नेपाली उद्यमीमा ब्राण्डप्रतिको सचेतना बढ्दै गएको पाइएको छ।
व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको दर्तामा उल्लेख्य सुधार आएसँगै नेपाली ब्राण्डका उत्पादन पनि बढ्दै गएको तथ्यांकले देखाएको छ।
उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनको लागि ट्रेडमार्क दिने गरिन्छ। व्यवसाय वा ब्राण्डलाई चिनाउने नाम, संकेत, चिह्न, तस्बिर, आकार वा शब्दलाई ट्रेडमार्क भनिन्छ।
उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (२०८० साउनदेखि फागुनसम्म) दुई हजार २२३ वटा स्वदेशी उत्पादन तथा सेवा केन्द्रित ट्रेडमार्क दर्ता भएका छन्। विगतका कुनै पनि आर्थिक वर्षमा यति धेरै ट्रेडमार्क दर्ता भएका थिएनन्।
यस वर्ष विदेशी उत्पादनका ट्रेडमार्क पनि उल्लेख्य बढेका छन्। फागुनसम्म विदेशी उत्पादन तथा सेवाका १५ सय ९० वटा ट्रेडमार्क दर्ता भएका छन्।
विभागको तथ्यांक अनुसार हालसम्म दर्ता भएका ट्रेडमार्कमध्ये ५४ प्रतिशत स्वदेशी र ४६ प्रतिशत विदेशी ट्रेडमार्क छन्। चालु वर्षको फागुनसम्म ३४ हजार २४० वटा स्वदेशी र २८ हजार ८५८ वटा विदेशी ट्रेडमार्क दर्ता भएका छन्।
नेपालमा आर्थिक वर्ष ०६५/६६ सम्म २९ हजार ३३७ ट्रेडमार्क मात्रै दर्ता थिए। त्यसयता १५ वर्षमा ३६ हजार २८७ वटा ट्रेडमार्क दर्ता भएका छन्।
२०७६ सालमा अमेरिकी कम्पनी नर्थ फेसले नेपालमा आफ्नो ट्रेडमार्क दुरूपयोग भएको उजुरी हालेपछि ट्रेडमार्क लिनेको संख्यामा वृद्धि भएको उद्योग विभागका अधिकारीहरूले बताएका छन्।
२०७६ जेठमा अमेरिकी कम्पनी 'द नर्थ फेस'ले आफ्नो सामानको नक्कलीप्रति उत्पादन गरेर बिक्री गरेको दाबी गर्दै तीन पसलविरूद्ध उद्योग विभागमा उजुरी हालेको थियो। त्यसपछि विभागले ती पसलसहित अन्यमा पनि छापामा मारेको थियो।
२०७६ पछि मात्रै १७ हजार ९४३ वटा ट्रेडमार्क दर्ता भएका छन्। आफ्नो उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन ट्रेडमार्क महत्वपूर्ण हुन्छ। एक पटक दर्ता गरेपछि ट्रेडमार्क बदल्न मिल्दैन। नेपालमा हरेक ७ वर्षमा ट्रेडमार्क नवीकरण गर्नुपर्छ।
पछिल्ला वर्षहरूमा हरेक वर्ष ट्रेडमार्क लिनेहरूको संख्या बढ्दै गएको छ।
पूर्वउद्योग सचिव कृष्ण ज्ञवाली ट्रेडमार्क लिनेको संख्या बढ्नुले उद्यमीमा आफ्नो ब्राण्डप्रतिको सचेतना बढेको संकेत गर्ने बताउँछन्।
'दर्ता उद्योगहरूको संख्या बढेसँगै ट्रेडमार्क लिनेहरू पनि बढेका छन्, तर अहिले उद्यमीहरूमा आफ्नो ब्राण्ड प्रतिको सचेतना बढेको पनि देखिन्छ,' ज्ञवालीले भने।
उद्योग विभागका निर्देशक अर्जुन सेन ओलीले यो वर्ष विगतमा फाइलहरूमा पनि विभागले निर्णय लिएको कारण दर्ता संख्यामा उल्लेख्य वृद्धि भएको तर्क गरे।
'यो वर्ष पेन्डिङ फाइलमाथिको निर्णय धेरै भएको कारण पनि संख्यामा सुधार आएको छ। तर, ट्रेडमार्क मागेर निवेदन दिनेहरू पनि बढ्नु भएको छ,' ओलीले भने।
आफूले उत्पादन गरेका सामानको ट्रेडमार्क राख्न चाहेको निवेदन लिएर गएपछि विभागले निर्णय लिन्छ। निवेदकको मागमा कसैको दाबी विरोध भएन भने कम्पनीले निश्चित समयपछि ट्रेडमार्क, पेटेन्ट र डिजाइन निश्चित गरिदिन्छ।
यो वर्ष दुई वटा पेटेन्ट र सात वटा डिजाइन दर्ता भएको छ। पेटेन्ट र डिजाइन दर्ता भने निकै न्यून मात्रामा भएका छन्। विभागका अनुसार हालसम्म ८८ वटा पेटेन्ट र ३१० वटा डिजाइन दर्ता भएका छन्।