नेकपा एमालेको जारी ११औं महाधिवेशनमा भइरहेका अनेकथरी चर्चामध्ये पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले सक्रिय राजनीति नगर्ने घोषणा पनि एक हो।
शिक्षामन्त्री हुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने सामग्री बनाउन असगर अलीको कम्पनीलाई दिने भनिएको प्रस्ताव अस्वीकार गरेपछि उनीसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट भएका थिए।
निजी विद्यालय व्यवस्थित गर्ने, नि:शुल्क शिक्षा लागू गर्ने, शिक्षक तथा कर्मचारी युनियन व्यवस्थित गर्ने लगायत विषयमा ओलीसँग उनको मतभेद बढेको& थियो। अर्कातिर शिक्षा विधेयक सुधारका पक्षमा काम गर्न खोजेकी भनेर उनको सार्वजनिक तारिफ पनि भएको थियो।
तर ओली असन्तुष्ट भएपछि उनी राजीनामा दिन बाध्य भएकी थिइन्।
सरकार, संसद र पार्टीमा रहँदा आफूले नीतिगत सुधार, सैद्धान्तिक प्रस्टता र सर्वसाधारणको हितमा वकालत गरेको बताउने भट्टराईलाई अहिले पार्टीका कुनै पनि पदमा प्रतिस्पर्धी नदेखेपछि एमाले कार्यकर्ता र शुभेच्छुकहरूले एउटै प्रश्न सोधिरहेका छन् — तपाईंले किन राजनीति छोड्ने?
बुधबार सेतोपाटीले भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा भेटेर भट्टराईलाई सोध्यो — तपाईंले सक्रिय राजनीति छोड्ने भनिरहनुभएको छ। किन यस्तो निर्णयमा पुग्नुभयो?
उनले राजनीति भनेको निश्चित समय आउने, योगदान गर्ने र त्यसपछि निस्कनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।
'म हिजो विद्यार्थी आन्दोलनमा थिएँ। २४ वर्षकै उमेरमा विद्यार्थी संगठन छोडेँ। त्यसपछि प्राध्यापन, अनुसन्धानमा संलग्न भएँ। त्यसले मलाई एक खालको अनुभव दियो। त्यसपछि आफ्नो इच्छाभन्दा पार्टीको आवश्यकताले र मेरो हिजोको चेतले पनि ठिकै छ त भन्ने लागेर म राजनीतिमा आएँ,' उनले भनिन्।
उनले सक्रिय राजनीतिमा ६ वर्ष बिताइन्, दुई पटक सांसद भइन्। सांसद हुँदा विभिन्न कानुन सुधारका पक्षमा मत राखिन्। समय सुहाउँदा कानुन बनाउनुपर्ने अडान लिँदा आफूले पार्टीकै नेतृत्वसँग पटक पटक आमनेसामने भएको अनुभव उनी सुनाउँछिन्।
अहिले भने आफू पार्टीभित्र मात्र 'वाच डग' भएर पुग्दैन, बाहिर पनि चाहिने रहेछ भन्ने निष्कर्षमा पुगेको उनले बताइन्।
'पार्टी बाहिर रहेर वाचडग बन्दा भित्रको रूपान्तरणलाई अझ सहयोग पुग्छ। मलाई आफू त्यस्तो पात्रका रूपमा उभिँदा अझ उचित हुन्छ कि जस्तो लाग्यो। त्यसपछि म यो निर्णयमा पुगेकी हुँ,' भट्टराईले भनिन्।
उनलाई हामीले सोध्यौं — मुख्य पदहरूमा पुगेपछि यस्तो निष्कर्षमा पुग्नु एउटा कुरा, तर जम्मा ६ वर्षको राजनीतिमा एक–दुईवटा अवसर पाएँ भन्दैमा 'अब मलाई पुग्यो' भन्नु अलि अनौठो सुनिँदैन र?
जबाफमा उनले भनिन्, 'हामी आवधिक निर्वाचनको कुरा गर्छौं भने हाम्रा पदहरू पनि आवधिकै हुनुपर्छ। हामी निरन्तर पदमा बसिरहने कुराले जनअसन्तुष्टि पैदा भएको छ। म दुई पटक सांसद भएँ, एक पटक केन्द्रीय सदस्य पनि भएँ। अब नयाँ पुस्ता आओस्।'
पछिल्लो समय शीर्ष नेताहरू पद छाड्न नमानिरहेको भनेर आलोचित छन्। सँगसँगै, काम गर्न सक्ने बीचको पुस्ताले किन छाड्ने भन्ने प्रश्न पनि उठिरहेकै छ। भट्टराई भने बीचको पुस्ताले पनि आफू बाहिर बसेर योगदान गर्न सक्ने बताउँछिन्।
'शीर्ष नेताहरूले त अवकाशको जीवन बिताउने मात्र हो। हाम्रो त अवकाश भएको छैन नि। हामीसँग ऊर्जा र अनुभव छ,' उनले भनिन्।
संसारभरि नै जनताले भोट दिएसम्म सांसदका रूपमा काम गरिरहने अभ्यास छ। कम्तिमा पाँच–सातपटक चुनाव लडेपछि अरूलाई अवसर दिने भन्दै छाडेका उदाहरण पनि छन्। भट्टराईले भने जम्मा दुई पटक सांसद भएर किन राजनीति छाड्ने निधो गरिन्?
यो प्रश्नको जबाफमा उनी आफूले पहिलो पटक चुनाव उठ्दा नै दोस्रो पटक 'उठ्दिनँ' भनेको सम्झना गरिन्।
त्यसपछि हामीले सोध्यौं — शिक्षामन्त्री हुँदा प्रधानमन्त्रीले असहयोग गरेको र पार्टीभित्र समेत निरूत्साहित भएकाले हतास हुनुभएको हो?
'यो प्रश्न पनि उठ्यो होला। म विमतिहरूसँग जुझ्न नसक्ने मान्छे होइन। नेतृत्वसँग प्रतिस्पर्धा गरेर वा जुधेर पनि बस्न सकिन्छ। मन्त्रीबाहेक संसदभित्र कानुन बनाउने क्रममा नेतृत्वसँग मेरा धेरै विमति भएका छन्। समितिमा बोल्ने कुरामा मलाई रोक्न खोजियो, तर मैले 'यो मेरो हक हो, मलाई कास्की–२ का जनताले मत दिएका छन्, बोल्न पाउनुपर्छ' भनेर बोलेकी छु,' भट्टराईले भनिन्।
यति भन्दाभन्दै आफूलाई पार्टीभित्र निरूत्साहित गरिएको उनले स्वीकार गरिन्। त्यसले पनि यस्तो निर्णयमा पुग्न भूमिका खेल्यो होला भन्ने उनको भनाइ छ।
'व्यक्तिगत चाहना नहुँदा नहुँदै कास्कीबाट एमाले सांसद हुन एकल सिफारिसमा परेपछि उपप्राध्यापक पदबाट राजीनामा दिएर आएँ। पछि मेरै जिल्लाका नेताहरूले मलाई नराम्रा टिप्पणी गरेको सुन्दा असहज भयो,' उनले भनिन्, 'अध्यक्षले पनि मलाई 'पब्लिकसँग डराउँछ' भनेर टिप्पणी गर्नुहुने रहेछ। तर म पब्लिकको मान्छे हुँ नि त! उनीहरूसँग त डराउनैपर्छ। मलाई त्यो राम्रो कुरा हो भन्ने लाग्छ। तर उहाँको नजरमा त्यो कमजोरी भयो। आफ्ना काम-कारबाहीले पब्लिकको हित हुन्न कि भन्ने सोच्नु त मेरो शक्ति हो।'
भट्टराईलाई नजिकबाट चिन्नेहरू भने उनीसँग राजनीतिमा लागिरहने आर्थिक अवस्थासमेत नभएको बताउँछन्। यसबारे हामीले सोध्यौं — राजनीतिमा लागिरहन आर्थिक रूपले बलियो हुन जरूरी छ भनिन्छ, के तपाईंलाई त्यो कुराले पनि गाह्रो पारेको हो?
'हो। म कसैसँग आर्थिक सहयोग लिन सक्दिनँ। काम गरेर र आफैले कमाइ गरेर खानुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भनिन्, 'अहिले त हामीकहाँ चुनाव लड्न र त्यसपछि पनि राजनीतिक नेटवर्क चलाउन ठूलो खर्च चाहिन्छ। धेरैले पार्टीकै नाममा पैसा उठाएर व्यक्तिगत रूपमा चलाउँछन्। म त्यसो गर्न सक्दिनँ। अहिलेसम्म परिवारको मात्र सहयोग लिएकी छु, जसले मलाई नैतिकतामा बस्न सहयोग पुगेको छ।'
नैतिक र आर्थिक रूपमा पारदर्शिता चाहने आफूजस्ता व्यक्तिलाई पार्टीले प्रोत्साहन नगर्ने उनको टिप्पणी छ।
'पार्टीमा नेतृत्वले आफूले भनेका कुरामा विमति नजनाउने र शतप्रतिशत हस् भन्नेलाई मात्र खोज्छ,' उनले भनिन्, 'अहिले त पार्टीमा ज्ञानभन्दा शारीरिक बल र पैसा भएका मान्छेहरू मात्र चाहिन्छ भन्ने बुझाइ हाबी छ।'
एमालेको विधान महाधिवेशनमा सुधारका विषयमा कुरै नभएको र त्यो बेला नेतृत्वको रवैयाले पनि आफूलाई निराश बनाएको उनी बताउँछिन्।
'भदौ २२ गते विधान महाधिवेशनबाट फर्कँदै गर्दा नै 'हामी ठिक ट्र्याकमा छैनौं, अब म नेतृत्वमा बस्दिनँ' भनेर साथीहरूसँग डिक्लेअर (घोषणा) गरिसकेकी थिएँ,' उनले भनिन्।
हामीले उनलाई एमालेमा के र कसरी सुधार हुनुपर्छ भन्ने पनि सोध्यौं।
उनका अनुसार एमालेले सुधारका तीनवटा काम गर्नुपर्नेछ —
पहिलो, सांगठनिक प्रणाली न्यायपूर्ण हुनुपर्छ। कार्यकर्ताको मूल्यांकन र पद दिने प्रणाली प्रस्ट हुनुपर्छ।
दोस्रो, राजकीय जिम्मेवारीमा गएकाहरूलाई आजको राज्य संरचना र समावेशिताबारे प्रशिक्षित गर्नुपर्छ।
तेस्रो, जनताका मुद्दा कार्यकर्तामार्फत सिधै पार्टीमा आउने विधि हुनुपर्छ। अहिले कार्यकर्ता निराश छन्, उनीहरूले जनतालाई कसरी आशा देलान्?
'युवा पुस्तासँग पार्टी डिट्याच (अलग) भएको छ। उनीहरूका मुद्दा बुझ्ने दृष्टिकोण हामीसँग छैन। हामीले स्कुलमा संगठन बनायौं। अब भने संगठन बनाएर मात्र पुग्दैन, उनीहरूका मुद्दा सुन्नुपर्छ, डिजिटल प्लेटफर्ममार्फत संवाद गर्नुपर्छ,' उनले भनिन्।
एमालेले जनवादी केन्द्रीयताको सिद्धान्त बोके पनि अहिले जनवाद छाडेको भट्टराईको धारणा छ।
'हाम्रो पार्टीले जनवाद छाडेर केन्द्रीयताको अभ्यास गरिरहेको छ। एउटा व्यक्तिलाई भगवान मान्ने प्रवृत्ति छ। हामी त केही न केही योगदान गरौं भनेर आएका मान्छे हौं नि। तर केन्द्रीयता हाबी हुनेबित्तिकै व्यक्तिले स्वतन्त्र रूपमा योगदान गर्न सक्दैन। त्यस्तो हुँदा ऊसँग भएको गुणस्तर बिस्तारै कमजोर हुँदै जान्छ र ऊ गुणस्तरहीन बन्न पुग्छ। मलाई हतोत्साही बनाएको एउटा मुख्य कुरा यही हो,' उनले भनिन्।
उनले अगाडि थपिन्, 'अहिले महाधिवेशनमा पनि केन्द्रीय कमिटीमा लैजाने मान्छे कसरी छनोट गरियो? छनोटका मापदण्ड र आधार के हुन्? उम्मेदवार बन्न कम्तिमा पार्टीको जिम्मेवारीमा बसेको र भूमिका निर्वाह गरेको हुनुपर्ने हो, तर त्यसो भएको छैन। प्रतिनिधि छनोट साधारण सदस्यबाटै हुने भनिन्छ, तर त्यहाँ पनि 'सर्वसम्मत' का नाममा आफ्ना मान्छे ल्याइन्छ। यसले सबै कुरा विगारेको छ।'
'भविष्यमा फेरि सांसद वा सक्रिय राजनीतिमा आउनुहुन्छ कि?'
विद्या भट्टराईले जबाफ दिइन्, 'म यो आन्दोलनको बृहत्तर क्षेत्रमा त भइहाल्छु नि। घेराभित्र नभए पनि बाहिरबाट योगदान गरिरहनेछु।'
***