चालु वर्षको सात महिनामा भएको निर्यातमा १० वटा वस्तुको योगदान ५३ प्रतिशत बढी देखिएको छ।
२०८० साउन महिनादेखि माघ महिनासम्ममा ८७ अर्ब रूपैयाँ बराबरको वस्तु नेपाली बजारबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिएको छ। जसमध्ये १० वटा शीर्षकका वस्तुको निर्यात मात्रै करिब ४७ अर्ब रूपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
तयारी वनस्पति तेलको निर्यातमा आएको गिरावटले समग्र निर्यात अंक घटे पनि नेपालमा उच्च मूल्य अभिवृद्धि हुने वस्तुहरूको निर्यात भने क्रमशः बढ्दो क्रममा देखिएको छ।
प्लाइउडको निर्यात गत वर्षको तुलनामा दोब्बरले बढेको छ। साउनदेखि माघ महिनासम्मको अवधिमा यस्तो निर्यात चार अर्ब रूपैयाँ बराबरको भएको छ। गत वर्ष यो अवधिमा दुई अर्ब रूपैयाँको मात्रै निर्यात भएकोमा गत वर्ष भरीमा चार अर्ब ७० करोड रूपैयाँ बराबरको भएको थियो।
भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र नेपाल सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने भएपछि यसको निर्यात बढेको व्यवसायीहरूले बताएका छन्। यो वर्ष ८ अर्ब बढीको प्लाइउड निर्यात हुने उनीहरूको आँकलन छ।
त्यस्तै चालु वर्षको सात महिनाको अवधिमा फलफूलको जुसको निर्यात चार अर्ब बढीको भएको छ। गत वर्ष यो अवधिमा करिब तीन अर्ब रूपैयाँको निर्यात भएकोमा अहिले ३३ प्रतिशतले बढेको छ।
यो वर्ष सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भने फलामे पाता (जस्ता पातालगायत)को छ। फलामे पाताको प्रमुख कच्चा पदार्थ भारतबाट नै आयात गरेर पनि सोही बजारमा नेपालले उच्च निर्यात बढाएको छ।
यो वस्तुमा नेपालमा मुख्यतः श्रम र विद्युतको उपयोग गरेर नेपाली व्यवसायीले मूल्य अभिवृद्धि गर्ने गरेका छन्। व्यवसायीहरूका अनुसार फलामे पाता तथा डन्डीमा ४० देखि ५० प्रतिशतसम्मको मूल्य अभिवृद्धि हुन्छ।
चालु वर्षको सात महिनाको अवधिमा फलामे पाताको निर्यात सात अर्ब रूपैयाँ बराबरको रहेको छ। सात महिनाको अवधिमा समग्र निर्यात ८७ अर्ब रूपैयाँको मात्रै भएकोमा फलामे पाताको योगदान ८ प्रतिशत बढीको छ।
तयारी कपडाको निर्यात पनि गत वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षको सात महिनामा तयारी कपडाको निर्यात चार अर्ब ३६ करोड रूपैयाँ बराबरको भएको थियो। यो वर्षको सात महिनाको अवधिमा भने ५ अर्ब बढीको भएको छ।
जमोठ कपडा र जुटबाट बुनिएका कपडाको निर्यात गत वर्ष र यो वर्ष उस्तै रहेको छ। सात महिनाको अवधिमा यस्तो कपडा करिब ६ अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ।
धागोको निर्यात गत वर्षको सात महिनाको अवधिमा ६ अर्ब ८७ करोड रूपैयाँ बराबरको भएकोमा यो वर्ष करिब सवा ६ अर्ब रूपैयाँ बराबरको भएको छ।
ऊनी गलैँचा/कार्पेटको निर्यात पनि चालु वर्षको सात महिनाको अवधिमा ६ अर्ब रूपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
पाम तेलको निर्यात भने ७२ प्रतिशतले घटेको छ। गत वर्ष सात महिनाको अवधिमा १३ अर्ब ९२ करोड रूपैयाँ बढीको पामको निर्यात भएको थियो। यो वर्ष सोही अवधिमा तीन अर्ब ८० करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
गत वर्षको सात महिनाको अवधिमा समग्र निर्यात ६ अर्ब रूपैयाँले घटेकोमा तयारी पाम तेलको निर्यात भने करिब १० अर्ब रूपैयाँले घटेको छ।
पामको निर्यातसँगै आयात पनि निरन्तर घट्दो छ। पामको कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात गरेर सामान्य मूल्य अभिवृद्धि गरी भारतमा निर्यात हुने गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा भारतले अन्य देशबाट पनि कच्चा तेलमा लाग्ने कर कटौती गरेको थियो। यसपछि नेपाल हुँदै जाने तेलको तुलनामा सम्बन्धित देशबाट मगाउन सस्तो पर्न गयो। जसको प्रभाव पामको आयात निर्यातमा देखिएको छ।
शीर्षक सच्याइएको- सम्पादक