प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ।
यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य काम लगायतका आधारमा गरिएको हो। यो मूल्यांकन वर्तमान स्थानीय तहका जनप्रतिनिधि मात्रै नभइ, अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामको आधारमा पनि भएको हो।
आयोगले सार्वजनिक गरेको मूल्यांकनमा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले सबभन्दा धेरै ६१.८१ अंक प्राप्त गरेको छ।
दोस्रोमा चितवनको भरतपुर नगरपालिकाले ५६.२९ अंक प्राप्त गरेको छ।
तेस्रोमा गुल्मीको मालिका गाउँपालिकाले ५५.४० अंक प्राप्त गरेको छ।
सबभन्दा कम अंक प्राप्त गर्ने सर्लाहीको हरिपूर्वा नगरपालिका छ। यसले जम्मा ५.९९ अंक पाएको छ। त्यस्तै पर्साको कालिकामाइ गाउँपालिकाले ८.५४ र बाराको सिम्रौनगढ गाउँपालिकाले १०.०१ अंक पाएका छन्।
महानगरपालिकाहरूतर्फ भरतपुर दोस्रो हुँदा काठमाडौं ३९.०७ अंकका साथ १२८ औं नम्बरमा छ। वीरगञ्ज ३३.४९ अंकका साथ २६२ औं स्थानमा छ। विराटनगरले ३२.८५ अंक पाएर २८० औं स्थानमा परेको छ। त्यस्तै ललितपुर २५.१८ अंकका साथ ५०७ औं र पोखरा २०. ७४ अंकका साथ ६३६ औं स्थानमा छ।
भरतपुरको तुलनामा अरू महानगरपालिकाले किन कम नम्बर पाए?
‘हामीले मूल्यांकन विधि बनाएका छौं, त्यसै आधारमा अंक बाँडफाँट गरिएको हो। ऐनअनुसार तोकिएको समयमा काम गर्ने, बेरूजु कम गर्ने, सामाजिक सूचकहरूमा काम गर्न सकेको आधारमा अंक दिइन्छ,’ आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले सेतोपाटीसँग भने, ‘आयोगले दिएको अंकको आधारमा कुन निकाय कुन सूचकमा अब्बल छ भनेर देखिन्छ।’
यो मूल्यांकनमा स्थानीय तहहरूको कामको आधारमा कुल ७६ अंक भार दिइएको प्राकृतिक स्रोत तथा वित्त आयोगले बताएको छ। यसको पूर्णांक १०० हो। तर आधिकारिक तथ्यांक प्राप्त नभएको र आयोगले भनेअनुसार केही काम नभएकाले १७ मध्ये १४ सूचकका आधारमा यो नम्बर दिइएको हो।
सबैभन्दा बढी सूचक सात र सूचक आठमा १५/१५ अंक भार छ। सूचक सातमा आर्थिक वर्ष २०७९/८० को विनियोजित रकम अनुसार खर्चको अवस्था हेरिएको छ। आठमा लेखा परीक्षणले औंल्याएको बेरूजुको अवस्था हेरिएको छ।
सूचक ७ मा कुनै पनि महानगरपालिकाले अंक पाएका छैनन्। यसको अर्थ कुनै पनि महानगरपालिकाले औसत खर्च गर्न नसकेका हुन्। आयोगका अधिकारीहरूका अनुसार विनियोजित बजेटको आधारमा औसत खर्च र विनियोजित पुँजीगत खर्चको आधारमा औसत खर्च निकालिन्छ। औसतभन्दा कम प्रतिशत खर्च गरेको छ भने त्यस्ता पालिकालाई नम्बर दिइँदैन। औसतभन्दा धेरै खर्च भएको भए खर्चकै आधारमा क्रमशः नम्बर दिइन्छ।
सूचक ८ मा भने भरतपुरले १४.५३ अंक र वीरगञ्जले ४.९५ अंक पाएका छन्। अरू महानगरले भने अंक पाएकै छैनन्।
यो अंकमा पनि सबै पालिकाको बजेट तथा कार्यक्रमको आधारमा औसत बेरूजु निकालिन्छ। औसतभन्दा धेरै बेरूजु भए नम्बर दिइँदैन। कम आए सोही आधारमा क्रमशः अंक दिइन्छ।
यो मूल्यांकनले भरतपुर र वीरगञ्जबाहेक अन्य महानगरको बेरूजु औसतभन्दा धेरै देखाएको छ।
७६ मध्ये ३० अंकको भारमा चार महानगरले एक अंक पनि पाउन नसकेपछि कार्यसम्पादन मूल्यांकनमा पछि परेको देखिन्छ।
यसबाहेक ललितपुर र पोखराले असार मसान्तभित्र बजेट पास नगरेकाले ५/५ अंक गुमाएका छन्।
त्यस्तै ललितपुर, पोखरा र वीरगञ्जले २०८१/८२ को आय-व्ययको प्रक्षेपण तथ्यांकसहितको विवरण समयभित्र अर्थ मन्त्रालयमा पेस नगर्दा र अर्को ५/५ अंक गुमाएका छन्।
भरतपुर बाहेक सबै महानगरले २०७९/८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षासम्बन्धी विवरण समयमा सार्वजनिक नगरेको आधारमा अर्को ५/५ अंक गुमाएका छन्।
ललितपुर र पोखराले अद्यावधिक योजना तर्जुमा नगर्दा अर्को ३/३ अंक गुमाएका छन्।
यही कार्यसम्पादन मूल्यांकनको आधार पनि हेरेर आयोगले आगामी वर्षका लागि समानीकरण अनुदान सिफारिस गर्छ। उत्कृष्ट हुनुको अर्थ समानीकरण अनुदान धेरै पाउने एउटा आधार हो।
'हामीले कार्यसम्पादन मूल्यांकन, जनसंख्या तथा भूगोलका आधारमा न्यूनतम खर्च र खर्चको आवश्यकताका आधारमा समानीकरण अनुदान सिफारिस गर्छौं। मूल्यांकनले स्थानीय तहहरूबीच स्वच्छ प्रतिस्पर्धा गर्न सहयोग पुर्याउँछ,' आयोगका अध्यक्ष पौडेलले सेतोपाटीसँग भने।
यी हुन् कार्यसम्पादन मूल्यांकन सबैभन्दा धेरै अंक प्राप्त गर्ने?
सबैभन्दा धेरै अंक प्राप्त गर्ने स्थानीय तह |
स्थानीय तह | प्राप्त अंक |
सन्धिकखर्क नगरपालिका, अर्घखाँची | ६१.८१ |
भरतपुर महानगरपालिका | ५६.२९ |
मालिकाका गाउँपालिका, गुल्मी | ५५.४० |
मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक | ५३.८४ |
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक | ५३.७६ |
चन्द्रकोट गाउँपालिका, गुल्मी | ५२.५७ |
छत्रदेव गाउँपालिका, अर्घाखाँची | ५०.४४ |
रेसुङ्गा नगरपालिका, गुल्मी | ५०.०३ |
पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक | ४९.३६ |
सारूमारानी गाउँपालिका, प्युठान | ४९.१९ |
सबैभन्दा कम अंक प्राप्त गर्ने स्थानीय तह |
हरिपुर्वा नगरपालिका, सर्लाही | ५.९९ |
कालिकामाइ गाउँपालिका, पर्सा | ८.५४ |
सिम्रुनगढ नगरपालिका, बारा | १०.०१ |
क्षिरेश्वरनाथ नगरपालिका, धनुषा | १०.२२ |
सभापोखरी गाउँपालिका, संखुवासभा | १०.३० |
माधव नारायण नगरपालिका, रौतहट | १०.३१ |
भगवानपुर गाउँपालिका, सिराहा | १०.६८ |
राजविराज नगरपालिका, सप्तरी | १०.७४ |
बुलिङ्टार गाउँपालिका, नवलपरासी | १०.७७ |
मिथिला नगरपालिका, धनुषा | ११.२७ |