राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ।
मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको थियो।
उक्त जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो। उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। विमानस्थलभित्र प्रवेश गर्न कसैलाई दिइएको छैन।
विमानस्थल, जिल्ला प्रहरी कार्यालय, अदालत र सरकारी वकिलको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। लामिछानेलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालयमा लगेर खाना खाएपछि मात्र सरकारी वकिलको कार्यालयमा लगिने प्रहरीले जनाएको छ।
यसअघि पूर्वडिआइजी छविलाल जोशीलाई पनि बुटवल पुर्याएर बयान लिइएको थियो।