गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन्।
हाल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति भइरहेको छ। यसका लागि अहिले यो विमानस्थल दैनिक १० घन्टा बन्द छ। विमानस्थल पूर्ण रूपमा खुल्न करिब पाँच महिना लाग्ने भएपछि अन्तर्राष्ट्रिय वायुसेवाहरूले काठमाडौंको विकल्पमा भैरहवालाई विभिन्न गन्तव्यमा जोडेका छन्।
यससँगै करिब साढे दुई वर्षदेखि सञ्चालनमा रहे पनि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थलमा वायुसेवा तथा यात्रुको चहलपहल बढेको छ। यो विमानस्थलमा गत शनिबार एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान भए। जजिरा एयरवेजले करिब एक वर्षपछि फेरि नियमित उडान थाल्यो।
जजिराले पुरानै तालिकाअनुसार सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका लागि उडान गरिरहेको छ।
त्यस्तै शनिबार फ्लाई दुबईले भैरहवामा पहिलो उडान गर्यो। अब यो एयरलाइन्सले पनि दैनिक दुबई-भैरहवा-काठमाडौं एउटा उडान गर्ने तालिका छ।
शनिबार नै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि दुबईबाट भैरहवामा उडान गर्यो। यो गन्तव्यका लागि निगमको पनि पहिलो उडान हो। यसअघि निगमले मलेसिया क्वालालाम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गर्थ्यो। केही महिनाअघि निगमले जहाज अभावका कारण केही समयका लागि भन्दै यो गन्तव्यको उडान रोकेको थियो।
निगमले शनिबार भने दुबईबाट भैरहवा हुँदै काठमाडौंका लागि उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ।
यससँगै गत शनिबार दुबई-भैरहवाका लागि दुई वायुसेवाले उडान गरे।
अब नेपाल एयरलाइन्सले दुबई-भैरहवा-काठमाडौं आइतबार, सोमबार र बुधबार गरी सातामा तीन वटा उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए। उनका अनुसार शनिबार उडान गरेका तीन वायुसेवामध्ये जजिरा एयरवेजमा आउने र जाने यात्रुको संख्या बढी थियो।
'जजिराले विगतमा लामो समय उडान गरेकाले पुन: उडान थाल्दा यात्रु आवतजावतमा राम्रो अकुपेन्सी देखियो,' उनले सेतोपाटीसँग भने, 'अरू एयरलाइन्सका लागि नयाँ गन्तव्य भएकाले विस्तारै यात्रु बढ्ने अपेक्षा छ।'
यससँगै यो विमानस्थलमा मंगलबार (भोलि) देखि कतार एयरवेजले पनि उडान गर्दैछ। कतारले दोहा-भैरहवा-काठमाडौं दैनिक एक उडान गर्न लागेको उनले बताए। हाल यो वायुसेवाले दोहाबाट काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ।
यही विमानस्थलमा कात्तिक १८ देखि थाई एयर एसियाले पनि बैंकक-भैरहवा-काठमाडौं उडान गरिरहेको छ।
थाईको सोमबार र बिहीबार गरी सातामा दुई उडान तालिका छ। थाईले बैंकक र भैरहवालाई जोड्न विभिन्न प्याकेज समेत बनाएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बैंककलाई सिधा उडानमार्फत् दुईतर्फी पर्यटक तान्न थाईले आकर्षक प्याकेज बनाएको हो।
यसरी हालसम्म चार वटा वायुसेवाले भैरहवाबाट उडान गरिरहेका छन्। मंगलबार कतार एयरवेजले उडान थालेपछि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या पाँच पुग्नेछ।
साथै आगामी दिनमा उडान गर्नका लागि अन्य वायुसेवा पनि पाइपलाइनमा रहेका छन्। हाल एयर अरेबियासँग पनि भैरहवामा उडानका लागि छलफल भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसरी अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वका ठूला एयरलाइन्सले नियमित उडान थाल्नु भनेको नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टलाई विश्व एरोनटिकल कम्युनिटीले 'रिकोग्नाइज' गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।
'अन्तर्राष्ट्रिय गेटवेका रूपमा विश्वका ठूला वायुसेवाले उडान थाल्नु भनेको अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि छ है भन्ने सन्देश पनि हो,' उनले भने, 'यो सेड्युल उडानमात्र नभई अब विमानस्थलसँगै वरपर क्षेत्र पनि आर्थिक रूपमा चलायामान हुन्छन्।'
उनका अनुसार वायुसेवा र यात्रुसँग विकल्प र प्रतिस्पर्धा भएपछि अब हवाई भाडादर पनि घट्नेछ।
यो विमानस्थल २०७९ साल जेठबाट सञ्चालनमा आएको हो। सञ्चालनमा आएलगत्तै कुवेतको जजिरा एयरवेजले उडान थालेको थियो। जजिरासँगै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि केही समय उडान गरे।
तर विभिन्न समस्याका कारण दुबै वायुसेवाले उडान रोके। जजिराले पनि उडान रोक्यो। यो विमानस्थल विगत केही महिनायता अन्तर्राष्ट्रिय उडानविहीन नै बन्न पुग्यो।
अहिले अन्तर्राष्ट्रिय वायुसेवाहरू धमाधम आइरहँदा कतै यी उडान पनि सीमित समयका लागि त होइनन् भन्ने प्रश्न पनि उब्जन्छ। तर अब भने अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने र आवश्यक पूर्वाधार र सेवा तयार भइसकेकाले पुरानो समस्या नहुने गौतबुद्ध विमानस्थलका सूचना अधिकारी रावतले बताए।
'नयाँ विमानस्थल भएकाले सञ्चालन हुनासाथ अन्तर्राष्ट्रिय उडान भइहाल्छ भन्ने हुँदैन। ढिलै भए पनि अहिले वायुसेवाहरू आइरहेका छन् चासो दिइरहेका छन् यो नै ठूलो कुरा हो,' रावतले सेतोपाटीलाई भने, 'अझै नियमित उडान गर्ने वायुसेवाहरू थपिने क्रममा छन्।'
उनका अनुसार अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको छ। एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता छ।
'दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ,' रावतले भने, 'अध्यागमन लगायत अन्य जनशक्ति अहिले पूरा छ। आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ।'