देशको अर्थतन्त्र तथा व्यापार क्षेत्रमा केही सकारात्मक संकेतहरू पनि देखिएका छन्। आयातमा नै निर्भर भएका कतिपय उत्पादनले स्थानीय बजारको माग पूरा गर्दै विदेशी बजारमा पनि प्रवेश पाएका छन्।
उत्पादनमा आएको परिवर्तनसँगै उपभोग पनि फेरिएको छ। जसको प्रभाव समग्र अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा थोरै भए पनि देखिन थालेको छ।
विभिन्न क्षेत्रमा आर्थिक शिथिलताको असर देखिए पनि समग्र व्यापारमा निर्यातको हिस्सा क्रमश: बढ्दै गएको छ। निर्यात बढ्दा स्वाभाविक आयातको हिस्सा केही कम भएको छ।
जस्तो कि, वस्तु व्यापारसँग मात्रै तुलना गर्दा आर्थिक वर्ष २०७५/७६ मा भएको नेपालको जम्मा अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा ६ प्रतिशत मात्रै थियो। अहिले भने बढेर करिब नौ प्रतिशत पुगेको छ। आयातको हिस्सा ९४ प्रतिशतबाट घटेर अहिले ९१ मा झरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान तथ्यांकले अर्थतन्त्रको आकारको तुलनामा आयात र निर्यातको अनुपात पनि मापन गरेको छ। यो तथ्यांकले आयातको अनुपात क्रमशः घट्दै गएको देखाएको छ। उतार-चढाव हुँदै निर्यात भने पछिल्ला वर्षमा बढेको छ।
चालु वर्षको अनुमानित अर्थतन्त्रको आकार ५३ खर्ब ४ अर्बको अनुपातमा निर्यात करिब ८ प्रतिशत र आयात ३३.७० प्रतिशत पुग्ने आकलन गरिएको छ ।
आर्थिक वर्ष २०७४/७५ को अर्थतन्त्रको आकारको अनुपातमा आयात ४१ प्रतिशत माथि पुगेको थियो। त्यसपछि घट्दो क्रममा देखिएको छ।
सोही आर्थिक वर्षमा निर्यात अनुपात भने ७.७८ प्रतिशत थियो। त्यसपछि घटेर आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा ५.१२ प्रतिशतमा झरेको थियो। अहिले बढेर ७.९४ पुगेको छ।
सम्बन्धित आर्थिक वर्षको तुलनामा यस्तो छ आयात र निर्यात अनुपात
पूर्व वाणिज्य सचिव चन्द्र घिमिरे मुख्यतः दुई अवस्थामा निर्यातको अनुपात बढ्ने र आयात घट्ने तर्क गर्छन्।
सामान्यत: आन्तरिक बजारमा हुने वस्तु वा सेवाको माग देशभित्रको उत्पादनले पूर्ति गर्न थाल्यो भने आयात घट्दै जाने हो। त्यस्तै विदेशी बजारमा समेत नेपाली उत्पादनले स्थान बढाउन थालेपछि निर्यात बढ्ने हो।
यी दुवै कार्यको लागि उत्पादन भने बढ्नै पर्ने हुन्छ।
यस बाहेक अर्को अवस्थामा पनि आयातको अनुपात घट्ने र निर्यात बढ्ने हुन्छ। त्यो भनेको स्वदेशी बजारमा उपभोग घट्दा र अर्थतन्त्रको आकार पनि बढ्न नसक्दा हो।
अहिले यी दुई वटै कारणको मिश्रण भएको उनको तर्क छ।
गत वर्षदेखि नै आयात र निर्यात दुवै घटेको छ। यद्यपि निर्यात गर्नका लागि नै ल्याइने मध्यवर्ती वस्तुको आयात घट्नु र नयाँ वस्तु तथा सेवाको निर्यात बढ्नुले यसको चक्रमा परिवर्तन ल्याएको भने स्पष्ट संकेत गर्छ।
आयातको अनुपात घट्नु र निर्यातको अनुपात बढ्नु राम्रो पक्ष मानिए पनि कति टिकाउ हुन्छ भने अहिले भन्न सकिने आधार तय भएको छैन।
'समग्रमा अहिले उपभोग बढ्न सकेको छैन, पुँजीगत लगानी कम हुँदा पुँजी निर्माण हुने वस्तुहरूको आयात घट्दो छ यसले व्यापार सन्तुलनमा देखिएको सुधारको संकेत कति टिकाउ हुन्छ भन्न सकिने आधार बनेको छैन,' घिमिरेले भने।
उनले कतिपय वस्तुमा भने रणनीतिक सुधार भएको र सम्बन्धित वस्तुको व्यापार समग्र सन्तुलन कायम गर्न सहयोग पुर्याउने बताए।
विशेष गरी सेवा क्षेत्रमा आइटी सेवाको निर्यातका साथै बिजुलीको उत्पादनले पारेको प्रभाव र केही निर्माण सामग्रीको उत्पादनमा आएको परिवर्तनले अर्थतन्त्रका आशा जगाएको उनी बताउँछन्।
केही वर्ष अघि नेपालमा धेरै आयात हुने वस्तुमध्ये सिमेन्ट, डन्डी, विद्युत थिए।
आर्थिक वर्ष २०७४/७५ मा सिमेन्ट तथा क्लिङ्करको आयात ३१ अर्ब माथि पुगेको थियो। आइरन स्टिलको आयात एक खर्ब ४० अर्ब पुगेको थियो। विगतमा विद्युतको आयात पनि बढेको बढ्यै थियो। आर्थिक वर्ष २०७७/७८ मा विद्युतको आयात २२ अर्ब रूपैयाँ बराबरको थियो।
अहिले सिमेन्ट तथा क्लिङ्करको आयात करिब शून्य छ। नौ महिनाको अवधिमा तीन आयात प्रतिस्थापन गरेर निर्यात पनि बढ्दो छ। नौ महिनाको अवधिमा तीन अर्बको सिमेन्ट क्लिङ्कर भारतीय बजारमा बिक्री भएको छ।
उद्योगीहरू भारतमा बजार विस्तार गरिरहेका छन्। पूर्वसचिव घिमिरे अधिकांश कच्चा पदार्थ नेपालको नै भएको कारण भोलिका दिनमा सिमेन्टले थप बजार विस्तार गर्ने व्यापार सन्तुलनमा दीर्घकालीन लाभ उठाउने बताउँछन्।
विद्युतको आयात वार्षिक १०/१२ अर्बमा सीमित छ। नौ महिनाको अवधिमा नौ अर्ब ९३ करोड रूपैयाँको आयात भएको छ। १२ अर्ब ९३ करोडको निर्यात भएको छ। यो वर्षबाट विद्युत आयतभन्दा धेरै निर्यातमा प्रभाव परेको छ।
विद्युतको उत्पादन बढ्दा आन्तरिक बजारमा पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र ग्यास)को खपतलाई पनि प्रतिस्थापन गर्दै छ। विद्युतको उत्पादन बढ्दै गएकाले वार्षिक २० देखि २५ प्रतिशतका हिसाबले बढ्दै गएको पेट्रोलियम पदार्थको आयात क्रमशः घट्दै जाने छ। विद्युतको व्यापार नाफामा देखिने छ।
आइरन स्टिलको माग २०७४/७५ को तुलनामा अहिले धेरै बढी देखिन्छ। तर दुई वर्ष अघिसम्म बिलेट आयात गरेर डन्डी बेच्ने उद्योगीले अहिले आइरनको अर्ध तयारी कच्चा पदार्थको आयात गरेर बिलेट हुँदै डन्डी बनाउन सुरू गरेका छन्।
यो मूल्य अभिवृद्धिको कारण मागको तुलनामा आयात वृद्धिदर कम छ। बिलेटबाट बन्ने सामग्रीहरू विदेशी बजारमा निर्यात समेत बढ्दै गएको छ। यो वर्ष नेपालबाट निर्यात हुने वस्तुहरूमा आइरन तथा स्टिल सबभन्दा धेरै छ। नौ महिनाको अवधिमा १२ अर्ब बढीको यस्तो वस्तुको निर्यात भएको छ।
दुई वर्ष अघिसम्म नगन्य मात्रै रहेको प्लाइउडको निर्यात अहिले निकै बढेको छ। ९ महिनामा ५ अर्ब ६५ करोडको प्लाइउड निर्यात भएको छ। अहिले करिब ४५ उद्योगले नेपालबाट प्लाइउड निर्यात गर्छन्।
विगतमा नेपालबाट हुने निर्यातमा ५० प्रतिशतसम्मको हिस्सा खाने तेल (पाम, सूर्यमुखी र भट्मास) को थियो। यस्तो तेल नेपालले तेस्रो मुलुकबाट आयात गरेर सामान्य मूल्य अभिवृद्धि गरी भारतमा पठाउने गरेको थियो।
विगतको तुलनामा नगन्य मात्रै आयात निर्यात भएको छ।
विगतको तुलनामा समग्र अन्तर्राष्ट्रिय व्यापार कम देखिनुको एउटा कारण यस्तो तेल पनि हो। तर, यो तेलबाट हुने निर्यात बराबरको हिस्सा अहिले अन्य वस्तुहरूले पूर्ति गरेका छन्।
यता सेवा व्यापारतर्फ आइटी सेवाको निर्यात निरन्तर बढ्दो छ।
सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) को अध्ययनले वार्षिक ६७ अर्ब रूपैयाँको आइटी सेवा निर्यात हुने गरेको देखाएको छ। यसको निर्यात वृद्धिदर वार्षिक २० प्रतिशतको रहेको उल्लेख गरिएको छ।
यी तथ्यांक तथा कारणले व्यापारमा क्षेत्रमा केही सुधारका संकेतहरू देखा परेका छन्।