अर्थ मन्त्रालयले स्रोत नखुलेको र विभिन्न व्यक्तिको निवास र अन्यत्र लुकाएर राखेको पैसाका विषयमा तीव्र अनुसन्धान भइरहेको बताएको छ।
यसका साथै आम सर्वसाधारणलाई सम्भव भएसम्म सबै किसिमको कारोबार विद्युतीय गर्नको लागि मन्त्रालयले आग्रह गरेको छ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट नगद जलेको वा भेटिएको सन्दर्भमा अर्थले चासो राखेको हो। मन्त्रालयले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै ठूलो परिमाणमा नगद सञ्चय नगर्न सबैलाई अनुरोध गरेको
छ।
अर्थ मन्त्रालयले आय आर्जन भएको र स्रोत खुलेको रकम आफूसँग वा अन्यत्र सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा नहुने स्पष्ट पारेको छ। तर, स्रोत नखुलेको रकम लुकाएर राखेको विषयमा कानुनी सरकार कडा देखिएको छ।
‘विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ,’ अर्थ मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
मन्त्रालयले कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता टंक पाण्डेले भने, ‘नेपाल सरकारले सेवा वा वस्तुको खरिद-बिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको छ। विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको कारोबार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन।’
मन्त्रालयले सम्भव भएसम्म सबै कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न आग्रह गरिएको छ।
नगद कारोबार सम्बन्धी के छ कानुनी व्यवस्था
कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद-बिक्री गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने व्यवस्था छ।
नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकम भएमा भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने
व्यवस्था छ।
नेपाली नागरिकले विदेशमा रोजगारी/व्यवसायबाट आर्जन गरेको वा सटही सुविधा अन्तर्गत प्राप्त भएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १,५०० सम्म (वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा) नगदमा राख्न सक्ने व्यवस्था छ।
भदौ २४ गतेको भएको प्रदर्शनको क्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूको घर जलाइने क्रममा नगद जलेको भिडिओ सामाजिक सञ्जालमा देखिएको थियो। यो विषयमा अहिले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।