हवाई भाडा नियन्त्रणका लागि नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच पाँच बुँदे सहमति भएको छ।
दैनिक १० घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढ्न थालेपछि शनिबार नागरिक उड्यन प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा बसेको थियो।
बैठकबाट एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाईपछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए)खारेज गर्ने निर्णय भएको छ। अब सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको पालना गर्नुपर्नेछ।
त्यस्तै सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्राबधानको पालना गर्नुपर्नेछ।
सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्नेछ।
ट्राभल एजेन्सीहरूसँग टिकट विक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ।
तोकिएबमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ। वायुसेवा संचालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने सहमतिमा उल्लेख छ।
त्यस्तै एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।
बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरु सहभागी थिए।