पछिल्लो समय मुलुकभर साहसिक खेलका गतिविधिहरू बढेका छन्। एक डाँडाबाट अर्को डाँडामा पुगिने जिपलाइन होस्, खोलामाथिबाट हामफाल्ने बन्जी, साहसिक खेल धेरैको रोजाइमा परेको छ।
तपाईंहरूलाई पनि साहसिक खेलमा रमाउने मन छ तर कहाँ कस्ता गतिविधि छन्, कति पैसा लाग्छ भन्ने कुनै जानकारी नहुन सक्छ।
त्यसैले हामीले सम्बन्धित व्यवसायीहरूसँग कुराकानी गरेर हामीले यहाँ छोटकरीमा जानकारी दिएका छौं।
सबभन्दा पहिले त हाल चल्तीका साहसिक खेल के के हुन् भन्ने बुझौं — बन्जी जम्प, स्विङ, स्काइ-साइक्लिङ, स्काइ-ग्लाइडिङ, स्काइ क्याफे, जपलाइन, पाराग्लाइडिङ, हट एयर बेलुन।
यी खेलहरू कुश्मा, पोखरा, भोटेकोशी, धुलिखेल, नगरकोट, लगायत ठाउँमा छन्।
२०५६ सालमा सिन्धुपाल्चोकमा द लास्ट रिसोर्ट एड्भेन्चर्स प्रालिले पहिलो पटक बन्जी जम्प सञ्चालन गरेको थियो। त्यसपछि पोखरामा हाइग्राउन्ड एड्भेन्चर्सले २०६६ सालमा जिपलाइन भित्र्याएको थियो।
काठमाडौं उपत्यकाबाट नजिकै बन्जी जम्पमा जाने हो भने भोटेकोशीको द लास्ट रिसोर्ट जान सकिन्छ। एक दिनमै बन्जी गरेर फर्किन सकिने भएकाले पनि यो ठाउँ धेरैको रोजाइमा पर्छ। द लास्ट रिसोर्टमा एक सय ६० मिटर उचाइबाट बन्जी जम्पसँगै ट्यान्डम स्विङ (दुई जना), क्यानोइङ लगायत साहसिक खेलको मजा लिन सकिन्छ।
यहाँ बन्जी जम्प गर्न एक जनाको नौ हजार रूपैयाँ पर्छ। यो रकममा बिहानको खाना र आउजाउका लागि यातायात समावेश हुन्छ। बन्जी जम्प गर्दाको फोटो र भिडिओ लिने हो भने थप दुई हजार रूपैयाँ तिर्नुपर्छ।
आफ्नै सवारी साधनमा गएर बन्जी जम्प मात्र गर्ने हो भने सात हजार पाँच सय रूपैयाँ लाग्छ। स्विङको शुल्क पनि यति नै हो। ट्यान्डम स्विङका लागि भने १३ हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ।
जिपलाइनको मजा लिन भने धुलिखेल र नगरकोट उपयुक्त हुन्छ।
वर्ल्डवाइड एड्भेन्चर्स प्रालिले २०७५ सालमा काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालनमा ल्याएको जिपलाइन पर्यटकको केन्द्र नै बनेको छ। यहाँ धुलिखेल-८ थाक्लेडाँडादेखि पाँचखाल नगरपालिका-५ खावासम्म, ११ सय मिटर लामो जिपलाइन छ।
धुलिखेलतिरको भागमा टेकअफ प्वाइन्ट (चढ्ने) र पाँचखालतिरको भागमा ल्यान्डिङ प्वाइन्ट (ओर्लिने) रहेको यो जिपलाइनमा शनिबार धेरै भिड हुन्छ।
'डोरीमा झुन्डिएर वारिपारि हावामा उड्न पाइने जिपलाइनमा पर्यटकको आकर्षण छ। स्वदेशी पर्यटकले धानेको छ,' धुलिखेल जिपलाइनका सञ्चालक केदार थापाले भने।
यहाँ सुपरम्यान, क्लासिक र कपल गरी तीन खाले जिपलाइन छन्। यसका विशेषता पनि फरक फरक छन्।
सुपरम्यान (घोप्टो सुते जसरी खेल्ने) का लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ। त्यस्तै क्लासिक (उभिएर) का लागि दुई हजार पाँच सय रूपैयाँ पर्छ। कपल (जोडी) का लागि भने चार हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ।
नगरकोटमा पनि वर्ल्डवाइड एड्भेन्चर्सले नै जिपलाइन चलाइरहेको छ।
काठमाडौं उपत्यकाभन्दा अलि परै जाने हो भने साहसिक खेलका लागि पोखरा र कुश्मा जान सकिन्छ।
कुनै समय पाराग्लाइडिङ मात्र रहेको पोखरामा अहिले सबै खाले साहसिक खेलहरू सञ्चालनमा छन्। बन्जी जम्प, जिपलाइन, पाराग्लाइडिङ बाहेक यहाँ हट एयर बलुन पनि छ।
हाइग्राउन्ड नेपालमा जिपलाइन गर्न एक जनाको ६ हजार ८५० रूपैयाँ पर्छ। त्यस्तै बन्जी जम्पको ६ हजार पाँच सय रूपैयाँ लाग्छ। यो रकममा फोटो र भिडिओ पनि पाइन्छ। पोखरामै गो बन्जी कम्पनीले सञ्चालन गरिरहेको बन्जी जम्पका लागि पनि ६ हजार पाँच सय रूपैयाँ पर्छ।
त्यस्तै करिब ९ हजार फिटमाथिसम्म हट एयर बेलुनमा उड्न सकिन्छ। बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगाबाट उड्ने पाराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर हेरेर मजा लिन सकिन्छ।
बेलुनमा उड्न नेपाली नागरिकले एक जनाको ११ हजार रूपैयाँ तिर्नुपर्छ। यो पैसामा उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुइतर्फी यातायात सुविधा, फोटो, भिडिओ र प्रमाणपत्र पनि पाइन्छ।
पाराग्लाइडिङको भने १५ देखि २० मिनेट उडेको ८ हजार पाँच सय रूपैयाँ लाग्छ। चार हजार रूपैयाँ थपेर, १२ हजार पाँच सय रूपैयाँमा ४० देखि ५० मिनेटसम्म उड्न सकिन्छ।
अरू साहसिक खेलहरू स्काइ-साइक्लिङ, स्काइ-ग्लाइडिङ, स्काइ-क्याफेको मजा लिने हो भने पर्वतको कुस्मा जान सकिन्छ।
द क्लिफले कुश्मामा सबैखाले साहसिक खेलहरू सञ्चालन गरिरहेको छ। यहाँ अहिलेसम्मकै सबभन्दा अग्लो उचाइ, २२८ मिटरबाट बन्जी जम्प वा स्विङ गर्न सकिन्छ। बन्जीका लागि सात हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ। स्विङको शुल्क पनि यत्ति नै हो।
ट्यान्डम स्विङका लागि १३ हजार, स्काइ-साइक्लिङका लागि ३ हजार र स्काइ-क्याफेका लागि दुई हजार पाँच सय रूपैयाँ लाग्छ। रात बस्न यहाँ रिसोर्ट पनि छ।