केही दिनदेखि सेयर बजारमा सुधार देखिइरहेको छ। विगत तीन दिनदेखि नेप्से परिसूचक लगातार बढिरहेको हो। यो अवधिमा नेप्सेले ३०.८१ अंक जोडेको छ।
नेप्से बढ्न थालेसँगै लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्न थालेका छन्। तर यही क्रममा लगानीकर्ताहरूले केही गल्ती पनि गरिरहेका छन्।
अहिले लगानीकर्ताले के–कस्ता गल्ती गरिरहेका छन् भन्नेबारे हामीले ब्रोकर र विश्लेषकलाई सोधेका छौं।
उनीहरूका अनुसार लगानीकर्ताको पहिलो गल्ती भनेकै आफै विश्लेषण नगर्नु हो।
कतिपय लगानीकर्ताहरू अहिलेको अवस्थामा सूचीकृत कुन समूहको भविष्य कस्तो छ भन्ने हेर्दैनन्।
'जता भीड गइरहेको छ, त्यही कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिने, आफैले अध्ययन नै नगर्ने प्रवृत्ति देखिन्छ,' विश्लेषक सुवासचन्द्र ढुंगानाले भने।
ढुंगानाका अनुसार अहिले कतिपय कम्पनी नोक्सानमा छन्। तिनीहरूको मूल्य पनि उच्च छ। तर पनि लगानीकर्ताहरू त्यस्तै कम्पनीको पछि लागिरहेका छन्।
त्यसैले कम्पनी नोक्सानमै भए पनि सुधार भइरहेको छ कि छैन, त्यस्तो कम्पनीले नाफा कमाएर प्रतिफल दिन कति समय लाग्न सक्छ भन्ने कुरा हेरेर मात्रै लगानी गर्नुपर्ने उनी बताउँछन्।
सेयर मूल्य नबढ्ने अवस्था देखियो भने समयमै लगानी झिक्नुपर्ने हुन्छ।
पछिल्लो समय बजारमा धेरै थरी सेयर विश्लेषकले सामाजिक सञ्जालमार्फत विभिन्न लगानी सुझाव दिइरहेका छन्।
धेरै लगानीकर्ता आफैले अध्ययन र विचार नगरी देखासिकीमा लगानी गरिरहेका छन्। यसले भविष्यमा लगानी डुब्ने जोखिम समेत बढाउने ढुंगानाको भनाइ छ।
केही लगानीकर्तालाई आफूले कुन सेयर (कुन कम्पनीको) किनिरहेको हो भन्ने समेत जानकारी नहुने अवस्था देखिन्छ।
कतिपय कम पुँजी भएका कम्पनीलाई ठूला लगानीकर्ता वा समूहले आपसमा म्याचिङ कारोबार गरेर चलाइरहेका हुन्छन्। यस्तो अवस्थामा लगानीकर्ता फस्ने सम्भावना पनि रहने ढुंगानाले बताए।
सेयर ब्रोकर भरत रानाभाट भने बजारमा गरिएको निर्णय कुन सही र कुन गलत भन्ने ठोकुवा गर्न नमिल्ने बताउँछन्।
'बजारमा अहिले किन्ने सही वा अहिले बेच्ने गलत भन्न मिल्दैन,' रानाभाटले भने, 'त्यसो भएको भए सबैले नेप्से ३२ सय हुँदा बेच्थे र अहिले तिर किन्थे।'
लगानीकर्ताले आफूले सेयर कति समयसम्म राख्न चाहेको हो, वा पहिल्यै भएको सेयरको मूल्य घटेकाले समायोजन गर्न खोजिएको हो, वा अहिले किनेर बजारको उतारचढावबाट कमाइ गर्ने उद्देश्य हो भन्ने कुरा स्पष्ट हुनुपर्ने उनी बताउँछन्।
यस्ता आधार फरक फरक हुने भएकाले यही समय ठिक वा बेठिक भन्न नसकिने रानाभाटको भनाइ छ।
तर दीर्घकालीन लगानीकर्ता हो भने कम्पनीको मूल्यको गतिविधि मात्र नभई वित्तीय अवस्था, नाफा–नोक्सानमा सुधार भइरहेको छ कि छैन, मूल्य धेरै न्यून वा धेरै माथि पुगिसकेको छ कि, अघिल्लो समय मूल्य कसरी चलेको थियो जस्ता पक्षमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।
अल्पकालीन लगानीकर्ता वा ट्रेडर्सले पनि आफ्नो कुल पोर्टफोलियो (लगानी आकार) को १० देखि २० प्रतिशत मात्रै उच्च उतारचढाव हुने सेयरमा लगानी गर्नुपर्ने उनीहरू बताउँछन्।
लगानी गर्दा ध्यान दिनुपर्ने आधार
कम्पनीको वित्तीय अवस्था
कम्पनी नाफा वा घाटामा छ कि छैन, सुधार भइरहेको छ कि छैन भन्ने हेर्नुपर्छ। प्रतिसेयर आम्दानी कति छ र एक रूपैयाँ कमाइका लागि लगानीकर्ताले कति गुणा तिरिरहेका छन् भन्ने बुझ्न मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) महत्त्वपूर्ण हुन्छ।
साथै प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा वित्तीय अवस्था कस्तो छ भन्ने पनि हेर्नुपर्छ।
मूल्यको उतारचढाव
कम्पनीको हालको मूल्यले लगानी निर्णयमा सहयोग पुर्याउँछ। मूल्य अत्यन्त न्यून छ भने अवसर हुन सक्छ। तर त्यसलाई वित्तीय विवरणले समर्थन गर्नुपर्छ।
मूल्य उच्च अवस्थामा छ भने पनि किन लगानी भइरहेको छ र किन बढिरहेको छ भन्ने कारण हेर्नुपर्छ।
लाभांशको समय, व्यवसाय विस्तार, नेतृत्व परिवर्तन जस्ता कारणले पनि मूल्यमा प्रभाव पर्न सक्छ।
समग्र अर्थतन्त्र र राजनीतिक अवस्था
कहिलेकाहीँ कम्पनी वा त्यससँग सम्बन्धित क्षेत्र राम्रो भइरहँदा पनि अन्य कारणले मूल्य प्रभावित हुन सक्छ।
अर्थतन्त्रमा देखिएको समस्या वा राजनीतिक गतिरोधले समेत समग्र बजारलाई प्रभाव पार्न सक्छ।
तर वित्तीय अवस्था र कम्पनी सम्बद्ध क्षेत्रमा अवस्था राम्रो छ भने ढिलो–चाँडो त्यस्ता कम्पनीको मूल्यमा सुधार आउने सम्भावना भने रहन्छ।