सोमबार र मंगलबार दुवै दिन सेयर बजारमा सुधार देखियो।
दुई दिनमा नेप्से परिसूचक २५.११ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ।
मंगलबार एकै दिन बजार १८.३७ अंकले बढेको छ। मंगलबार बजारमा कारोबारमा आएका व्यापारमूलक बाहेक सबै समूहगत परिसूचकमा सुधार आयो।
सबभन्दा सुधार विकास बैंक समूहमा देखियो। यो समूह १.५६ प्रतिशतले बढेर ५४२९ विन्दुमा पुगेको छ।
मंगलबार सबभन्दा धेरै रकमको कारोबार हुने दोस्रो स्थानमा समेत विकास बैंक समूहकै लुम्बिनी विकास बैंक रह्यो।
समग्र बजारमा तीन अर्ब २९ करोड ४२ लाख रूपैयाँको कारोबार हुँदा यस बैंकको मात्रै १० करोड ३० लाख रूपैयाँको कारोबार भयो। यो बैंकको कारोबार कुल कारोबार रकमको आधारमा ३.१२ प्रतिशत हो। बैंकको सेयर मूल्य ५.८१ प्रतिशतले बढेर ४७१.९० रूपैयाँ कायम भयो।
धेरै रकमको कारोबार हुने पहिलोमा ङादी ग्रुप पावर थियो।
लुम्बिनी बिकास बैंकमा आकर्षण देखिनुमा खास कारण नरहेको ब्रोकरहरू बताउँछन्। तर कम्पनीको सेयर मूल्य (४७१ रूपैयाँ) पाँच महिनायताकै न्यून मूल्य (४३३ रूपैयाँ) हाराहारी छ।
आजको दिनसम्म भने कम्पनीको सेयर मूल्य बियरिस प्रवृत्तिमै रहेको पाँच दिने र २० दिने स्मल मुभिङ एभरेज रेखाहरूले देखाइरहेका छन्।
अघिल्ला दिनमा डोजी आकृति बनाएको कम्पनीको सेयर मूल्यले मंगलबार लामो मैनबत्ती आकृति बनाएर बनाएको छ। यसले मूल्य बढ्न सक्ने संकेत गरिरहेको छ। तर चाँडै नै कम्पनीको सेयरले ४८२ रूपैयाँको विन्दुमा प्रतिरोध पाउन सक्ने रेखा चित्रले देखाउँछ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा कम्पनी ३४ करोड रूपैयाँ नोक्सानमा छ।
कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ७० करोड रूपैयाँ प्रावधानमा राखेकाले पनि नाफामा प्रभाव परेको हो। कुनै समय ऋण असुली हुँदै जाँदा यो रकम बैंकले फिर्ता ल्याउँछ र नाफामा सुधार हुन सक्छ।
कम्पनीको सञ्चित नोक्सान १७ करोड रूपैयाँ छ।
आर्थिक वर्षको सुरूमा २९ करोड रूपैयाँ सञ्चिति रहेकाले त्यसमा नोक्सान, उठ्न बाँकी ब्याज लगायत घटाउँदा सञ्चित नोक्सान १७ करोड मात्रै देखिएको हो। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको लाभांश वितरण क्षमता ८.१३ प्रतिशत देखिएको थियो।
कम्पनीले अहिले संस्थापक सेयर समेत सर्वसाधारणमा बिक्री गरेको छ। यसले गर्दा सेयर आपूर्तिमा थप चाप पर्नेछ र मूल्यमा दबाब पर्न सक्छ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर एक हजार एक सय १९ रूपैयाँ पुग्यो।
कम्पनीको सेयर तीन करोड ८४ लाख रूपैयाँको कारोबार भयो। यो मंगलबारको कुल कारोबार रकमको १.१६ प्रतिशत हो।
यो कम्पनीको मूल्य र कारोबार बढ्नुमा उल्लेख्य कारण केही नभएको बताउँछन्।
केही वर्षदेखि नै कम्पनी नोक्सानमा छ। २०८१ साउनमा मात्रै कम्पनीलाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ।
यही कारण केही समयअघि मात्रै कम्पनीले पुँजी थप्न हकप्रद सेयर जारी गरेको थियो। ६ लाख २१ हजार कित्ता बिक्री नभएको हकप्रद हालै लिलाम गरिसकेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नोक्सान दुई करोड २१ लाख रूपैयाँ छ। कम्पनीको खराब कर्जा ५७ प्रतिशतसम्म पुगेको छ। केही समयदेखि बजारमा कम्पनीको मूल्य भने बढिरहेको छ।
अहिले कम्पनीको सेयर मूल्य बुलिस प्रवृत्तिमै रहेको पाँच दिने र २० दिने स्मल मुभिङ एभरेज रेखाहरूले देखाइरहेका छन्। तत्काललाई भने कम्पनीको सेयरले ११५६ मा सामान्य प्रतिरोध पाउने पिभट विश्लेषणले देखाउँछ।