काठमाडौंकी नवघोषित 'जीवित देवी' कुमारी आर्यतारा शाक्यले मंगलबार आसन ग्रहण गरेकी छन्।
करिब तीन वर्षकी आर्यतारालाई उनका बुबा अनन्त शाक्यले काँधमा बोकेर मंगलबार दिउँसो कुमारी घर भित्र्याएका थिए।
यही मौकामा हामीले इतुम्बहालका अनन्तसँग छोरीलाई कुमारीका रूपमा थापना गरिँदाको अनुभव र नयाँ कुमारीको स्वभावबारे कुराकानी गरेका छौं।
'मलाई आफ्नी छोरी कुमारीका रूपमा छनौट हुँदा एकदमै खुसी र गर्व लागेको छ,' बुबा अनन्तले मंगलबार हामीसँगको कुराकानीमा भने, 'घरबाट विदाइ गर्नुपरेकाले दुःख पनि छ। मनमा खुसी र दु:खको मिश्रित भावना खेलिरहेको छ भन्नुपर्यो।'
उनले अगाडि भने, 'बुबाको भावनालाई अलग राखेर सोच्ने हो भने आफ्नी छोरी कुमारीका रूपमा छनौट हुनु सौभाग्यको कुरा हो। जोकोहीले यो अवसर पाउँदैनन्, भाग्यमा लेखेर ल्याउनुपर्छ।'
उनका अनुसार आर्यताराको जन्म २०७९ पुस २६ गते भएको हो। आमाको नाम प्रतिष्ठा शाक्य हो। आर्यताराकी १० महिनाकी बहिनी पनि छन् — परमिता शाक्य।
आर्यतारालाई छ महिनाअघि मात्र प्लेग्रुप भर्ना गरिएको थियो। अब उनको औपचारिक शिक्षा कुमारी घरमै हुनेछ।
उनी लगभग आठ वर्ष कुमारी घरमै बस्ने छिन्। त्यहाँ देवीका रूपमा उनको नित्य पूजा हुनेछ। हरेक दिन भक्तजनहरूलाई दर्शन पनि दिनुपर्नेछ।
येँया पुन्ही (इन्द्रजात्रा), घोडेजात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा लगायत गरी वर्षको १३ पटक कुमारी घरबाट कुमारीको रथायात्रा निकाल्ने परम्परा छ। त्यसबाहेक नेवारी चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ।
काठमाडौंका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणयुक्त कन्यालाई विधिपूर्वक कुमारी बनाइन्छ।
सामान्यतया कुमारीका रूपमा छनौट भएर कुमारीघर प्रवेश गर्दा कन्याको उमेर अढाई–तीन वर्षभन्दा बढी हुँदैन। त्यस्ती कन्या लगभग १२ वर्ष नहुँदासम्म कुमारीकै रूपमा रहने परम्परा छ। यो उमेरलाई महिनावारीको अन्तिम चरण मान्दै कुमारी परिवर्तन गर्ने चलन बसालिएको हो।
कुमारी परिवर्तनको समय भएपछि झन्डै दुई–तीन महिनाअघि काठमाडौंका १८ महाविहारमा खबर गरिन्छ। सूचना प्राप्त भएपछि प्रत्येक विहारले आ–आफ्नो तर्फबाट कुमारी छनौट प्रक्रिया सुरू गर्छ। आफ्नी छोरीलाई कुमारी राख्न इच्छुक वा छोरी कुमारी हुन उपयुक्त देखेका आमाबाबुले विहारसमक्ष इच्छा जाहेर गर्छन्।
यसपालि अन्तिम चरणमा तीन जनामध्येबाट आर्यतारालाई कुमारी छनौट गरिएको अनन्तले बताए।
उनले आर्यताराको स्वभावबारे पनि हामीसँग चर्चा गरे।
नवघोषित कुमारी आर्यतारा शाक्य आफ्ना बुबा अनन्त र आमा प्रतिष्ठा शाक्यसँग। तस्बिर: नेपाल फोटो लाइब्रेरी
'उहाँ सानैदेखि एकदम हँसिलो स्वभावको हुनुहुन्थ्यो। प्राय: शान्त रहने बानी छ। आफूलाई चाहिएका कुरामा भने एकदमै जिद्दी गर्नुहुन्छ,' उनले भने, 'साथीहरूसँग खेल्न पाए खुब रमाउनु हुन्छ। जोसँग पनि रमाइलो गरिरहनुपर्ने स्वभाव छ।'
आमाबुबा नदेख्दा कत्तिको न्यास्रिन्छिन् त?
हाम्रो यो प्रश्नमा अनन्तले भने, 'रमाइलो गर्न पाए, साथीहरूसँग खेल्न पाए आमाबुबा आँखा वरिपरि नभए पनि फरक पर्दैन उहाँलाई। मज्जा मानेर खेलिरहनु हुन्छ।'
उनले अगाडि भने, 'कुमारी भएपछि नियममा बस्नुपर्छ, त्यो सम्झिँदा चाहिँ अलि अलि डर लागिरहेको छ। हाँसखेल गरिरहनुपर्ने स्वभावमा के परिवर्तन होला, त्यो चाहिँ अहिले नै ठ्याक्कै भन्न सक्दिनँ।'
एउटा कुरामा चाहिँ उनी ढुक्क छन् — कुमारी घरमा पनि आर्यताराको उस्तै हेरविचार हुनेछ। घरमा जसरी मायाप्रेमका साथ छोरी हुर्काइन्छ, कुमारी घरमा पनि उति नै मायाप्रेम पाउने छिन्।
'यहाँ त हामीले मात्र हो माया गर्ने, त्यहाँ गएपछि त लाखौं मान्छेले माया गर्छन्, श्रद्धा गर्छन्,' अनन्तले भने, 'कुमारी घरका संरक्षक (चिताइदार) हरूले एकदमै हेरविचारका साथ राख्नुपर्छ। त्यहाँ कुमारीलाई साथीहरूसँग खेल्न कुनै रोकतोक हुँदैन। औपचारिक शिक्षा दिने चलन पनि छ। सबै सुविधा दिएर राखिन्छ।'
छोरीलाई देवीका रूपमा कुमारी घर भित्र्याएपछि उनका आमाबुबालाई भेटघाट गर्न पनि छेकबार हुँदैन। आमाबुबाले आफूलाई मन लागेका बेला छोरी भेट्न पाउँछन्।
'हाम्रो घर इतुम्बहाल हो, कुमारी घरबाट खासै टाढा छैन। जहिले मन लाग्यो, भेट्न जान पाउँछौं। उहाँलाई परिवारबाट, आमाबुबाबाट टाढा बस्न केही समय पक्कै गाह्रो होला, तर बिस्तारै ठिक हुँदै जान्छ। हामीलाई पनि बानी पर्दै जाला,' अनन्तले भने।
गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकारवाला पक्षको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।