हवाई भाडा महँगो भएको विरोधमा सत्तारूढ नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई लगायतले प्रदर्शन गरेका छन्।
आइतबार काठमाडौंको माइतीघर मण्डलमा सांसद बजगाई लगायतले हवाई भाडामा भएको महँगी नियन्त्रणको मागसहित प्रदर्शन गरेका हुन्।
उनले नेपालको उड्डयन र पर्यटन क्षेत्र अस्तव्यस्त रहेको पनि बताएका छन्।
कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन्।
नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेको पनि बजगाईले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नती गर्न दैनिक १० घन्टा बन्द गर्दा उडानको चाप छ। सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी नगर्दा पनि समस्याहरू देखिएको बजगाईले बताए।
हवाई भाडा महँगो हुन थालेको गुनासा आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई यात्रु मारमा नपर्ने गरी टिकट उपलब्ध गराउन पनि निर्देशन गरिसकेको छ।