमा ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय परिकार पाइन्छ। नेपाली परिकारमा केही फरक तथा अर्गानिक स्वाद राखेको उनले बताए।
'सिजन अनुसारका खानेकुरा मेनुमा छन्। भोगटे साँधेको, माझीकुना (पोखरा) को माछा, सुकुटी, थकाली खाना, ढिँडो लगायत परिकार पाइन्छ,' उनले भने, 'हामीले नेपाली स्वाद र आतिथ्यता नै विदेशी बजारमा पुर्याउन खोजेका हौं।'
होटल ल्याब दुबईको तीनतारे होटल 'पामबिच' भएको भवनको भुँइतलामा छ। यहाँ एकपटक ९० जनासम्मले बसेर खाना मिल्छ। रेस्टुरेन्टमा १८ जनाले रोजगारी पाएका छन्।
अब अरू देशमा पनि लभीको व्यवस्थापनमा रेस्टुरेन्टहरू खोल्ने योजना रहेको सुदर्शनले बताए। नेपालमा उनले लभी गार्डेन, लभी रेसिडेन्स, लेकाली भोज थकाली र जिग्री सेकुवा चलाइरहेका छन्। यी सबैमा गरेर अहिले एक सय ८० जनाले रोजगारी पाएका छन्।
'हस्पिटालिटी क्षेत्रमा लभीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा चिनाउने सपना देखेको छु,' सुदर्शनले भने, 'यो पहिलो सफलता हो। यसमा सिंगो टिमको योगदान छ।'
सुदर्शन १४ वर्षयता हस्पिटालिटीमा रमेका र जमेका छन्।
उनी बाल्यकालदेखि नै होटलप्रति आकर्षित थिए। उनका एक जना आफन्त होटल चलाउँथे। उनी त्यहाँ गइरहन्थे। होटलले गर्ने सेवा र सत्कार उनलाई मनपर्थ्यो।
एसएलसी दिएर १७ वर्षअघि उनी काठमाडौं आए। होटल म्यानेजमेन्ट विषयमा स्नातक पूरा गरे। पढाइकै सिलसिलामा केही होटलमा काम गरे। पछि उनी पूर्ण रूपमा काममा लागे। रोजगारीका लागि सन् २०११ मा दुबई पुगे। त्यहाँ एक वर्ष काम गरेपछि कतार गए। कतार एयरवेजको कफी सपमा अवसर पाए।
काम गर्दै पढ्ने तयारी गरे। मास्टर्स इन इन्टरनेसनल हस्पिटालिटी विषय पढ्न पाँच वर्षका लागि अस्ट्रेलिया गए। काम गर्दै पढ्ने क्रममा त्यहाँको र्याडिसन ब्लु होटलमा म्यानेजर तहसम्म पुगे।
काम र कमाइ दुवै राम्रो थियो। उतै बस्ने विचारले पिआर (स्थायी बसोवास अनुमति) पाउन आवेदन गरे। तर एकाएक उनको विचार बदलियो। केही लगानीका साथ मेहनत गरेँ भने विदेशी भूमिमा भन्दा राम्रो स्वदेशमै हुन्छ, स्वदेशमै इज्जत हुन्छ भन्ने सोचे।
त्यही सोचले उनी पिआरको आवेदन फिर्ता लिएर सन् २०१९ नोभेम्बरमा नेपाल फर्के। कोरोना चलेकै समयमा लभी गार्डेन सुरू गरे। चार रोपनी क्षेत्रफल भएको होटल परिसरमा प्राकृतिक बगैंचा बनाए। आवासको सुविधा थपे।
लभी गार्डेन स्वदेशी र विदेशी पाहुनाले निकै रूचाएको उनी बताउँछन्।
त्यस्तै उनले चलाएको लेकाली भोज थकालीमा नेपाली खानाका अनेक परिकार पाइन्छन्।
यही वर्षबाट काठमाडौं उपत्यकामा उनले जिग्री सेकुवा चलाएका छन्। अहिले काठमाडौं उपत्यकाभरि जिग्री सेकुवाका ८ वटा शाखा विस्तार भइसके।
रेस्टुरेन्ट चलाउनु छ भने मुख्य रूपमा सात कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन् — स्वादिलो खाना, चुस्त व्यवस्थापन, निष्ठावान कर्मचारी, आत्मीय सेवा, सफा वातावरण, उचित मूल्य र पार्किङ सुविधा।
हस्पिटालिटी क्षेत्रमा विदेशबाट फर्केकाहरूलाई सहयोग गर्ने चाहना छ उनको। त्यसैले आफ्ना रेस्टुरेन्टलाई लोकप्रिय ब्रान्ड बनाउन उनी कम्मर कसेर लागेका छन्।
'अबको योजना भनेको नेपाली परिकार र आतिथ्यतालाई विश्व बजारमा पुर्याउने हो। यसका लागि अन्य देशका बजार हेरिरहेका छौं,' सुदर्शनले भने।