नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आयातको दबदबा छ।
१०० रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गर्ने क्रममा ९१ रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने नौ रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
आयात घट्दा समग्र व्यापार घाटा घट्नुका साथै विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग पुग्छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब २४ अर्ब रूपैयाँले घटेको छ। जसमा आयात व्यापार मात्रै २८ अर्ब रूपैयाँ र निर्यात व्यापार ४ अर्ब रूपैयाँले घटेको हो।
लामो समयपछि गत वर्ष आयात घटेर आधार अंक कम भएको कारण सरकारले चालु वर्षमा २५ देखि ३० प्रतिशतको आयात बढ्ने आकलन गरेको थियो। तर, आठ महिनाको अवधिमा २.६६ प्रतिशतले कमी आएको छ।
आकलनको तुलनामा निकै कम आयात भएपछि बजारको माग बढ्न नसकेको र भन्सार छली बढेको हुन सक्ने आशंका सरकारी अधिकारीहरूको छ। भन्सार विभागको टोलीले विभिन्न १५ नाकामा भन्सार सिस्टम छलेर खुला सीमाबाट आयात भएको हुनसक्ने सामानको सूची नै तयार पारेको छ।
औपचारिक व्यापार गर्ने व्यापारीहरूले पनि चोरी पैठारी बढेको गुनासो गरिरहेका छन्।
अपेक्षित आयात नबढ्नुमा चोरी पैठारी कारण रहे पनि आयात घट्नुमा भने मूल्यमा आएको गिरावट प्रमुख कारण देखिएको छ। यसको लाभ उपभोक्ताको साथै सरकारको व्यापार सन्तुलन र मुद्रा सञ्चितिमा पुगेको छ।
सबभन्दा धेरै व्यापार हुने डिजेल, एलपी ग्यास, शुद्ध फलामको आयात परिमाणको आधारमा बढेको छ। तर, मूल्यका आधारमा भने यस्तो वस्तुको आयात निकै घटेको छ।
त्यस्तै, विद्युतीय सवारी साधनको आयात परिमाणको आधारको तुलनामा मूल्यको आधारमा निकै कम छ। सुनको मूल्यमा पनि गत वर्षको तुलनामा भारी गिरावट देखिन्छ।
वर्ष २०७९ को साउनदेखि फागुनसम्म आठ लाख २० हजार ७७० किलो लिटर डिजेल आयात भएको थियो। यो वर्ष आठ महिनामा २.७३ प्रतिशतले बढेर आठ लाख ४३ हजार १७० लिटर आयात भएको छ।
परिमाणमाको आधारमा बढे पनि मूल्यको आधारमा भने १० प्रतिशतले घटेको छ। यदि गत वर्षको मूल्यमा आयात भएको भए यो समयमा ९८ अर्ब ९८ करोडको डिजेल आयात भएको हुन्थ्यो।
मूल्यमा करिब १३ प्रतिशतको कमी आएको कारणले ८८ अर्ब ८८ करोड मूल्य बराबरको मात्रै डिजेल आयात भएको छ। गत वर्ष एक किलो लिटर (एक हजार लिटर) डिजेलको आयात मूल्य एक लाख २० हजार रहेको थियो। यो वर्ष एक लाख पाँच हजार मात्रै रहेको छ।
डिजेलपछि धेरै आयात हुने वस्तुमा पेट्रोल रहेको छ। पेट्रोलको गत वर्षको आयात मूल्य र यो वर्ष समान रहेको छ। पेट्रोलको आयात पनि गत वर्षभन्दा बढेको छ।
धेरै आयात हुने वस्तुको सूचीमा तेस्रो नम्बरमा एलपी ग्यास छ। मूल्यको आधारमा ग्यासको आयात गत वर्षको तुलनामा दुई अर्ब ८५ करोड रूपैयाँले घटेको छ। गत वर्ष आठ महिनामा ३८ अर्ब ७२ करोडको आयात भएको थियो।
यो वर्ष ३५ अर्ब ८७ करोडको आयात भएको छ।
तर, परिमाणको आधारमा ग्यासको आयात १.८ प्रतिशतले बढेको छ। गत वर्ष ३४ करोड आठ लाख ५९ हजार केजी ग्यास आयात भएको थियो। यो वर्ष बढेर ३४ करोड ७२ लाख ७९ हजार केजी रहेको छ। परिमाणको आधारमा ग्यासको आयात विगतको वर्षमा जस्तै रहेको छ। तर मूल्यमा करिब १० प्रतिशतले कमी आउँदा आयात ७ प्रतिशतले घटेको छ।
त्यस्तै, शुद्ध फलामको आयात पनि परिमाणको आधारमा गत वर्षभन्दा १७ प्रतिशतले बढेको छ। तर मूल्यको आधारमा भने तीन प्रतिशतले घटेको छ।
२०७९ को साउनदेखि फागुनसम्म ४६ करोड ३५ लाख केजी शुद्ध फलाम २६ अर्ब ७० करोड रूपैयाँमा आयात भएको थियो। यो वर्ष भने ५४ करोड १० लाख केजी फलाम २५ अर्ब ९१ करोड रूपैयाँमा आयात भएको छ। यस्तो फलामको आयात मूल्यमा २० प्रतिशतको कमी आएको छ।
यस्तै, सुनको आयात परिमाण र मूल्य दुवै हिसाबले घटेको छ। तर सुनको आयात मूल्य पनि गत वर्षको तुलनामा घटेको भन्सार तथ्यांकले देखाएको छ।
सुनको आयात परिमाणको आधारमा २० प्रतिशतले घट्दा मूल्यको आधारमा ५० प्रतिशतले घटेको छ।
गत वर्ष आठ महिनामा २६ लाख १२ हजार ७६१ ग्राम सुन ३५ अर्ब ८६ करोड रूपैयाँमा आयात भएको थियो। यो वर्ष २० लाख ७२ हजार ७०७ ग्राम सुन १७ अर्ब ५७ करोड रूपैयाँमा आयात भएको छ।
गत वर्ष आठ महिनामा औसत एक ग्राम सुनको आयात मूल्य लागत १३ हजार ७२५ रूपैयाँ परेको थियो। यो वर्ष भने मूल्यमा ३८ प्रतिशतले गिरावट आएर प्रतिग्राम औसत मूल्य ८ हजार ४७६ मात्रै रहेको छ।
विद्युतीय जिप, कार र भ्यान परिमाण र मूल्य दुवै हिसाबले बढेको छ। तर यी वस्तुको पनि आयात मूल्य गत वर्षको तुलनामा घटेको छ। गत वर्ष आठ महिनामा २२ सय १० वटा यस्ता सवारी ६ अर्ब १९ करोड ९२ लाख रूपैयाँमा आयात भएको थियो। एउटा सवारीको औसत मूल्य २८ लाख ३८ हजार रहेको थियो।
यो वर्ष भने ६६ सय २० वटा यस्ता सवारी साधन १६ अर्ब २४ करोड २२ लाख रूपैयाँमा आयात भएको छ। एउटा यस्तो सवारीको औसत मूल्य २४ लाख ५३ हजार परेको छ।
गत वर्ष आयात भएको एउटा विद्युतीय सवारी साधनको औसत मूल्यको तुलनामा यस वर्ष आयात भएको विद्युतीय सवारीको औसत मूल्य १३ प्रतिशतले कमी छ।