सरकारले चालु वर्षको माघ महिनासम्म भन्सार राजस्व गत वर्षको तुलनामा ६३ प्रतिशतले बढ्ने अनुमान गरेको थियो।
समग्र आयात २५ प्रतिशतले बढ्ने र भ्याट तथा अन्तःशुल्कको खारेजी र कतिपय वस्तुको महसुलमा गरिएको परिवर्तनले उल्लेख्य भन्सार राजस्व बढ्ने आकलन अर्थ मन्त्रालयको थियो।
तर, माघ महिनासम्म भने भन्सार राजस्व जम्मा ८ प्रतिशतले बढ्यो। आयात त उल्टो २.३१ प्रतिशतले घट्यो। यसको असर समग्र राजस्वमा नै देखिएको छ।
भन्सार राजस्वमा आयात घटेको प्रभाव र आन्तरिक राजस्वमा सेयर बजार र घर जग्गाको कारोबारको सुस्तताको असर देखिएको छ।
राजस्व सचिव रामप्रसाद घिमिरेले समग्र आर्थिक क्रियाकलाप र आयातमा आएको कमीको प्रभाव राजस्वमा देखिएको बताए।
'समग्रमा वैदेशिक व्यापारमा आएको गिरावट, उच्च राजस्व असुली हुने मालवस्तुको आयातमा भएको कमी तथा आर्थिक कारोबारमा नै आएको सुस्तताले राजस्वमा असर गरेको छ,' बिहीबार अर्थ समितिको बैठकमा राजस्व सचिव घिमिरेले भने, 'गत वर्षको तुलनामा समग्र राजस्व बढे पनि आयात हामीले अनुमान गरेभन्दा निकै कम मात्रामा हुँदा राजस्व लक्ष्यमा धक्का पुगेको छ।'
उनले अघिल्लो वर्ष सरकारले कतिपय वस्तुको परिमाणात्मक बन्देज लगाएको, आयात कडाइ गरेको जस्ता कारणले समग्रमा घटे पनि यो वर्ष बढ्ने अनुमान राखेको बताए।
तर, यथार्थमा त्यसो भएन। सचिव घिमिरेले भने जस्तै प्रमुख वस्तुहरूको आयात मूल्यमा उल्लेख्य कमी आएको छ।
अन्तर्राष्ट्रिय व्यापारमा सबभन्दा धेरै हिस्सा ओगट्ने वस्तुहरूको आयात बढ्न नसकेपछि यसको सिधा प्रभाव राजस्वमा देखिएको छ।
राजस्वमा सबभन्दा योगदान दिने पेट्रोलियम गाडी तथा पेट्रोलियम पदार्थको आयात गत वर्षको तुलनामा उल्लेख्य घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म समग्र आयात २.३१ प्रतिशतले घटेको छ। तर, आयात मूल्यको हिसाबले डिजेलको आयात १० प्रतिशतले घटेको छ।
डिजेल नेपालमा सबभन्दा बढी आयात हुने पदार्थ हो। आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म डिजेलको आयात ८५ अर्ब रूपैयाँ बराबरको भएकोमा चालु वर्षमा जम्मा ७७ अर्ब रूपैयाँ बराबरको भएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन्।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको आयात पनि ९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष माघ महिनासम्ममा ३३ अर्ब रूपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको थियो। यो वर्षको माघ मसान्तसम्म भने ३० अर्ब रूपैयाँको आयात भएको छ।
पेट्रोलको आयात पनि बढेको छैन। पेट्रोलको आयात गत वर्ष र अहिले समान ३९/३९ अर्ब रूपैयाँको भएको छ।
भन्सार विभागका अधिकारीहरूका अनुसार पेट्रोलियम पदार्थको आयात परिमाणात्मक रूपमा सामान्य वृद्धि भए पनि आयात मूल्यको हिसाबले घटेको हो।
त्यस्तै, बढी राजस्व हुने सुनको आयातमा पनि उल्लेख्य गिरावट आएको छ। गत आर्थिक माघ महिनासम्म सुनको आयात ३१ अर्ब रूपैयाँको भएकोमा यो वर्ष १४ अर्ब रूपैयाँ बराबरको भएको छ।
शुद्ध फलामको आयात पनि गत वर्षको तुलनामा एक अर्ब रूपैयाँले घटेको छ। गत वर्ष सात महिनामा यस्तो फलाम २४ अर्ब रूपैयाँ बराबरको भएकोमा यो वर्ष २ अर्ब रूपैयाँ बराबरको भएको छ।
स्टिल उद्योगहरूमा प्रयोग हुने एचआरसिट (स्पातको फ्ल्याट रोल्ड) को आयात भने उल्लेख बढेको छ। गत आर्थिक वर्षको माघ महिनासम्म आठ अर्ब रूपैयाँको मात्रै एचआरसिट आयात भएकोमा अहिले तीन गुणा बढी आयात भएको छ। चालु वर्षको माघ महिनासम्म एचआरसिटको आयात २६ अर्ब रूपैयाँ बराबरको भएको छ।
त्यस्तै धेरै आयात बढ्नेमा विद्युतीय गाडी छ। गत आर्थिक वर्षको माघ महिनासम्म जम्मा ६ अर्ब रूपैयाँ बराबरको विद्युतीय गाडीको आयात भएको थियो। अहिले भने १५ अर्ब रूपैयाँभन्दा धेरैको आयात भएको देखिएको छ।
तयारी कपडा, मोबाइल फोन तथा एलोपोथिक औषधीको आयात सामान्य बढेको छ। चालु वर्षको माघ महिनासम्म यी वस्तुको आयात क्रमशः २१ अर्ब, १८ अर्ब र १६ अर्ब रूपैयाँ बराबरको भएको छ।
समग्र आयात घटे पनि भन्सार विभागले उठाउने राजस्व सामान्य बढेको छ। गत आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्म दुई खर्ब १८ अर्ब ८३ करोड राजस्व असुली भएको थियो। उक्त वर्ष करिब दुई खर्ब ३७ अर्ब रूपैयाँको भन्सार राजस्व उठेको छ।
तर सरकारले गत वर्षको यो समयमा उठेको भन्सार महसुलको तुलनामा ६३ प्रतिशत बढ्ने अनुमान गरेको थियो। सरकारको यो अनुमान भने पूर्ण फेल भएको छ।
यसरी घट्नुमा भने शून्यदर लाग्ने मालवस्तुको बढी आयात भएको, धेरै भन्सार लाग्ने वस्तुको आयात घटेको तथा पेट्रोलियममा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्दै गएको असर रहेको भन्सार विभागको बुझाइ छ।
भन्सार विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष १४ अर्ब मूल्य बराबरका शून्य दर लाग्ने मालवस्तु बढी पैठारी भएको छ।
'पेट्रोलियम पदार्थमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गरेको र विद्युतीय सवारी साधनमा न्यून महसुल दर भएको कारणले भन्सार राजस्वमा प्रमुख योगदान दिने सवारी साधनबाट संकलन हुने राजस्व घटेको देखिन्छ,' भन्सार विभागका महानिर्देशक पौडेलले भने।
गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा कुल चार अर्ब ९३ करोड मूल्य बराबरका १७ सय ४९ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १२ करोड मूल्यका ५२ सय ७९ वटा विद्युतीय सवारी साधन पैठारी भएको छ। विद्युतीय सवारी साधनको आयातबाट ५ अर्ब ७९ करोड मात्र राजस्व संकलन भएको छ।
भन्सार विभागका अधिकारीहरूका अनुसार यदि त्यति नै मूल्यका पेट्रोलियममा आधारित सवारी साधन पैठारी भएको भए करिब ३३ अर्ब राजस्व प्राप्त हुने थियो।
भन्सार राजस्व मात्रै नभई आन्तरिक राजस्वमा पनि सुधार देखिन सकेको छैन। सरकारले माघ महिनासम्म आन्तरिक राजस्व विभाग मातहतबाट तीन खर्ब ४७ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर यो अवधिमा दुई खर्ब ७९ अर्ब रूपैयाँको राजस्व उठेको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बरालले समग्र आर्थिक क्रियाकलापमा अपेक्षित सुधार नदेखिँदा राजस्वमा असर परेको बताए।
उनले आन्तरिक राजस्वमा घरजग्गा र सेयर बजारको मुख्य हिस्सा रहने भए पनि अपेक्षा अनुसारको सुधार आउन नसकेको बताए।
समग्र आयकरमा भने क्रमशः बढ्दै गएको कारण आगामी दिनमा राजस्व बढ्ने उनको भनाइ छ।