घोराहीमा पानी भण्डारणका लागि दर्जन बढी कृत्रिम जलाशय निर्माण


दाङको घोराही उपमहानगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न स्थानमा एक दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ। पानीको स्रोत बढाउन र कृषकको आय आर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले कृत्रिम जलाशय निर्माण गरिएको मेयर नरुलाल चौधरीले बताए।

घोराही क्षेत्रमा पानीको मुहान क्रमश: सुक्दै जान थालेपछि पानी रिचार्ज गर्न कृत्रिम जलाशय निर्माणमा जोड दिइएको मेयर चौधरीको भनाइ छ।

‘जनघनत्व बढ्दै जानु तथा सहरी क्षेत्र विस्तार हुदै जाँदा पानीका मुहानहरू सुक्दै जान थाले र पानीको अभाव बढ्न थाल्यो। घोराही क्षेत्रको भविष्य अन्यौलमा नपरोस् भनेर कृत्रिम जलाशय निर्माणमा लागेको हौं,’ मेयर चौधरीले सेतोपाटीलाई भने।

घोराही उपमहानगरले यस आर्थिक वर्षमा मात्रै करिब दुई करोड रुपैयाँ कृत्रिम जलाशय निर्माणको लागि खर्च गरिरहेको उनले बताए । उनले नयाँ कृत्रिम जलाशय निर्माणदेखि पहिलेका  पानी पोखरी, दह तथा ताल तलैयाहरूको मर्मत गरी पानी भण्डारण केन्द्र निर्माण गर्न थालिएको जानकारी दिए ।

‘वर्षाको समयमा आकाशबाट आउने पानीलाई संकलन गरी स्थानीय जनताहरूको जीविकोपार्जन र आय आर्जनमा सघाउने उद्धेश्य हो,’ चौधरीले भने ।

घोराही उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले हाल  घोराहीको वडा नम्वर १७ को ढिकपुर र गुलरिया, वडा नम्वर १६को गंगटे र ज्यामिरे लगायतका स्थानमा कृत्रिम जलाशय निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । इन्जिनियर श्रेष्ठले वडा नम्वर १८ को गिठेपानी, वडा नम्वर १२ को सिस्नेरी लगायतका स्थानमा भने निर्माण कार्य जारी रहको उनले बताए।

वडा नम्वर १६ को ज्यामिरेमा पहिलेदेखि नै रहेको थप दुइटा जलाशय मर्मत कार्य भइरहेको बताएका इन्जिनियर श्रेष्ठले घोराही १७ को गुलरियामा रहेको जलाशय, १६ को गंगटेमा रहेको जलाशय , वडा नम्बर १८ को सल्लाघारीमा रहेको जलाशय , सोही वडाको डवरी लगायतका स्थानमा रहेको जलाशयलाई थप निर्माण तथा ममर्त गरी सिंचाइको प्रबन्ध गरिएको जानकारी दिए ।

विभिन्न स्थानमाबाट स्थानीय कृषकले  सिंचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिहेको इन्जिनियर श्रेष्ठले बताए।

‘सिंचाइ, व्यवसायिक टुरिजम, माछापालन, हासपालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हौं,’ उनले भने, ‘मुख्य कुरा जलवायु अनुकूलन कै लागि हो।’

गाउँमा रहेको कुँवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उनले बताए । त्यस्तै पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानीको आपूर्ति गर्नका लागि कृत्रिम पोखरीले सहजता थपिरहेको उनले बताए ।

कृत्रिम जलाशयले आन्तरिक आय आर्जनमा  वृद्धि गर्न टेवा पुर्‍याइरहेको उनले बताए। ‘कृत्रिम जलाशयमा डुङ्गा चलाउनेदेखि जाल हानेर माछा मार्ने जस्ता कार्य भइरहेको देख्दा खुसी लाग्छ, ’ श्रेष्ठले भने ।

उनले निर्माणाधीन कृत्रिम जलाशयहरू चार, पाँच कठ्ठादेखि पाँच विगाहा क्षेत्रफलसम्मको निर्माण भइरहेको र करिब ६० प्रतिशत काम सकिएको बताए।

उनले वर्षाको पानी कृत्रिम जलाशय निर्माण गरी भण्डारण ( रिचार्ज) गर्न सक्ने हो भने पानीको हाहाकार केही हदसम्म समाधान हुने बताए ।

‘गर्मी दिनमा पानीको हाहाकार टार्नेको लागि मात्रै नभई जैविक विविधता बचाउनका लागि समेत कृत्रिम जलाशय निर्माण गर्न आवश्यक छ,’ इन्जिनियर श्रेष्ठले भने।

उनले जिल्लाका विभिन्न स्थानमा रहेका खहरे खोलाहरूमा हाइड्याम निर्माण गरी पानी रिचार्ज गर्न सके त्यसले जिल्लाको विकासमा सहयोग पुग्ने बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.