पोखराको लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न दुइटा गठबन्धन चुनावमा होमिएको छ।
शनिबार हुने १५ औं अधिवेशनमा कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारहरूको प्यानल बनाएका छन् भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर अर्को गठबन्धनले पनि प्यानल खडा गरेको छ। दुई वटै प्यानल चुनावमा विजयी हुने दाबी गर्दै मतदाता व्यवसायीसँग मत मागिरहेका छन्।
संघीय सरकार र प्रदेश सरकारमा गठबन्धन गरेका सत्ता साझेदार कांग्रेस र एमाले लेखनाथ उद्योग वाणिज्य संघमा आमने–सामने भएका हुन्। यी दुबै ठूला दलले प्रतिपक्षमा रहेका माओवादी र रास्वपालाई साथमा लिएका छन्।
कांग्रेस नेतृत्वको गठबन्धनबाट अध्यक्षका उम्मेदवार जानुका पराजुली अधिकारी छन्।
संघको महासचिव रहेकी जानुकाको प्यानलको वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बाँस्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी छन्।
लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक अध्यक्षमा महिला उम्मेदवार बनेकी जानुकाको प्यानलबाट वरिष्ठ उपाध्यक्ष उम्मेदवार गोपीचन्द्र बाँस्तोला र सदस्यका उम्मेदवार भविन्द पुन माओवादीका तर्फबाट उम्मेदवार बनेका हुन्।
एमाले नेतृत्वको गठबन्धनबाट अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुंगाना र कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन्।
राजेन्द्रको प्यानलमा उपमहासचिवका उम्मेदवार लक्ष्मीप्रसाद ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन्।
यो प्यानलमा एसोसिएट सदस्य उम्मेदवार बनेका प्रवेश बञ्जारा र खुला सदस्य उम्मेदवार सन्तोष हमाल कांग्रेस निकट हुन्। हमाल दुई पटक कांग्रेसबाट पोखराको वडा सदस्यमा उम्मेदवार बने पनि पराजित भएका थिए।
लेखनाथ उद्योग वाणिज्य संघमा २ हजार १९ जना साधारण सदस्य छन्।
शुक्रबार अधिवेशनको उद्घाटन सत्र र शनिबार बिहानदेखि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
दुवै प्यानलले व्यावसायिक हकहित र आर्थिक चलायमान बनाउने, लेखनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउने लगायतका एजेण्डा अघि सारेका छन्।
अध्यक्षका उम्मेदवार जानुका संघको कोषाध्यक्ष, उपमहासचिव, हुँदै महासचिव बनेकी थिइन् भने ओझा पनि कोषाध्यक्ष, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका थिए। मत माग्न व्यवसायीको घरदैला अभियान चलाएका दुवै प्यानलले आफू निर्वाचित हुने दाबी गरिरहेका छन्।