चालु आर्थिक वर्षमा सार्वजनिक वित्तमा केही सुधार देखिएको छ।
गत आर्थिक वर्षमा खर्च बढ्ने तर, आम्दानी घट्ने भएकाले सार्वजनिक वित्त असन्तुलन बढेको थियो। चालु वर्षमा भने विशेष गरी चालु खर्च घट्ने र राजस्वमा सुधार देखिएको कारण वित्त घाटा घटेको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (२०८० साउनदेखि फागुनसम्म)लाई गत आर्थिक वर्षको आठ महिनासँग तुलना गर्दा आम्दानी (सार्वजनिक ऋण बाहेक) ६.५९ प्रतिशतले बढेको छ। खर्च भने भने २.८६ प्रतिशत मात्रै बढेको छ।
खर्चतर्फ प्रशासनिक तथा प्रदेश र स्थानीय तहको वित्तीय हस्तान्तरणमा केन्द्रित चालु खर्च र संघीय सरकारको विकास खर्चमा केन्द्रित पुँजीगत खर्च घटेको छ।
सार्वजनिक ऋणको सावा भुक्तानी र सार्वजनिक संस्थानमा लगानी गर्न केन्द्रित वित्तीय व्यवस्थापन तर्फको खर्च बढेको छ।
चालु खर्च गत वर्षको आठ महिनाको तुलनामा २६ अर्ब ७३ करोड ४४ लाख रूपैयाँले घटेको छ। गत वर्ष यस्तो खर्च ६ खर्ब आठ अर्ब ८४ करोड रहेको थियो। यो वर्ष ४.३९ प्रतिशतले कमी आई पाँच खर्ब ८२ अर्ब १० करोड रूपैयाँ भएको छ।
सामान्यतया चालु खर्च घटेको हुँदैन। चालु वर्षमा भने पहिलो महिना देखिनै चालु खर्च गत वर्षको तुलनामा न्यून देखिन्छ। अर्थ मन्त्रालयको तथ्यांक अनुसार सामाजिक सुरक्षा अन्तर्गतको खर्च र कर्मचारीको तलब तथा भत्तामा हुने खर्च गत वर्षको भन्दा केही न्यून देखिएको छ।
पुँजीगत खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कम छ। गत वर्ष आठ महिनामा ८४ अर्ब २५ करोडको पुँजीगत खर्च भएको थियो। यो वर्ष ८१ अर्ब २१ करोड खर्च भएको छ।
पुस महिना यता भने पुँजीगत खर्चको रफ्तार बढेको देखिएको छ। म्याद सकिएका आयोजनाको म्याद थप प्रक्रिया अघि नबढेको र सरकारी भुक्तानीमा ढिलाइ हुँदा पुँजीगत खर्चमा समस्या देखिएको निर्माण व्यवसायीले बताएका थिए।
माघ महिनाबाट यो समस्याको हल भएको छ। पछिल्लो दुई महिनामा ३३ अर्ब पुँजीगत खर्च भएको छ।
वित्तीय व्यवस्थापन तर्फको खर्च भने उल्लेखनीय रूपमा बढेको छ। महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यस्तो खर्च ६० प्रतिशतले बढेको छ।
गत वर्ष आठ महिनामा ८६ अर्ब १२ करोड रूपैयाँको वित्त व्यवस्थापन खर्च भएको थियो। यो वर्ष भने एक खर्ब ३८ अर्ब २५ करोड रूपैयाँको भएको छ। सार्वजनिक संस्थाहरूमा गरेको लगानी गत वर्षको भन्दा न्यून भएपछि सावाँ भुक्तानी बढेकाले यस्तो खर्च बढी देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष ठूलो मात्रामा आन्तरिक ऋणको सावाँ भुक्तानी गरिएको छ।
आम्दानी तर्फ राजस्वमा करिब १० प्रतिशतको सुधार देखिएको छ। समीक्षा अवधिमा राजस्व ५६ अर्ब २७ करोड रूपैयाँले बढेको छ। गत वर्ष फागुनसम्म पाँच खर्ब ८२ अर्ब २७ करोड राजस्व उठेको थियो। यो वर्ष ६ खर्ब ३९ अर्ब चार करोड संकलन भएको छ।
अनुदान र बेरुजु असुलीबाट संकलन हुने (अन्य प्राप्तिको रकम) भने गत वर्ष भन्दा घटेको छ। गत वर्ष आठ महिनामा चार अर्ब ८० करोड अनुदान प्राप्ति भएको थियो। यो वर्ष भने दुई अर्ब ७५ करोड मात्रै छ। त्यस्तै अन्य प्राप्ति गत वर्ष ३५ अर्ब भएकोमा अहिले २२ अर्ब मात्रै छ।
समग्र आम्दानी वृद्धिदरको तुलनामा खर्चको वृद्धिदर कम भएपछि सार्वजनिक वित्त घाटा घटेको छ। सार्वजनिक ऋण बाहेकको आम्दानीको तुलनामा सरकारले गरेको खर्च बढी भयो भने त्यसलाई वित्त घाटामा देखाइन्छ। गत वर्ष फागुनसम्म वित्त घाटा एक खर्ब ५६ अर्ब ४४ करोड थियो। अहिले यस्तो घाटा एक खर्ब ३७ अर्बको छ।
पछिल्ला वर्षमा राजस्व पनि घाटामा देखिएको अवस्थामा यो वर्षको फागुनसम्म भने बचतमा देखिएको छ। सरकारले गर्ने चालु खर्चको तुलनामा संकलन भएको राजस्व बढी उठेमा बचतमा हुन्छ भने कम भएमा घाटामा हुन्छ।
फागुनसम्म राजस्व ५६ अर्ब ९३ करोड ६२ लाख रूपैयाँले बचत भएको छ।
गत वर्ष फागुनसम्म २६ अर्ब रूपैयाँले राजस्व घाटामा रहेको थियो। गत वर्ष असोज महिनाबाट नै राजस्व घाटामा देखिन थालेको थियो। यो वर्ष फागुनसम्म बचतमा रहेको छ।