यो आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक, मंसिर र पुस) मा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक थियो। चालु वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा ३.२ प्रतिशतको वृद्धिदर थियो।
यो वर्षको दोस्रो त्रैमासमा भने ४ प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ।
कार्यालयका अनुसार अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर निकै कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको हो।
'व्यापार र उत्पादनमूलक उद्योग क्षेत्रबाहेक अन्यमा सुधार देखिएकाले समग्र वृद्धिदर ४ प्रतिशत हुने आकलन गरिएको हो,' तथ्यांक कार्यालयका उप-प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए।
व्यापारजन्य वस्तु आयातमा भएको गिरावटले व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको कार्यालयले औंल्याएको छ।
तैपनि यो वर्षको पहिलो त्रैमासको तुलनामा यसमा सुधार छ। पहिलो त्रैमासमा व्यापार क्षेत्रमा १.१ प्रतिशतले ऋणात्मक वृद्धिदर थियो। अहिले ०.५ प्रतिशतको वृद्धिदर छ।
पछिल्ला ६ वटा त्रैमासमध्ये गत वर्षको तेस्रो र यो वर्षको दोस्रो त्रैमासमा मात्रै व्यापार क्षेत्रमा धनात्मक वृद्धिदर भएको हो
अहिले समग्र आर्थिक वृद्धिदर ४ प्रतिशत हुने देखिनुमा धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि प्रमुख कारण भएको तथ्यांक कार्यालयले जनाएको छ।
यहिले कृषि क्षेत्रको वृद्धिदर ३ प्रतिशत हुने अनुमान छ। पहिलो त्रैमासमा १.७ प्रतिशतको मात्रै वृद्धिदर थियो। त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा २.७ प्रतिशत वृद्धिदर थियो।
यसबाहेक होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी भएकाले पनि सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ।
यो वर्ष र गत वर्षको दोस्रो त्रैमासको क्षेत्रगत तुलना गर्दा तीन क्षेत्रको वृद्धिदर दोहोरो अंक (१० प्रतिशत माथि) देखिएको छ।
बिजुली, ग्यास र वातानुकूलित आपूर्ति क्षेत्रमा १७ प्रतिशतको वृद्धिदर छ। यो वर्ष पहिलो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १.१ प्रतिशत मात्रै थियो। गत वर्ष दोस्रो त्रैमासमा १२ प्रतिशत थियो।
आवास तथा सेवा क्षेत्रमा २९ प्रतिशतको वृद्धिदर छ। पर्यटन आगमनमा आएको सुधार यो क्षेत्रमा परेको हो। यो वर्षको पहिलो तीन महिनामा यो क्षेत्रमा ११ प्रतिशतको वृद्धिदर थियो। गत वर्ष दोस्रो त्रैमासमा ४ प्रतिशतको वृद्धिदर थियो।
त्यस्तै ढुवानी र भण्डार क्षेत्रको वृद्धिदर पनि १४ प्रतिशत माथि छ।
खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत हुने अनुमान छ। निर्माण सामग्री उत्खननमा आएको २.२ प्रतिशतको वृद्धिले यो क्षेत्रसँग प्रत्यक्ष रूपमा भरपर्ने खानी तथा उत्खनन क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयले जनाएको छ।
निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत पुगेको छ।
कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मापन गर्ने १८ क्षेत्रमध्ये कुन क्षेत्रको अवस्था कस्तो?
कृषि वन तथा मत्स्य पालनः ३.३ प्रतिशत वृद्धि
खानी तथा उत्खननः ९.४ प्रतिशत वृद्धि
उत्पादनमूलक उद्योगः ०.४ प्रतिशत ऋणात्मक
बिजुली, ग्यास र वातानुकूलित आपूर्तिः १७.१ प्रतिशत वृद्धि
पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापनः ०.८ प्रतिशत वृद्धि
निर्माण क्षेत्रः २.२ प्रतिशत वृद्धि
थोक र खुद्रा व्यापार, मोटरवाहन र मोटरसाइकल मर्मतः ०.५ प्रतिशत वृद्धि
ढुवानी र भण्डारणः १४.३ प्रतिशत वृद्धि
आवास र सेवा क्षेत्रः २९.३ प्रतिशत वृद्धि
सूचना र सञ्चारः २.९ प्रतिशत वृद्धि
वित्तीय र बीमा गतिविधिहरूः ९.१ प्रतिशत वृद्धि
घरजग्गा गतिविधिहरूः २.७ प्रतिशत वृद्धि
व्यावसायिक वैज्ञानिक र प्राविधिक गतिविधिहरूः ३.९ प्रतिशत वृद्धि
प्रशासनिक र सेवा गतिविधिहरूः २.६ प्रतिशत वृद्धि
सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सुरक्षाः ६.४ प्रतिशत वृद्धि
शिक्षा क्षेत्रः ०.८ प्रतिशत वृद्धि
स्वास्थ्य र सामाजिक गतिविधिहरूः ३.७ प्रतिशत वृद्धि
कला, मनोरञ्जन र अन्य सेवाः ९.९ प्रतिशत वृद्धि