यस वर्ष सरकारको समग्र राजस्व १० प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको फागुन २६ गतेसम्म पाँच खर्ब ६७ अर्ब रूपैयाँ राजस्व उठेको थियो। चालु वर्षको यसै अवधिमा ५९ अर्ब रूपैयाँ बढेर ६ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको छ।
यस वर्ष भन्सार महसुल बापतको करमा उल्लेख्य सुधार आउने, मूल्य अभिवृद्धि कर (भ्याट) मा सरकारी सुधारको प्रभाव देखिनुका साथै समग्र आर्थिक क्रियाकलापमा सुधार आई ४० प्रतिशत राजस्व बढाउने सरकारले लक्ष्य निर्धारण गरेको थियो।
अन्तशुल्क घट्दा, भन्सार महसुलमा सामान्य वृद्धि मात्र हुँदा र भ्याटमा अपेक्षित सुधार नदेखिए पनि आयकरमा भने सुधार देखिएको राजस्व तथ्यांकले देखाएको छ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार समग्र आयकरमा २० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ।
विभागका महानिर्देशक भूपाल बराल समग्र आयकर बढ्नुले आर्थिक क्रियाकलापमा सुधारको संकेत गर्ने बताउँछन्।
'अपेक्षित रूपमा कुनै क्षेत्रमा पनि कर उठेको छैन तर आयकरमा देखिएको सुधारले समग्र आम्दानी बढेको संकेत गर्छ,' उनले भने।
आयकरमध्ये कर्पोरेट आयकरमा उल्लेख्य सुधार भएको छ। कर्पोरेट आयकर मात्रै २७ प्रतिशतले बढेको छ। कर्पोरेट आयकरअन्तर्गत सरकारी संस्थान, पब्लिक लिमिटेड कम्पनी, प्राइभेट लिमिटेड कम्पनी, आकस्मिक लाभमा लाग्ने कर र अन्य संस्थाको मुनाफामा लाग्ने कर पर्छन्।
पब्लिक लिमिटेड कम्पनी र ५० प्रतिशतभन्दा कम सरकारी लगानी भएका कम्पनीले माघ मसान्तसम्म ४१ अर्ब सात करोड २० लाख रूपैयाँ आयकर बुझाएका छन्। गत वर्ष यही अवधिमा २५ अर्ब तीन करोड ३९ लाख रूपैयाँ आयकर बुझाएका थिए। सोही हिसाबले पब्लिक लिमिटेड कम्पनीहरूको आयकर ६४ प्रतिशतले वृद्धि भएको हो।
समग्रमा यस्ता कम्पनीको आम्दानी बढेको राजस्व अधिकारीहरूको बुझाइ छ।
मुख्य आधार भने विगतदेखि नै विवादमा रहेको र निर्धारण नभएको बार्गेन पर्चेज र एफपिओको लाभमा लगाइएको कर हो। यस्तो कर करिब साढे १३ अर्ब रूपैयाँ संकलन भएको छ।
यस वर्ष सरकारले यस्ता लाभबाट बुझाउनुपर्ने करमा जरिवाना र ब्याज मिनाहाको प्रावधान लिएर यस्ता करमा सहभागी हुन प्रोत्साहन गर्ने नीति बनाएको थियो। बार्गेन पर्चेज बाहेक पनि पब्लिक कम्पनी लिमिटेडको आयकर करिब तीन अर्ब रूपैयाँ बढेको छ।
सरकारी संस्थान (सरकारको पूर्ण र अधिकांश स्वामित्व भएका निकाय) ले बुझाउने आयकर भने सामान्य मात्रै बढेको छ। गत वर्ष माघ महिनासम्म चार अर्ब २८ करोड रूपैयाँ कर संकलन भएको थियो। यस वर्ष चार अर्ब ४० करोड संकलन भएको छ।
कर्पोरेट आयकर अन्तर्गत पब्लिक लिमिटेड कम्पनीपछि ठूलो योगदान प्राइभेट लिमिटेड कम्पनीको छ।
माघ मसान्तसम्म यस्ता कम्पनीले १८ अर्ब ५६ करोड ६७ लाख रूपैयाँ आयकर बुझाएका छन्। अन्य कम्पनीले भने सात अर्ब ७४ करोड रूपैयाँ कर बुझाएका छन्।
समग्रमा गत वर्ष माघ महिनासम्म ५६ अर्ब ५३ करोड रूपैयाँ कर्पोरेट आयकर संकलन भएको थियो। चालु वर्ष २७ प्रतिशतले बढेर ७१ अर्ब ८० करोड रूपैयाँ संकलन भएको छ।
व्यक्तिगत आयकर नौ प्रतिशत बढेको छ। गत वर्ष माघ मसान्तसम्म ४५ अर्ब ३४ करोड रूपैयाँ व्यक्तिगत आयकर उठेको थियो। चालु आर्थिक वर्ष ४९ अर्ब २६ करोड ८ लाख रूपैयाँ कर उठिसकेको छ।
यसमध्ये एकलौटी फर्म तथा व्यक्तिगत आम्दानीमा लाग्ने कर ५.२३ प्रतिशतले बढेको छ। गत वर्ष माघ महिनासम्म यस्तो कर १४ अर्ब ८८ करोड रूपैयाँ संकलन भएको थियो। यो वर्ष १५ अर्ब ६५ करोड रूपैयाँ संकलन भएको हो।
पारिश्रमिक करमा पनि सामान्य वृद्धि भएको छ। गत वर्ष माघसम्म १८ अर्ब ४० करोड रूपैयाँ पारिश्रमिक कर संकलन भएको थियो। यस वर्ष १८ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ।
घर, जग्गा, सेयरलगायत सम्पत्ति बिक्री तथा हक हस्तान्तरणबाट हुने आय (पुँजीगत लाभकर व्यक्तिगततर्फ) ३६ प्रतिशतले बढेको छ। सात महिनाको अवधिमा यस्तो कर १० अर्ब २२ करोड संकलन भएको छ।
लगानी आयअन्तर्गत सम्पत्ति, बहाल तथा पट्टाबापत लाग्ने करमा घटेको छ। यस्तो कर गत वर्ष माघसम्म १४ अर्ब ९२ करोड रूपैयाँ उठेको थियो। यो वर्ष १३ अर्ब ७२ करोड मात्रै उठेको छ। यो शीर्षकमा घरजग्गा भाडा/लिजमा दिएर प्राप्त गरेको आयमा लाग्ने कर र सवारी साधन तथा अन्य चल/अचल सम्पत्ति भाडामा दिएर हुने आयमा लाग्ने कर पर्छ।
ब्याज आम्दानीको आधारमा बुझाउने करमा पनि निकै सुधार आएको छ। गत वर्ष माघ महिनासम्म सरकारले ब्याज आम्दानीबाट २२ अर्ब ४० करोड रूपैयाँ कर संकलन गरेको थियो। यस वर्ष करिब १५ प्रतिशत बढेर २५ अर्ब ७३ करोड संकलन भएको छ।
संस्थागत पुँजीगत लाभकर (कम्पनीहरूले तिर्ने) ६७ प्रतिशत बढेको छ। यस शीर्षकमा गत वर्ष ४६ करोड आय भए पनि यस वर्ष ७८ करोड संकलन भएको छ। लाभांशमा लाग्ने कर भने यो वर्ष ७ प्रतिशतले घटेर चार अर्ब तीन करोड रूपैयाँ संकलन भएको छ।
आन्तरिक राजस्व विभागका उप-महानिर्देशक अर्जुन भट्टराईले आर्थिक क्रियाकलापमा क्रमशः सुधार आएको र आगामी दिनमा राजस्व थप बढ्ने संकेत देखिएको बताए।