पछिल्लो एक वर्षमा तीन खर्ब ५६ अर्ब रुपैयाँले अर्थतन्त्रको आकार बढेको छ।
अघिल्लो वर्ष अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको पुगेकोमा यो वर्ष ५७ खर्ब चार अर्बमाथि पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ।
प्रचलित मूल्यका आधारमा तथ्यांक कार्यालयले गत वर्ष ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको थियो। तर, वास्तविक रूपमा ३३ अर्ब न्यून अर्थात् ५३ खर्ब ४८ अर्ब मात्रै पुगेको देखिएको हो।
कार्यालयले सम्बन्धित आर्थिक वर्षमा ६ देखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलाप र पछिल्लो तीन महिनामा हुन सक्ने आर्थिक क्रियाकलापको विश्लेषण गरेर अर्थतन्त्रको आकार तथा आर्थिक वृद्धिदर अनुमान गर्छ। त्यसपछिको आर्थिक वर्षमा भने वास्तविक रूपमा पुगेको तथा प्राप्ति भएको वृद्धिदर निकाल्ने गर्छ।
अर्थतन्त्रको आकार भनेको त्यस आर्थिक वर्षमा उत्पादन भएको वस्तु वा सेवाको मूल्य हो।
विशेष गरी कृषि क्षेत्र र सेवा क्षेत्रमा भएको वृद्धिदरले चालु वर्षमा गत वर्षको तुलनामा करिब दोब्बर अर्थात् ३.९५ प्रतिशत (उपभोक्ता मूल्यमा) आर्थिक वृद्धिदर हासिल भएको अनुमान गरिएको छ। गत वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरिएकोमा १.९६ प्रतिशतको वृद्धिदर प्राप्ति भएको छ।
सरकारले चालु वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। यो लक्ष्य प्राप्ति नहुने देखिए पनि कृषि र सेवा क्षेत्रको वृद्धिदरले अर्थतन्त्र उक्साउन सहयोग पुर्याएको राष्ट्रिय तथ्यांक कार्यालयमा उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए।
विशेषगरी कृषि, वन तथा मत्स्य क्षेत्र पछिल्लो तीन वर्ष यताकै बढी वृद्धिदर देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत रहेकोमा गत वर्ष अर्थात् २०७९/८० मा २.७६ थियो। यो वर्ष भने ३.०५ प्रतिशतको वृद्धिदरको अनुमान गरिएको छ।
धान लगायतका वर्षे बालीको उत्पादनमा भएको वृद्धि; दलहन, तरकारी तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपक्षीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) मा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको रेग्मीले बताए।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान मात्रै २४.०९ प्रतिशत रहेको छ।
त्यस्तै, पर्यटन आगमनमा आएको उत्साहले भोजन तथा आवास क्षेत्र पनि तीन वर्ष यताकै उच्च वृद्धि भएको छ। कुल अर्थतन्त्रमा जम्मा २.४ प्रतिशतको योगदान रहेर पनि उच्च वृद्धिदरले समग्र अर्थतन्त्र उकास्न सहयोग गरेको देखिएको छ।
आवास तथा भोजन सेवामा पनि पछिल्लो तीन वर्षयताकै उच्च वृद्धिदर हुने अनुमान गरिएको छ। यो क्षेत्र आर्थिक वर्ष २०७८/७९ मा १२.५६ प्रतिशतको वृद्धिदर कायम भएको थियो भने २०७९/८० मा १८ प्रतिशतको वृद्धिदर प्राप्ति भएको थियो। यो वर्ष भने करिब २२ प्रतिशतको वृद्धिदर कायम हुने देखिएको छ।
त्यस्तै यातायात तथा भण्डार क्षेत्रको वृद्धिदर पनि तीन वर्ष यताकै उच्च ११.८९ प्रतिशत छ।
अर्थतन्त्रका कृषि पछिको उच्च १३.८४ प्रतिशतको योगदान रहेको व्यापार क्षेत्रमा निकै न्यून वृद्धिदर कायम हुने अनुमान लगाइएको छ। विगतमा अन्य क्षेत्रको संकुचनका बीच व्यापार क्षेत्रमा वृद्धिदर बढी हुने गरेकोमा अघिल्लो वर्ष ३ प्रतिशतले ऋणात्मक वृद्धिदर देखिएको थियो। यो वर्ष जम्मा ०. १६ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ।
उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको वृद्धिदर लगातार दोस्रो वर्ष पनि ऋणात्मक हुने अनुमान गरिएको छ। उत्पादनमूलक उद्योग गत वर्ष १.९६ प्रतिशतले ऋणात्मक वृद्धिदर थियो भने यो वर्ष १.०६ प्रतिशतले ऋणात्मक रहने अनुमान गरिएको छ।
निर्माण क्षेत्र भने थप ऋणात्मक हुने आकलन तथ्यांक कार्यालयले गरेको छ। गत वर्ष निर्माण क्षेत्रमा १.१ प्रतिशतको ऋणात्मक वृद्धिदर देखिएको थियो। यो वर्ष २.०७ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ।
यसले नेपालको अर्थतन्त्रमा अपेक्षित सुधार नआउनुमा तीन वटा क्षेत्र (उत्पादनमूलक उद्योग, निर्माण र व्यापार) मा देखिएको संकुचन प्रमुख कारण हुन्।
तथ्यांक कार्यालयले अर्थतन्त्रको आकार तथा वृद्धिदर मापन गर्ने क्रममा विभिन्न १८ समूहमा विभाजन गरेको हुन्छ। यी १८ समूहमध्ये उल्लेखित दुई समूहमा ऋणात्मक वृद्धिदर देखिने अनुमान गरिएको छ। अन्य १६ वटा समूहहरूमध्ये ६ वटामा गत वर्षको तुलनामा संकुचन देखिएको छ। अर्थात् गत वर्षको वृद्धिदर भन्दा न्यून वृद्धिदर देखिएको छ। १० वटा सूचकमा भने गत वर्षको भन्दा वृद्धिदर पनि बढेको छ।
यीबाहेक अर्थतन्त्रको आकारको अनुपातमा आयातको अनुपात घटेको छ। निर्यातको अनुपात बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आकारको तुलनामा आयातित सामानको मूल्य अनुपात ४२ प्रतिशत रहेको थियो। यो वर्ष घटेर ३३.७० प्रतिशतमा झर्ने अनुमान गरिएको छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा निर्यातको अनुपात ६.७ प्रतिशत रहेकोमा यो वर्ष बढेर ७.९ प्रतिशतको अनुमान गरिएको छ।