नेपाली चिया र कफीको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ।
चालु वर्षको सात महिनाको अवधिमा नेपालबाट निर्यात भएको चियाको औसत मूल्य प्रतिकेजी २५२ रूपैयाँ पुगेको छ। यो मूल्य गत वर्षकोभन्दा १७ प्रतिशतले बढी हो। गत वर्ष प्रतिकेजी औसत २१५ रूपैयाँमा निर्यात भएको थियो।
त्यस्तै, कफीको मूल्य पनि सामान्य रूपमा बढेको छ। गत वर्ष औसत मूल्य प्रतिकेजी एक हजार ५२६ रूपैयाँ रहेको थियो। यो वर्ष औसत प्रतिकेजी निर्यात मूल्य एक हजार ५५६ रूपैयाँ पुगेको छ। कफीको मूल्य दुई प्रतिशतले मात्रै बढेको हो।
चियाको मूल्य १७ प्रतिशतले र कफीको मूल्य दुई प्रतिशतले बढे पनि समग्र निर्यात भने घटेको छ।
नेपाल चिया उत्पादक संघका उपाध्यक्ष तथा स्टार चियाका सञ्चालक शिवकुमार गुप्ताका अनुसार यो वर्ष नेपाली बजारमा माग बढेको र उत्पादन सामान्य घटेको कारण निर्यातमा कमी आएको हो।
'लागत मूल्यको हिसाबले चियाले बजार पाएको छैन' गुप्ताले भने, 'यो वर्षमा उत्पादन केही घट्यो तर आन्तरिक माग उल्लेखनीय बढेको कारण निर्यातमा प्रभाव परेको हो।'
उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग भने बढे पनि अहिले निर्यात गर्न नसकिएको बताए।
गत वर्षको माघ महिनासम्मको तुलनामा चियाको निर्यात २७ प्रतिशतले घटेको छ। त्यस्तै कफीको निर्यात ३१ प्रतिशतले घटेको छ।
गत वर्षको साउनदेखि माघ महिनासम्म एक करोड २५ लाख ६४ केजी चिया निर्यात भएको थियो। यो वर्ष भने ९२ लाख ५० हजार केजी निर्यात भएको छ।
त्यस्तै, कफी २१ हजार ६४९ केजी निर्यात भएकोमा अहिले १४ हजार ९२९ केजी मात्रै भएको छ।
यसैगरी, यो वर्ष चियाको निर्यात मूल्य १६ प्रतिशतले घटेको छ। गत वर्ष सात महिनामा दुई अर्ब ७१ करोड रूपैयाँको निर्यात भएको थियो। यो वर्ष दुई अर्ब ३५ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
कफीको निर्यात भने २९ प्रतिशतले घटेको छ। गत वर्ष तीन करोड ३० लाख रूपैयाँ बराबरको भएकोमा यो वर्ष दुई करोड ३५ लाख रूपैयाँ बराबरको पुगेको छ।
नेपाली चिया विश्वका ३४ वटा देशमा निर्यात भएको छ। अधिकांश चिया भने भारतीय बजारमा बिक्री हुने गरेको छ।
कुल दुई अर्ब ३५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएकोमा एक अर्ब ९८ करोड रूपैयाँ बराबरको भारतमा मात्रै बिक्री भएको छ।
नौ करोड ८३ लाख रूपैयाँको जर्मनी, तीन करोड ३९ लाख रूपैयाँको अमेरिका, तीन करोड ३० लाख रूपैयाँको फ्रान्स र तीन करोड २१ लाख रूपैयाँको जापनमा निर्यात भएको छ।
यस बाहेक सामान्य रूपमा अस्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन लगायतका देशहरूमा पनि निर्यात भएको छ।
नेपाली कफी भने विश्वका १८ वटा देशमा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। छिमेकी देश भारतमा भने कफी निर्यात भएको छैन।
सबभन्दा धेरै जापानमा एक करोड रूपैयाँ बराबर, नेदरल्यान्डमा ५४ लाख रूपैयाँ बराबर, अमेरिकामा १९ लाख रूपैयाँ बराबरको भएको छ।