पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड सहित व्यवसायीहरू लन्डन पुगेका छन्। लन्डनमा सुरू भएको डब्लुटीएम २०२४ का लागि बोर्डका प्रतिनिधिसहित व्यवसायीहरू पनि पुगेका हुन्।
साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट ‘डब्लुटीएम’ मा सहभागिता जनाएको हो।
२०२४ मंगलबार (कात्तिक २०) देखि सुरू भएको हो वल्ड ट्राभल मार्केट २२ गतेसम्म चल्नेछ। जसमा एक सय ८४ देशबाट ४३, हजार सहभागी तीन हजार आठ सय ७५ प्रदर्शक र ८२ वटा सम्मेलन सत्रहरू रहेका छन्।
नेपाल पर्यटन बोर्डले गौरवपूर्वक ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिइरहेको छ। हालै लोनली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ।
यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदालाई प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर मिल्नेछ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले वर्ल्ड ट्राभल मार्केटमा सहभागिताले नेपाललाई यो उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने बताए।
‘यसले नयाँ व्यवसायिक अवसर विकास गर्दै, हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य, र पर्यावरणमैत्री पर्यटनमा रूची राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्दछ,’ उनले भने।
नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेकोमा लोनली प्लानेटलाई धन्यवाद समेत दिए।
वल्ड ट्रभाल मार्केटमा नेपालले देशका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई समेटेको छ।
यसले आगन्तुकहरूलाई नेपाली सम्पदाका विशिष्ट तत्वसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिनेछ बोर्डको अपेक्षा छ।