अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत प्रसारण लाइन निर्माणको काम अघि बढाइएको छ।
एमसिसी परियोजना अन्तर्गतको ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटर (न्यू बुटवलदेखि भारतीय भूमिसम्म) को प्रसारण लाइन निर्माणलाई पहिलो प्राथमिकता राखेर निर्माण प्रक्रिया अघि बढाइएको हो।
परियोजना कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालले चैत २ गते न्यू बुटवल सबस्टेसनदेखि भारतीय भूमिसम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माणको लागि टेन्डर प्रस्ताव माग गरेको थियो।
एमसिए नेपालले यो खण्डको प्रसारण लाइन निर्माणको लागि लाग्न सक्ने अनुमानित लागत समेत टुंग्याएको छ।
एमसिएका अनुसार १८ किलोमिटर प्रसारण लाइनको लागि एक करोड ३२ लाख ४० हजार डलर लागत अनुमान गरिएको छ। बुधबारको विनिमय दरअनुसार यो लागत एक अर्ब ७६ करोड नेपाली रूपैयाँ हो।
यसअघि ३१५ किलोमिटरको लागि नै टेन्डर खुलाइएको थियो। तीन खण्डमा विभाजन गरेर २०८० जेठ ८ मा पहिलो पटक टेन्डर खुलाइएको थियो।
यसअन्तर्गत लट–१ मा लप्सिफेदी–रातमाटे–न्यू हेटौंडाको ११७ किलोमिटर, लट–२ मा रातमाटे–न्यू दमौलीको ९० किलोमिटर र लट–३ मा न्यू दमौली–न्यू बुटवल–न्यू बुटवलबाट भारतीय सीमासम्म १०८ किलोमिटर ठेक्का आह्वान गरेको थियो।
तीन वटै लट अन्तर्गतका प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ३६ लाख डलरको लागत अनुमान निकालेको थियो। तर, सबभन्दा न्यूनतम प्रस्ताव हाल्नेहरूलाई ठेक्का दिँदा ३६ करोड ५९ लाख लागत प्रस्ताव भएको थियो।
तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले अनुमानित लागतको तुलनामा ६१ प्रतिशत महँगो प्रस्ताव स्वीकार्न नसकिने भन्दै चासो व्यक्त गरेपछि एमसिए नेपाल टेन्डर रद्द गर्ने निर्णयमा पुगेको थियो।
टेन्डर रद्द गरिएकोमा चित्त नबुझाएको टेन्डर हाल्ने मध्येको एक कम्पनी इन्डियाको टाटा कम्पनीले एमसिए नेपालविरूद्ध मुद्दा समेत हालेको थियो। तर, सर्वोच्चले एमसिए नेपालको पक्षमा नै आदेश दिएपछि पुनः टेन्डरको लागि बाटो खुलेको थियो।
पुनः टेन्डरको क्रममा प्रसारण लाइनको रि–डिजाइन गर्नुपर्ने बताइएको थियो। तर, १८ किलोमिटरलाई भने प्राथमिकतामा राखेर टेन्डर खुलाइएको छ।
एमसिए नेपाल सञ्चालक समितिको फागुन २१ मा बसेको ४० औं बैठकले १८ किलोमिटरलाई फास्ट ट्र्याकमा निर्माण गर्ने गरी टेन्डर खुलाएको हो। दुई देशीय प्रसारण लाइन निर्माणका लागि छिटो गर्न यसलाई विभाजन गरेर टेन्डरमा लगिएको एमसिएका अधिकारीहरूले बताएका छन्।
नेपाल भारत दुई देशीय प्रसारण लाइन अन्तर्गतको ११८ किलोमिटरमध्ये १८ किलोमिटर एमसिए नेपालले बनाउने र १०० किलोमिटर विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कम्पनी भएको ज्वाइन्ट भेञ्चर कम्पनीले बनाउने सहमति भएको छ।
यो १०० किलोमिटर नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्मको खण्ड हो। एमसिए नेपालले निर्माण गर्ने भनेको ३१५ किलोमिटर अन्तर्गत यो खण्ड जोडिएको छैन।
भारतले १०० किलोमिटर अन्तर्गतको काम सुरू भएपछि एमसिए नेपालले आफूले गर्ने मध्येको १८ किलोमिटरलाई प्राथमिकता दिएको हो।
‘नेपाल इन्डिया क्रस बोर्डर ट्रेडमा १८ किलोमिटर धेरै महत्त्वपूर्ण भयो, त्यसैले पहिलो प्राथमिकता दिएर हामीले यो खण्डको लागि टेन्डर आह्वान गरेका छौं, त्यसको लागत अनुमान पनि सूचित गरेका छौं,’ एमसिएका एक अधिकारीले भने।
यो प्रसारण लाइनमा टेन्डर प्रस्ताव गर्न ६० दिनको समय दिइएको छ। एमसिए नेपालले निर्माण गर्नुपर्ने बाँकी २९७ किलोमिटर प्रसारण लाइनको डिजाइन निर्माणको काम अघि बढाइएको एमसिए नेपालले जनाएको छ।
याे पनि हेर्नुस् :
एमसिसी प्रसारण लाइनको टेन्डर रद्द हुने, यी दुई कारणले लगिएन 'नेगोसिएसन' मा