माघ महिनामा अन्तर्राष्ट्रिय व्यापारमा थप ह्रास आएको छ।
माघ महिनासम्म भने २.७५ प्रतिशतले ह्रास आएको छ।
भन्सार विभागको प्रारम्भिक तथ्यांक अनुसार माघ महिनासम्म आयात व्यापारमा २.३१ प्रतिशतले ह्रास आएको छ। त्यस्तै निर्यात व्यापारमा ७.०७ प्रतिशतले कमी आएको छ।
गत वर्ष पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नौ खर्ब १९ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। अहिले घटेर ८ खर्ब ९८ अर्ब रूपैयाँ बराबरको मात्रै आयात भएको छ।
त्यस्तै गत वर्ष पहिलो सात महिनामा ९३ अर्ब ९४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। अहिले ८७ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
औसत २० प्रतिशतले बढ्दै आएको आयात व्यापार पछिल्लो दुई वर्षमा निरन्तर घटेको छ।
गत वर्ष पनि पहिलो सात महिनामा २०.८४ प्रतिशतले अन्तर्राष्ट्रिय व्यापारमा कमी आएकोमा यो वर्ष थप २.३१ प्रतिशतले व्यापारमा कमी आएपछि यसले बजारको मागमा निकै कमी आएको संकेत गरेको छ।
व्यापारीहरूले भने भन्सार चोरी पैठारी बढेको कारण वैधानिक आयात घटेको भन्दै भन्सार कडाइ गर्न आग्रह गरेका छन्।
भन्सार विभागका अधिकारीहरूले समग्र व्यापार घटे पनि मूल्यमा आएको परिवर्तनको असर पनि परेको बताएका छन्।
'समग्र परिमाणको हिसाबले पनि गत वर्षको भन्दा केही कम आयात भएको देखिएको छ। तर, करिब ५ प्रतिशतले आयात घट्नुमा भने मूल्यको असर छ,' भन्सार विभागका एक अधिकारीले भने।
आयात व्यापार लगातार घटे पनि यो वर्ष भन्सार राजस्व भने बढेको छ।
गत वर्ष करिब २१ प्रतिशतले आयात घट्दा ३८ प्रतिशतले भन्सार राजस्व घटेको थियो। यो वर्ष भने मूल्यको आधारमा २.३१ प्रतिशतले आयात व्यापार घटे पनि राजस्व भने ८ प्रतिशतले बढेको छ।
गत वर्ष माघ महिनासम्म दुई खर्ब १८ अर्ब ८३ करोड भन्सार राजस्व उठेको थियो। चालु वर्षमा भने दुई खर्ब ३६ अर्ब ९८ करोड राजस्व उठेको छ।
यसरी आयात घट्दा पनि राजस्व बढ्नुमा भने केही विलासी सामानको आयात बढ्नुका साथै भ्याटको दायरा विस्तार र प्रभावकारी अनुगमन भएको उनीहरूले बताएका छन्।
लक्ष्यको तुलनामा भने यो वर्षको राजस्व निकै न्यून देखिएको छ। माघ महिनासम्मको लागि राखिएको राजस्व लक्ष्यमा जम्मा ६५ प्रतिशत उठेको देखिएको छ।
भन्सार कार्यालयहरूमा तातोपानी भन्सार कार्यालयले लक्ष्यको ११२ प्रतिशत र रसुवा भन्सार कार्यालयले १६० प्रतिशत राजस्व उठाएका छन्। सबैभन्दा धेरै राजस्व उठाउने भन्सार कार्यालय वीरगञ्जले भने यो वर्ष लक्ष्यको अनुपातमा ६१ प्रतिशत मात्रै राजस्व उठाएको छ।
वीरगञ्ज भन्सार कार्यालयले गत वर्षको बराबर पनि राजस्व उठाउन सकेको छैन। यो कार्यालयले गत वर्षको सात महिनामा ८९ अर्ब दुई करोड राजस्व उठाएको थियो। यो वर्षको सात महिनामा भने ८५ अर्ब ५६ करोड मात्रै उठाएको छ। वीरगञ्ज सुख्खा बन्दरगाहाको भने गत वर्षको भन्दा राजस्व बढेको छ।