संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अन्तराष्ट्रिय विमान कम्पनीको हवाई भाडामामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाएका छन्।
भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिका बारेमा छलफल गरेका हुन्।
सोही अवसरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नु पर्ने कुरामा जोड दिएका थिए।
छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रूपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल एजेन्सीको हात रहेको बताए।
'श्रमिकलाई सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ,' उनले भने, 'यस विषयमा सरकारले कडा कदम चाल्न जरूरी छ।'
छलफलका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको बताइन्।
उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने उल्लेख गर्दै तत्काल यात्रुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने जानकारी दिइन्।
त्यसैगरी श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले यस अघि भारतको नयाँ दिल्लीबाट नेपालीहरू श्रमगन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासो पछि रोक लगाएको बताइन्।
मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे।
'हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटकहरू समेत मर्कामा परेका छन्,' उनले भने, 'सिन्डिकेट र कार्टेलिन भएको भए त्यसलाई रोक्नुपर्छ। वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ।'
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले दसैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गरे।
साथै हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा मूल्य वृद्धि भएको बताए।
'धावनमार्गको विस्तारको सूचना बाहिरिएसँगै एयरलाइन्स कम्पनीहरूले उडान कटौती गर्ने योजना बनाइसक्नु भएको थियो,' उनले भने, 'पोखरा र भैरहवा अन्तराष्ट्र्रिय विमानस्थलमा फ्लाइट डाइभर्ड गर्न थालिएको हाल तीन/चारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन्।'
मन्त्री पाण्डेले सरकारसँग पर्याप्त विमान नहुँदा समेत समस्या देखिएको बताए।