नेपालको अन्तर्राष्ट्रिय व्यापार घट्ने प्रवृत्ति अझै कम भएको छैन। २०७९ साउन यता (२१ महिनाको अवधिमा) एक महिनामात्रै आयात बढेको छ। अन्य २० महिना घटेको छ।
यो वर्षको पहिलो नौ महिनामा आयात २.८४ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्बमा सीमित छ। अघिल्लो चैत महिनाको तुलनामा भने ४ प्रतिशतले आयातमा गिरावट आएको छ। नेपालीले धेरै उपभोग गर्ने सामान आयात केन्द्रित नै छ।
सामान्यत: यति लामो समय आयात घट्नुले नेपालमा उत्पादन बढेको वा उपभोग गर्नेको संख्यामा कमी आएको संकेत गर्छ। तर, सबै किसिमका वस्तुको आयात घटेको भने होइन, कतिपय वस्तुको अस्वाभाविक आयात बढेको पनि छ।
अहिले, कस्ता वस्तुको आयात घटेको हो? त्यसको प्रयोग कहाँ हुन्थ्यो? त्यसले बजार चक्रमा कस्तो प्रभाव पारेको छ भन्ने विषय हेर्नुपर्ने हुन्छ।
चालु वर्षमा घटेको आयात प्रवृत्तिलाई हेर्ने हो भने मुख्यत: एकै प्रकारका वस्तुको आयात उल्लेख्य घटेको देखिन्छ।
यसका साथै समग्र खाद्य सामग्रीको आयात पनि केही घटेको छ। तर, सर्वसाधारणले बढी उपयोग गर्ने गैरखाद्य सामग्रीको आयात उल्लेख्य बढ्नुले उपभोग गर्ने व्यक्तिहरू नै धेरै घटेको तथ्य भने पुष्टि गर्दैन।
जस्तै: यो वर्ष कपडा र त्यसका सामानको आयात मात्रै ७५ अर्ब ३२ करोड रूपैयाँको पुगेको छ। यो १७ प्रतिशतभन्दा धेरैको वृद्धिदर हो।
२०८० साउनदेखि चैतसम्ममा १४ लाख रूपैयाँको स्मार्ट फोन आयात भएको छ। आयात मूल्यका हिसाबले १७ प्रतिशतले नै बढेर २१ अर्ब ७५ करोड रूपैयाँ बराबर पुगेको छ।
सबभन्दा धेरै आयात गाडी र त्यसको पाटपुर्जामा बढेको छ। अघिल्लो वर्षको नौ महिनाको तुलनामा ५२ प्रतिशतले गाडी र यसका पाटपुर्जाको आयात बढेको भन्सार तथ्यांकले देखाएको छ। २०८० साउनदेखि चैतसम्ममा ५५ अर्ब ४८ करोड रूपैयाँको यस्तो सामान आयात भएको छ।
गाडीको आयातमा विशेष गरी विद्युतीय सवारी साधनको आयात बढेको हो। व्यापार विज्ञ पुरूषोत्तम ओझा एकै आर्थिक वर्षमा यति धेरै आयात बढ्नुमा व्यक्तिको खर्च गर्ने क्षमता बढ्नु र सरकारले दिएको प्रोत्साहन लाभ उठाउनु भएको बताउँछन्।
'लाखौं रूपैयाँ खर्चनु पर्ने गाडीको आयात बढ्नुले व्यक्तिको खर्च गर्ने क्षमता बढेको अर्थ लाग्छ, यसका साथै सरकारले अहिले विद्युतीय गाडीमा कम कर लगाउने नीति लिएको कारण पनि लाभ उठाइरहेका छन्,' ओझाले भने।
उल्लेख्य आयात बढ्नेको सूचीमा हवाई जहाज र यसका पाटपुर्जा पनि रहेका छन्। यस्ता सामानको आयात सात अर्ब १३ करोड रूपैयाँको भएको छ। जबकि अघिल्लो वर्ष एक अर्ब नौ करोड रूपैयाँ बराबरको मात्रै भएको थियो। यो वर्ष विशेष गरी नयाँ हेलिकप्टरको आयात बढेको छ।
तर, वनस्पति घ्यू तेल, बहुमूल्य धातु, अन्न, औषधि, खनिज इन्धन, फलाम स्टिल लगायतको आयात उल्लेख्य घटेको छ।
विशेषगरी पाम, भट्मास तथा सूर्यमुखी तेलको योगदान बढी रहने वनस्पति घ्यू तेलको आयात मात्रै ३३ अर्ब रूपैयाँले घटेको छ। यसको प्रत्यक्ष असर निर्यातमा परेको देखिन्छ। निर्यात पनि करिब २० अर्ब रूपैयाँले घटेको छ।
यस्तो सामानको आयात घट्दा नेपालको बजारमा ठूलो प्रभाव नपर्ने व्यापार विज्ञ ओझा बताउँछन्।
'यस्तो सामानको आयात नेपाली बजारको मागको आधार भएको थिएन, निर्यात पनि नेपालमा उत्पादनको कारण थिएन,' ओझाले भने, 'भारतले दिएको सुविधाको उपयोग गर्दै तेस्रो मुलुकबाट आयात गरेर सामान्य मूल्य अभिवृद्धि गरी निर्यात गरिएको थियो। रोजगारी, लगानी तथा उपभोगका दृष्टिले यसो ठूलो असर परेको पाइँदैन।'
पाम तेलको उत्पादन नेपालमा हुँदैन भने भट्मास र सूर्यमुखी तेलको उत्पादन नगन्य हुन्छ। यी तीनै प्रकारको तेल मलेसिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, चीन, टर्की, युक्रेन लगायत देशबाट आयात गरिन्थ्यो।
अन्य देशबाट कच्चा उत्पादन लिएर कम्तीमा ३० प्रतिशतसम्मको मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने सुविधा नेपाललाई छ। तर भारतले वाणिज्य सन्धिको लाभ उठाएर ३० प्रतिशत पनि मूल्य अभिवृद्धि नगरेको शंका लागेपछि नेपाललाई यस्तो लाभबाट पन्छ्याउन थालेको छ।
आर्थिक वर्ष २०७८/७९ मा भारतले अन्य देशबाट पनि कच्चा तेलमा लाग्ने कर कटौती गरेको थियो। यसपछि नेपाल हुँदै जाने तेलको तुलनामा सम्बन्धित देशबाट मगाउन सस्तो भएपछि नेपालबाट यस्तो तेलको माग आउन छोड्यो र आयात पनि घट्न गएको हो।
धेरै आयात घट्नेको दोस्रो सूचीमा बहुमूल्य धातु रहेको छ। गत वर्षको तुलनामा यस्तो सामानको आयात १८ अर्ब रूपैयाँले घटेको छ। यो वर्ष नौ महिनामा २३ अर्ब रूपैयाँको मात्रै यस्तो सामानको आयात भएको छ।
मूल्यमा आएको वृद्धि र सरकारको नीतिको कारण सुनको आयात घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य दाबी गर्छन्।
२०७९ चैतबाट सुनको मूल्य एक लाख रूपैयाँमाथि पुगेको थियो। यस्तो वस्तुको आयात निरन्तर घट्दा रोजगारीमा भने समस्या पर्ने व्यवसायीहरूको भनाइ रहेको छ। यी वस्तुको आयात घट्नुले बजारको मागमा नै कमी आएको संकेत गर्छ भने अर्को तर्फ अवैधानिक आयात बढेको हुन सक्ने पनि संकेत गर्छ।
मूल्यगत आधारमा खनिज इन्धनको आयात पनि घटेको छ। गत वर्ष नौ महिनामा दुई खर्ब ६१ अर्ब रूपैयाँको यस्तो सामानको आयात भएको थियो। यो वर्ष भने १५ अर्ब रूपैयाँले घटेर दुई खर्ब ४६ अर्ब रूपैयाँको आयात भएको छ।
खनिज इन्धनको आयात घट्नुमा मुख्य भूमिका डिजेलको छ। मूल्यगत आधारमा डिजेल मात्रै नौ अर्ब १७ करोड रूपैयाँले घटेको छ। विगतका वर्षमा जस्तो आयात वृद्धिदरमा ब्रेक लागे पनि परिमाणको आधारमा डिजेलको आयात भने घटेको छैन।
परिमाणका हिसाबले डिजेलको आयात चार प्रतिशतले बढेको छ। गत वर्षको तुलनामा मूल्य घटेको लाभ नेपाललाई भएको हो।
डिजेलको प्रयोग ढुवानीको साथै निर्माण तथा अन्य औद्योगिक क्षेत्रमा पनि हुने गर्छ। कतिपय ठाउँमा विद्युत प्रयोग बढेकोले पनि डिजेल घटेको हुन सक्ने व्यवसायीहरूको भनाइ छ। निर्माण क्षेत्र तुलनात्मक रूपमा सुस्त रहेको प्रभाव पनि यसको आयात सुस्त भएको बताइन्छ।
तर, निर्माणमा प्रयोग हुने विटुमिनको आयात उल्लेख्य भएको छ। गत वर्ष सात करोड १२ लाख केजी विटुमिन आयात भएकोमा यो वर्ष ९ करोड ५१ लाख केजीको आयात भएको छ। यसले निर्माण उद्योग सुस्त रहेको संकेत भने गर्दैन।
यता निर्माणसँग नै जोडिएको फलाम स्टिलको आयात पनि उल्लेख्य घटेको छ। तर, यसले पनि बजारमा धेरै मात्रामा माग घटेको संकेत गर्दैन। किनकि पछिल्लो वर्षहरूमा यस्ता सामानको कच्चा पदार्थ आयात गरेर तयारी वस्तु नेपालमा नै उत्पादन गरिन्छ।
आयात घट्दै गर्दा निर्यात भने बढेको कारण पनि यो संकेत गर्छ। विगतमा विलेट आयात गरेर यहाँ अन्य निर्माणजन्य सामग्री उत्पादन गरिँदै आएकोमा अहिले स्पन्ज आइरनको आयात गरेर विलेटलगायतका सामग्री पनि नेपालमा नै उत्पादन गरिन्छ। यस क्रममा हुने मूल्य अभिवृद्धिको कारण आयातमा निकै कमी आएको उद्योगीहरूको भनाइ छ।
अन्नको आयात ६ अर्ब ५२ करोड रूपैयाँले घटेको छ। गत वर्षको तुलनामा १६ प्रतिशतले घटेर ३७ अर्ब रूपैयाँको भएको छ। अन्नसँगै फलफूल, तरकारी तथा तेलहनको पनि आयात घटेको छ। यसले खाद्यको आयात घटेको संकेत गर्छ।
तर, व्यापारीहरू भने आयात यसरी घट्न सम्भव नभएको तर्क गरेका छन्। उनीहरूले भन्सार छली गरेर अन्नको आयात बढेको दाबी गर्छन्। भद्रपुर, गौर, सिराहा, सर्लाही र नेपालगञ्ज भन्सार छलेर ठूलो परिमाणमा खाद्यन्नको आयात भएको विवरण तयार पारेको थियो। यस्तो आयात विशेषगरी भन्सार छलेर खुला सिमानाको लाभ उठाएर भएको हो। व्यक्ति वा परिवारले प्रयोग गर्नेभन्दा पनि व्यावसायिक प्रयोजनमा नै खुला सिमानाको लाभ उठाएर आयात बढेको भन्सार अधिकारीहरूको भनाइ छ।
त्यस्तै औषधिको आयात पनि उल्लेख्य घटेको छ। नेपालका औषधि उद्योगीहरूले उत्पादनमा पनि कमी आएको गुनासो गरिरहेको सन्दर्भमा औषधिको आयात पनि घटेको तथ्यांकले देखाउँछ। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा औषधिको आयात १३ प्रतिशतले घटेर २९ अर्ब १५ करोड रूपैयाँको भएको छ।
खाद्यन्न, औषधिलगायतका सामग्रीको आयात घट्नले उपभोग गर्नेको संख्यामा कमी आएको संकेत गरे पनि लत्ताकपडा, मोबाइल फोनलगायतका उपभोग्य सामग्रीको आयात बढ्दा त्यस्तो संकेत देखिँदैन। खाद्यन्न औषधिलगायतका वस्तुमा नेपालले केही प्रतिशत मात्रै आयात गरेर धेरै नेपालमा नै उत्पादन गर्छन्।
तर, स्मार्ट फोन, ल्यापटप, स्मार्ट वाचलगायतका वस्तु पूर्ण आयात नै हुन्छ। नेपालमा उत्पादन नहुने वस्तुको आयात बढेको र उत्पादन हुने वस्तुको आयात घटेको कारण पनि व्यापार चक्रमा परिवर्तन आएको संकेत भन्सार तथ्यांकले गरेको छ।