सौराहाको पाँचतारे रिसोर्ट 'रोयल टुलिप' आगामी अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भएको छ।
केटिएम हस्पिटालिटीले बनाइरहेको यो रिसोर्ट सन् २०२० बाट बन्न थालेको हो। कम्पनीका अध्यक्ष रामेश्वर शाहले रिसोर्ट जनवरीबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए।
'विभिन्न कारणले काममा ढिलाइ भयो। अब अन्तिम चरणको काम भइरहेको छ,' उनले भने।
उनका अनुसार एक अर्ब पचास करोड रूपैयाँ लगानीमा बनेको रोयल टुलिप सौराहाकै पहिलो पाँचतारे लक्जरी रिसोर्ट हो। यो सञ्चालनमा आएपछि सौराहासँगै मुलुककै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ।
रिसोर्ट सञ्चालनका लागि शाहले दुई वर्षअघि युरोपको चर्चित ब्रान्ड 'लुभ्र होटल्स' सँग सम्झौता गरिसकेका छन्। यो ब्रान्ड रोयल टुलिपको व्यवस्थापन सम्हाल्न पहिलो पटक नेपाल भित्रिएको हो। लुभ्रले होटल व्यवस्थापन सम्हालेसँगै त्यही अनुसारको सेवासुविधा रिसोर्टमा राखिएको पनि उनले बताए।
'हाम्रा लक्षित ग्राहक आन्तरिक र बाह्य दुवै पर्यटक हुन्। नेपालीहरूको खर्च गर्ने क्षमता बढेको छ। उनीहरू विदेश समेत घुम्न गइरहेका छन्,' उनले भने, 'आन्तरिक पर्यटकले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउँछन् भने विदेशीले डलर भित्र्याउन मद्दत पुर्याउँछन्।'
रोयल टुलिप शाहको 'ड्रिम प्रजेक्ट' हो। यसका लागि उनले लामो समय अध्ययन गरेका छन्। विशेषगरी सौराहा पुग्ने पर्यटकका लागि वन्यजीवन पर्यटन (वाइल्ड-लाइफ टुरिजम) को अनुभूति दिलाउने गरी रिसोर्ट तयार गरेको उनी बताउँछन्।
'यो रिसोर्ट सौराहाको आवश्यकता पनि हो। पछिल्लो समय वाइल्ड लाइफको आनन्द लिन चाहने गुणस्तरीय पर्यटकका लागि यस्ता पूर्वाधार सहितका रिसोर्ट अभाव छ,' उनले थप भने, 'यही मध्यनजर गरेर रोयल टुलिप आएको हो।'
रिसोर्टमा कुल ६५ वटा कोठा छन्। यीमध्ये तीन वटा वाटर भिल्ला, एउटा मचान, एक्जुकेटिभ स्विट चार वटा, डिलक्स २७ वटा, सुपर डिलक्स ८ वटा र १८ वटा स्यान्डर्ड कोठा छन्। हरेक भिल्लामा फरक सेवासुविधा छन्।
एक्जुकेटिभ भिल्लामा निजी स्वीमिङ पुल छन्। वाटर भिल्ला पानी माथि बनाइएको छ। यसमा बस्नेहरूले भिल्ला वरिपरि नै बोटिङ, फिसिङ (माछा मार्ने) र हात्तीलाई पानीभित्रै लगेर पानी छ्याप्ने लगायत गतिविधि गर्न सक्नेछन्।
रिसोर्टमा तीन तलाको मचान घर छ। यो घरमा हात्ती चढ्न पाइन्छ।
'पहिले पहिले जंगलमा मचान हुन्थ्यो,' शाहले भने, 'पर्यटक आकर्षित गर्न हामीले रिसोर्टमा बनाएका हौं।'
यहाँ चारवटा रेस्टुरेन्ट छन्; अल द डे डाइनिङ, ग्रिल बार र तनावी बार, बनफायर। रिसोर्टको प्रांगणमै हुने बनफायरमा ३० जनासम्म वरिपरि बसेर खाना खान मिल्छ।
त्यस्तै यहाँ तीनवटा स्वीमिङ पुल छन्; पाँच वर्ष र दस वर्षमुनिका लागि एक/एक वटा र अर्को दस वर्षमाथिका लागि।
बुटिक शैलीमा बनेको यो रिसोर्टमा ठूला सभा हल, पाँच सय जना मानिस अटाउने क्षमताको बैंक्वेट हल, सेमिनार हल, स्पा सहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थिएटर, टेनिस कोर्ट, पदयात्रा मार्ग लगायत सेवासुविधा छन्।
रिसोर्टभित्र प्लास्टिक बोतल प्रयोग निषेध छ। वातावरणमैत्री बनाउन हरियाली बनाइएको छ।
'पहिले राष्ट्रिय निकुञ्जभित्रै राम्रा रिसोर्ट थिए। वन्यजीवनको आनन्द लिने पर्यटकले खर्च अनुसारको सुविधा पाएका थिए,' शाहले भने, 'ती रिसोर्ट बन्द भएपछि पर्यटकले पनि गन्तव्य फेरे। त्यसैले ठाउँअनुसार पर्यटक तान्न पूर्वाधार चाहिने रहेछ।'
उनका अनुसार यो रिसोर्ट सञ्चालनमा आएपछि एक सय २० जनाभन्दा बढिले रोजगारी पाउनेछन्। त्यस्तै रोयल टुलिपमा बस्न कति खर्च लाग्छ भन्ने चाहिँ व्यवस्थापकले निधो गर्नेछ।
यसरी रिसोर्ट चलाउन लागेका शाह 'आउटसोर्सिङ' कम्पनी सञ्चालकका रूपमा चिनिन्छन्। आउटसोर्सिङ एसोसिएसन (नेपाल श्रम आपूर्तिकर्ता संघ) का अध्यक्ष समेत रहेका शाह यसअघि एनआरएन (गैरआवसीय नेपाली संघ) का उपाध्यक्ष र कोषाध्यक्ष थिए।
करिब दुई दशक समय आउटसोर्सिङमै बिताएका शाह कामका सिलसिलामा थुप्रै मुलुक पुगे। विदेश पुग्दा होटल/रिसोर्टको बसाइमा रमाउँथे। नेपाल आउँदा र काठमाडौं बसाइ उनी सौराहा गइरहन्थे।
'सौराहा मेरा लागि रिफ्रेसमेन्ट गन्तव्य भइसकेको थियो। हरेक पटक जाँदा सौराहालाई फरक पाउँथेँ,' उनले भने।
यही क्रममा उनले सौराहामै सानो फार्म-हाउस चलाउने योजना बनाएका थिए। उनले त्यहाँ १० कट्ठा जमिन किने। सन् २०२० तिर फार्म-हाउसको अवधारणाबारे डिजाइनरसँग कुरा गरे। करिब २२ करोड रूपैयाँ लगानी गर्ने योजना थियो। उनले २६ वटा कोठासहितको फार्म-हाउस बनाउने गरी काम सुरू गरे।
फार्म-हाउस शिलन्यास भएलगत्तै कोरोना महामारी फैलियो। सोचेअनुसार काम अघि बढेन। यही बेला शाहको सोच फार्म-हाउसबाट रिसोर्टतिर मोडियो।
'यहाँ लक्जरी रिसोर्ट बनाउन सके वाइल्ड लाइफ रूचाउने गुणस्तरीय पर्यटक तान्न सकिन्छ भन्ने निष्कर्षमा पुगेँ,' उनले भने।
शाहले थप जग्गा किनेर कुल साढे २ बिघा बनाए र रिसोर्ट बनाउन थाले। व्यवस्थापनका लागि उनले युरोपकै दोस्रो ठूलो होटल ब्रान्ड लुभ्र होटल्ससँग सन् २०२२ जुलाइमा सम्झौता गरेका हुन्।
'रिसोर्टको ९८ प्रतिशत काम सकिइसक्यो,' शाहले भने, 'सञ्चालनपछि आइपिओ (प्राथमिक सेयर) जारी गर्ने पनि तयारी छ।'