विगतका वर्षहरूमा १५ देखि २० प्रतिशतले बढ्दै आएको आयात व्यापार गत वर्षदेखि घट्दो क्रममा छ। चालु वर्षको माघ महिनासम्म आयात व्यापार २.३१ प्रतिशत घटेको छ।
गत वर्ष पनि समग्र आयात व्यापार घटेकोमा सरकारले चालु वर्षमा २५ देखि ३० प्रतिशतसम्म बढ्ने अपेक्षा राखेको थियो। सोही अनुसार गत वर्षको भन्दा ४० प्रतिशत बढी भन्सार राजस्व उठाउने लक्ष्य भन्सार विभागलाई दिइएको छ।
केही वस्तुहरूको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट खारेज गरिएको कारण समग्र भन्सार राजस्व बढे पनि आयात अस्वाभाविक घटेको अर्थका अधिकारीहरूको बुझाइ छ।
अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा अपेक्षित राजस्व नउठ्नुमा अवैध आयात नियन्त्रण हुन नसक्नु पनि भएको बताएका छन्।
उनले खुला सीमा नाकाका कारण चुहावट नियन्त्रणमा कठिनाइ भएकोले अन्तरनिकाय समन्वय र सहजीकरण प्रभावकारी हुन नसकेको बताए।
अर्थमन्त्री प्रकाशशरण महतले भन्सार नाका आसपासबाट हुने चोरी पैठारीलाई नियन्त्रण गर्नको लागि सरोकारवालाहरूलाई निर्देशन दिएका छन्। उनले पनि अहिले भइरहेको आयात स्वाभाविक नभएको बताएका छन्।
भन्सार विभागको केही तथ्यांकले पनि अवैध आयात बढेको देखाउँछ। विभागले गत वर्ष माघ महिनासम्म चोरी पैठारी निकासी अभियोगमा दुई हजार पाँच सय जनालाई मुद्दा दर्ता गराएको थियो। यो वर्ष भने सात हजार चार सय जनालाई मुद्दा दर्ता गराएको छ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाका अनुसार चोरी हुन सक्ने वस्तुहरूको सूची तयार गरेर अहिले काम गरिएको बताए।
'कतिपय भन्सार प्रक्रिया छलेर एउटा सामान भनेर अर्को लिएर पनि छली हुन सक्ने भयो, कतिपय भन्सार खुला सीमाको लाभ उठाएर चोरी भएको हुन सक्ने भए,' भन्सार विभागका अर्का एक अधिकारीले भने, 'हामीले त्यहाँको भन्सार प्रशासन स्थानीय व्यापारी तथा सरोकारवालाहरूसँग समेत छलफल गरेर छली भएका र हुन सक्ने सामानहरूको सूची तयार पारेका छौं।'
मेची भन्सार र भन्सार नाका आसपासबाट किराना सामानहरू, कपडा, जुत्ता–चप्पलको सामानलाई जोखिमको सूचीमा राखिएको छ। यसले यस्ता वस्तुको अवैध आयात भएको छ भन्सार छली गरेर छुट्ने जोखिम देखिएको छ भन्ने बुझिन्छ।
गौरीगञ्ज भन्सार आसपासबाट मेसिनरी पार्ट्स, पानी तान्ने मोटर र मलखादको अवैध आयात गरिएको आशंका गरिएको छ।
भद्रपुर भन्सार नाका आसपासबाट हरियो तरकारी, किटनाशक विषादीहरू, मानवीय सेवनका औषधिहरू, सुर्तीको अवैध आयात बढेको आशंका गरिएको छ।
विराटनगर भन्सार नाका आसपासबाट कपडा, चिनी, चकलेट, बिस्कुट, पास्ता, आलु–प्याज, सुर्ती, मैदा, माछाहरूको अवैध आयात भएको आशंका गरिएको छ।
जलेश्वर भन्सार नाका आसपासबाट कपडा, जुत्ता–चप्पल, साइकल, टायल्स ओसारपसार, हार्डवेयरका सामानको भन्सार छली भएको विभागको बुझाइ छ।
सुनसरी भन्सार नाका आसपासबाट चिनी, सुर्ती/खैनी, लत्ताकपडा त्यस्तै सिराहा भन्सार नाका आसपासबाट रेडिमेड कपडा, इलेक्ट्रिक पार्ट्स, मोटर पार्ट्स, खाद्यान्न, आलु–प्याज, फलफूलको अवैध आयात भएको भन्सार विवरणमा उल्लेख गरिएको छ।
गौर भन्सार कार्यालय आसपासबाट चामल, मैदा, लुगा धुने सर्फ, लत्ताकपडा तथा तयारी पोसाक, हार्डवेयर सामान, इलेक्ट्रिक सामान, जुत्ता–चप्पल, चिनी, मलखाद तथा केमिकल फर्टिलाइजर, डेरीका उत्पादन र राँगाभैंसीको आयातमा भन्सार छली भएको आशंका गरिएको छ।
सर्लाही भन्सार नाका कार्यालमा खाद्यान्न, लत्ताकपडा, मलखाद, कष्टमेटिक सामानहरूलाई जोखिममा राखिएको छ।
वीरगञ्ज भन्सार कार्यालयबाट लत्ताकपडा, मोटरपार्ट्स, इलेक्ट्रिक सामानहरू, खाद्यान्न, जुत्ता–चप्पल, किराना सामानहरू भन्सार छलेर आयात भएको आंशका गरिएको छ।
महेशपुर भन्सार नाका आसपासबाट चिनी, कपडा, मलखाद र कृष्णनगर भन्सार नाका आसपासबाट चिनी, लत्ताकपडा, बच्चाबच्चीको खेलौना, खाद्यान्न अवैध आयात धेरै भएको हुन सक्ने आशंका गरिएको छ।
भैरहवा भन्सार नाका आसपासबाट लत्ताकपडा, जुत्ता–चप्पल, खाद्यान्न, चिनी, चकलेट, बिस्कुट, कुर्मुरे, कुर्कुरे जस्ता सामानको अवैध आयात भएको हुन सक्ने उल्लेख गरिएको छ।
नेपालगञ्ज भन्सार नाकाबाट चिनी, चामल, लत्ताकपडा, तरकारीहरू, गहुँ र कैलाली भन्सार नाका आसपासबाट चिनी, लत्ताकपडा र कञ्चनपुर भन्सार नाका आसपासबाट चिनी, मिस्री, गुँड (भेली), कपडा, दाल, खाने तेल, मोटर पार्ट्स अवैध आयात भएको हुन सक्ने सूचीमा राखिएको छ।
भन्सार विभागका महानिर्देशक पौडेलले अवैध आयातलाई कम गर्नका लागि भन्सार प्रशासन अन्य निकायहरूसँगको समन्वयनमा काम गरिरहेको बताए।