चालु आर्थिक वर्षको सात महिनासम्म पनि नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा ह्रास आएको छ। हरेक वर्ष १५ देखि २० प्रतिशतसम्मले बढेको व्यापार गत आर्थिक वर्षदेखि घट्दो क्रममा छ।
सात महिनामा समग्र व्यापार २.५४ प्रतिशतले घटेको छ। जसमा आयात २.३१ प्रतिशतले घट्दा निर्यात भने ७.०७ प्रतिशतले घटेको छ।
यस हिसाबले आयातको तुलनामा निर्यात धेरै घटेको देखिन्छ। तर, विगतमा आयात गरेर सामान्य मूल्य अभिवृद्धि गरी विदेश पठाउने वनस्पति तेलजन्य सामग्री बाहेकको निर्यात हेर्ने हो भने यो वर्ष उल्लेख्य बढेको छ।
गत वर्ष सात महिनामा २२ अर्ब ४४ करोड रूपैयाँले निर्यात भएको वनस्पति तेलमा अहिले ८१ प्रतिशतले गिरावट आएको छ। यसको असर समग्र निर्यातमा देखिए पनि यी बाहेकका धेरै वस्तुको निर्यात बढेको छ।
धेरै वस्तुको निर्यात बढ्ने र आयात घट्ने पनि भएको छ।
अन्तर्राष्ट्रिय व्यापारको लागि विभिन्न वस्तुलाई ९६ भागमा विभाजन गरिएकोमा २५ वटा भागमा विभाजन गरिएका वस्तुको आयात निकै घटेको छ। तर, निर्यात उल्लेखनीय बढेको छ।
गत वर्षको सात महिनाको तथ्यांकसँग यो वर्षको सात महिनाको तथ्यांक हेर्दा यी २५ भागमा केन्द्रित वस्तुहरूको निर्यात ६७ प्रतिशत अर्थात् १३ अर्ब ३१ करोड ४५ लाख रूपैयाँले बढेको छ। गत वर्ष २० अर्ब ९८ करोड ९७ लाख रूपैयाँको यस्ता वस्तुको निर्यात थियो। यो वर्ष भने ३४ अर्ब २९ करोड ८३ लाख रूपैयाँको निर्यात छ।
यी नै वस्तुको आयात भने ३१ अर्ब १३ करोड ६ लाख रूपैयाँले घटेको छ। यो अवधिमा गत वर्ष यस्ता वस्तुको आयात चार खर्ब ६३ अर्ब ८६ करोड ३४ लाख रूपैयाँको भएको थियो। यो वर्ष भने चार खर्ब ३२ अर्ब ७३ करोड २८ लाख रूपैयाँको भएको छ।
निर्यात बढ्ने तर आयात घट्ने वस्तुमा सबभन्दा ठूलो योगदान फलाम तथा स्पात र यसबाट बन्ने सामग्रीको छ। यस्ता वस्तुको निर्यात चार अर्ब ३० करोड २० लाख रूपैयाँ बराबरको बढेको छ। आयात भने ४७ करोड पाँच लाख रूपैयाँले घटेको छ।
गत वर्ष ७६ अर्ब ५९ करोड ६१ लाख रूपैयाँको आयात भएर सात अर्ब ४९ लाख रूपैयाँको निर्यात भएको थियो। यस वर्ष ७६ अर्ब १२ करोड ५९ लाखको आयात भएर ११ अर्ब ३० करोड ६९ लाखको निर्यात भएको छ।
चालु वर्षको फलाम स्पातको निर्यातमा सबभन्दा बढी जस्तापाताको हिस्सा रहेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा सात अर्ब रूपैयाँ बराबरको जस्तापाता निर्यात भएको छ।
जस्तापाता, जिआई पाइप, किचन सामग्री लगायतका आइरन र स्टिलमा केन्द्रित सामान नेपालबाट भारत निर्यात हुने गरेका छन्।
फलाम स्पात नेपालले मुख्यतः भारतबाट नै आयात गर्ने गर्छ। यसबाट बन्ने सामग्री भने नेपाली बजारका साथै भारतीय बजारमा बिक्री भएको छ।
आयात घट्नु र निर्यात बढ्नुले नेपालमा यस्ता सामग्रीको मागमा कमी आएको तथा नेपाली उद्योगले मूल्य अभिवृद्धि बढाएको संकेत गर्छ।
चम्चा, काटा, चक्कु लगायतका आधारभूत घरायसी औजारहरूको निर्यात उल्लेखनीय बढेको छ। तर, आयात भने घटेको छ।
गत वर्ष यो अवधिमा यस्ता सामानको निर्यात एक करोड तीन लाख रूपैयाँको मात्रै भएको थियो। यो वर्ष भने एक अर्ब २२ करोड २८ लाख रूपैयाँले बढेर एक अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको भएको छ।
आयात भने गत वर्ष दुई अर्ब ६० करोडको भएकोमा यो वर्ष दुई अर्ब ३८ करोड रूपैयाँ बराबरको भएको छ। काठ र काठबाट बनेका सामानको पनि निर्यात बढेको छ आयात भने घटेको छ।
यी सामानको निर्यात गत वर्षको तुलनामा दुई अर्ब २५ करोड ८४ लाख रूपैयाँले बढेको छ। गत वर्ष दुई अर्ब ३० करोड २० लाख रूपैयाँका यी सामग्री अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको थियो।
यो वर्ष चार अर्ब ५६ करोड १२ लाख रूपैयाँ बराबरको बिक्री भएको छ। यस्ता सामग्रीको निर्यात बढ्नुमा सबैभन्दा ठूलो योगदान प्लाइउडको रहेको छ। प्लाइउडको निर्यात चार अर्ब बराबरको भएको थियो।
आयात भने १८ करोड १० लाख रूपैयाँले घटेको छ। गत वर्ष तीन अर्ब २६ करोडको आयात भएकोमा यो वर्ष तीन अर्ब आठ करोड बराबरको भएको छ।
सिमेन्ट, प्लाष्टर गर्ने पदार्थ तथा माटो ढुंगा केन्द्रित वस्तुहरूको निर्यात पनि उल्लेखनीय बढेको छ। आयात घटेको छ।
गत वर्ष १९ करोड ९६ लाख रूपैयाँ बराबरको मात्रै निर्यात भएकोमा यो वर्ष दुई अर्ब ११ करोड ५५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ। यस्ता सामानमध्ये सबभन्दा बढी निर्यात सिमेन्ट तथा क्लिङ्करको दुई अर्ब ६ करोड बराबरको भएको हो।
सबभन्दा धेरै आयात घटेर पनि सामान्य निर्यात बढ्नेमा खनिज इन्धन र त्यससँग केन्द्रित सामान रहेका छन्। खनिज इन्धनभित्र डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन लगायतका वस्तु तथा पदार्थहरू पर्छन्। यस्ता सामानको आयात गत वर्षको तुलनामा १० अर्ब दुई करोड ४७ लाख रूपैयाँले घटेको छ।
नेपालमा आयात हुने सामानहरूमा सबभन्दा धेरै हिस्सा खनिज इन्धनको रहेको छ। यो वर्ष सात महिनामा एक खर्ब ८४ अर्ब ९३ करोड ८७ लाख रूपैयाँ बराबरको भएको छ। गत वर्ष यही समयमा एक खर्ब ९४ अर्ब ९६ करोड रूपैयाँ बराबरको आयात भएको थियो।
निर्यात भने गत वर्ष भएको थिएन। यो वर्ष करिब १३ लाख रूपैयाँ बराबरको छ। यो वर्षमा पाँच हजार ७६० लिटर लुब्रिकेटिङ आयल भारत निर्यात भएको छ।
धेरै आयात घट्नेमा खाद्यान्न पनि रहेको छ। खाद्यान्नको आयात ६ अर्ब ४६ करोड ६८ लाख रूपैयाँले घटेको छ।
विशेष गरी भारतले मसिनो चामल र धानमा परिमाणात्मक बन्देज लगाएको कारणले आयात हुन सकेको छैन। समग्र खाद्यान्नको आयात गत वर्ष ३४ अर्ब ६७ करोड रूपैयाँको भएको थियो। यो वर्ष २८ अर्ब २१ करोड रूपैयाँ बराबरको भएको छ।
खाद्यान्नको निर्यात नगन्य भए पनि बढेको छ। गत वर्ष ३८ लाखको निर्यात भएकोमा यो वर्ष ६८ लाखको भएको छ।
अन्न, पिठो र दूधका परिकारका साथै मिठाइहरूको पनि आयात घटेको छ। तर निर्यात भने बढेको छ। यस्ता वस्तुहरूको आयात पाँच करोड ३३ लाख रूपैयाँले घट्दा निर्यात १४ करोड ७७ लाख रूपैयाँले बढेको छ।
खाद्य परिकारहरूको पनि आयात १२ करोड ७७ लाख रूपैयाँले घटेको छ। तर, निर्यात १३ करोड २५ लाख रूपैयाँले बढेको छ।
प्लाष्टिक तथा प्लाष्टिकका सामानको निर्यात ३० करोड २३ लाखले बढेको छ। आयत भने दुई अर्ब १९ करोड १८ लाख रूपैयाँले घटेको छ।
५६ करोड ७९ लाख रूपैयाँले तेलहन तथा तेल आउने प्रकारका फलफूल, त्यसका दाना र औषधि तथा उद्योगमा प्रयोग हुने सामग्रीको निर्यात बढेको छ। आयत भने एक अर्ब ४३ करोड ३६ लाख रूपैयाँले घटेको छ।
तयारी औषधि तथा औषधिका उत्पादनहरूको आयात एक अर्ब सात करोड ३७ लाख रूपैयाँले घटेको छ। तर, निर्यात भने करिब ७६ लाख रूपैयाँ बराबरको बढेको छ। यसले औषधिको उत्पादन नेपालभित्र बढेको संकेत गर्छ।
पेन्टिङ, रङलगायतका सामग्रीको पनि आयात ८४ करोड बढीले घटेको छ। निर्यात भने पाँच करोड ९ लाख रूपैयाँ बढीले बढेको छ। यसले पनि देशमा निर्माणसँग सम्बन्धित कामहरू सुस्त भएको संकेत गर्दछ।
सिसा र यसबाट बन्ने वस्तुहरूको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष यस्ता वस्तुको निर्यात ५४ करोड २४ लाख रूपैयाँको भएकोमा यो वर्ष ७७ करोड १२ लाख रूपैयाँ बराबरको भएको छ।
तर, आयात भने यो वर्ष ८ करोड ७२ लाख रूपैयाँ बराबरको भएको छ। गत वर्ष आठ करोड ८९ लाख रूपैयाँ बराबर भएको थियो।
खानाको लागि र अन्य प्रयोजनमा प्रयोग गरिने मासुको पनि निर्यात बढेको छ। आयात भने केही घटेको छ। निर्यातका तुलनामा यस्तो मासुको आयात नगन्य रहेको छ।
यो वर्ष एक करोड ८८ लाख रूपैयाँको यस्तो मासु निर्यात भएकोमा आयात भने ३९ लाख रूपैयाँ बराबरको भएको छ।
जीवित जनावर, खान हुने वनस्पति र त्यसका जराहरू, वनस्पतिका बुन्ने तथा बाटिने उत्पादनको पनि आयात घटेको छ। निर्यात बढेको छ।
मुख्यगरी निर्माण र खाद्यान्नसँग सम्बन्धित वस्तु तथा त्यसका उत्पादनको आयात घटेको र निर्यात बढेको देखाएको छ।