भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको छ।
पछिल्लो एक वर्षमा भिजिट भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाइएको विभागले जनाएको छ। यसमा पुरूषभन्दा महिला धेरै छन्।
भिजिट भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्नसक्ने भन्दै २०७९ वैशाखयता ४ हजार १ सय ७३ जनालाई परामर्शसहित फिर्ता पठाइएको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
पछिल्ला केही महिनाको तथ्यांक हेर्ने हो भने भिजिट भिसामा विदेश जाने क्रम लगातार बढेको देखिन्छ।
२०७९ माघमा भिजिट भिसामा वैदेशिक रोजगारका लागि हिँडेका १९३ महिला र ५७ पुरूष गरी २५० जनालाई फिर्ता गरिएको थियो। फागुनमा ३३१ महिला र २२६ पुरूष गरी ५५७ जनालाई र चैतमा ५२६ महिला र १२७ पुरूष गरी ६५३ जनालाई फर्काइयो।
यो वर्ष वैशाखयता मात्रै १ हजार ७ सय ११ जनालाई फर्काएको ब्युरोले जनाएको छ। तिनमा ६३५ पुरूष र १ हजार ७६ महिला छन्।
भिजिट भिसामा जाने धेरैलाई आफू कुन जान लागेको भनेर समेत थाहा नहुने एसएसपी श्रेष्ठले बताए। त्यस्तालाई सम्झाएर फर्काउने गरेको उनको भनाइ छ।
भिजिट भिसामा जानेहरूको मुख्य गन्तव्य खाडीमा युएई, ओमान, कतार, कुवेत र बहराइन हुन्छन्। युरोपेली देशमा सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हुन्छन् भने अमेरिका जाने भनेर अजरबैजान, अफ्रिकी मुलुकहरू र दक्षिण अमेरिकी मुलुक पुग्ने गरेको पनि ब्युरोले जनाएको छ। म्यानमार, लाओस, कम्बोडिया र थाइल्यान्ड जानेहरू पनि प्रशस्तै छन्।
आर्थिक वर्ष २०७९/८० को माघदेखि भिजिट भिसामा वैदेशिक रोजगारका लागि दुबई, ओमान, कतार, कुवेत र बहराइन हिँडेका २ हजार १ सय ५ महिला र ९ सय ९६ पुरूष गरी ३ हजार १ सय १ जनालाई फर्काइएको छ।
सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हिँडेकाहरूमा ६ जना महिला र ५ जना पुरूष गरी ११ जना छन्। त्यस्तै, अजरबैजान, अफ्रिकी मुलुक तथा दक्षिण अमेरिकी मुलुक हिँडेका एक जना महिला र १४ जना पुरूष गरी १५ जनालाई फर्काइएको छ। म्यानमार, लाओस, कम्बोडिया, थाइल्यान्ड हिँडेका १४ महिला र ३० पुरूष गरी ४४ जनालाई फर्काइएको तथ्यांक छ।
एसएसपी श्रेष्ठले बेचबिखन, तस्करी तथा विभिन्न उद्देश्यले भिजिट भिसाको आवरणमा युवाहरू ओसारपसार भइरहेको बताए।
‘हामीले अनुसन्धान गर्दा भारतका वेश्यालय लैजानदेखि गैरकानुनी रूपमा अंग झिक्न र जबरजस्ती काममा लगाउन पनि यसरी लैजाने गरेको भेटिएको छ,’ उनले भने।
पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन्। एसएसपी श्रेष्ठका अनुसार रूकुम र दाङ जिल्लाका युवामा अमेरिका छिर्ने होड बढी छ। ब्युरोको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा अमेरिका छिरेकामध्ये १ सय ७८ जना नेपाली डिपोर्ट भएका छन्।
प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ। यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ। जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ। त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो।
यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइन्छ।
२०७५ सालमा अमेरिकी सामुद्रिक मार्ग पाभो भन्ने स्थानमा जहाज हराएपछि १८ दिनसम्म पानी र खाना नपाएर भक्तपुरकी एक महिलाले ज्यान गुमाएकी थिइन्। २०७८ असार ५ गते क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा अमेरिका छिरिरहेका ७ जना नेपालीले ज्यान गुमाएका थिए। यसमा दाङका दुई जना, बाँकेका एक जना, पर्वतका दुई, स्याङ्जाका एक र नाम तथा ठेगाना नखुलेका एक नेपालीको मृत्यु भएको थियो। एक जना नेपाललीको भने उद्धार गरिएको थियो।
उनीहरूलाई अमेरिका पठाउन संलग्न एजेन्ट टोपबहादुर जिसी नामक व्यक्तिविरूद्ध प्रहरीले इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गरी गत भदौ २३ गते पक्राउ गरेको थियो। अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएका जिसी धरौटीमा छुटेका छन्।
अमेरिका छिर्ने क्रममा कोलम्बियाबाट पनामा हिँडेका रूकुम पश्चिमका दुई जना तथा प्युठानका एक जना गरी तीन युवक क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी २०७९ कात्तिक २५ देखि बेपत्ता छन्। रूकुम पश्चिमका एक युवक २०७९ पुस ११ गते पनामाको जंगलमा एक खोला किनार मृत भेटिएका थिए।
मानव तस्करी तथा ओसारपसारमा संलग्न एजेन्टहरू विदेशमा बसेर काम गर्ने हुँदा प्रहरीलाई भित्री तहसम्म पुग्न असहज भएको एसएसपी श्रेष्ठले बताए। विदेशमा त्यस्ता एजेन्टको पहिचान भए पनि सुपुर्दगी सन्धी तथा अन्तर्राष्ट्रिय सम्झौताको अभावमा उनीहरूलाई कानुनी दायरामा ल्याउन कठिन रहेको उनको भनाइ छ।
‘अधिकांश पीडितहरू उजुरी गर्न चाहनुहुन्न, उजुरी गर्न आएकाहरूसँग पनि पीडकको परिचय खुल्ने जानकारी नै हुँदैन,’ उनले भने।
मावन बेचबिखन तथा ओसारपसारका गिरोहमा धेरैजसो नजिककै आफन्त वा चिनजानका व्यक्ति हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसले पनि पीडितहरू उजुरी गर्न हिच्किचाउने उनले बताए।
वैदेशिक रोजगार क्रममा समस्यामा परेका युवालाई निःशुल्क कानुनी सहायता गर्दै आएको पिपुल्स फोरमका संस्थापक अध्यक्ष तथा वैदेशिक रोजगार विज्ञ अधिवक्ता सोम लुइँटेल नेपालको बेरोजगारी समस्या, गरिबी, गन्तव्य देशको आकर्षण र साथीभाइको लहैलहैमा मानव तस्करी बढेको बताउँछन्।
‘घरेलु कामदारका रूपमा मलेसिया तथा खाडी मुलुक जान प्रतिबन्ध लगाइएकाले भारतसँगको खुला सीमानाका कारण तस्करी बढेको छ,’ उनले भने।
मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन नहुँदा पनि यो समस्या नियन्त्रण गर्न गाह्रो परेको उनले बताए।
नेपालका श्रम गन्तव्य मुलुकहरूसँग सम्झौता गर्दा मानव बेचबिखन तथा तस्करी नियन्त्रणसम्बन्धी विषय समेटिनुपर्ने उनको तर्क छ। प्रमुख गन्तव्य मुलुकहरूमा श्रम सहचारीसँगै प्रहरी सहचारीको व्यवस्थासमेत हुनुपर्ने आवश्यकता अधिवक्ता लुइँटेलले औंल्याए।