व्यापारिक प्रतिष्ठान तथा पसल सञ्चालन गर्न वार्षिक एक खर्ब ३२ अर्ब रूपैयाँभन्दा बढी रकम खर्च हुने गरेको देखिन्छ।
देशभरका व्यापारिक प्रतिष्ठानहरूले पसल सञ्चालन गर्ने क्रममा बिक्रीको लागि खरिद गरेका सामान, सरकारलाई बुझाएको कर, पसल सञ्चालनको व्यक्तिगत खर्च तथा तलब रकम बाहेक वार्षिक रूपमा यो रकम खर्च भएको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकमा उल्लेख छ।
दोस्रो थोक तथा खुद्रा व्यापार सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो। यो सर्वेक्षण व्यापारमा राखिएको मार्जिन (नाफा) पत्ता लगाउन गरिएको हो।
'सर्वेक्षणको मुख्य उद्देश्य मार्जिन पत्ता लगाउनु भए पनि त्यस क्रममा उनीहरूको सञ्चालन खर्च, व्यापारमा देखिएको समस्या, दर्ता भएको वा नभएकाे, कसले सञ्चालन गरिएको जस्ता विषयमा पनि सर्वेक्षण गरिएको थियो,' राष्ट्रिय तथ्यांक कार्यालयकी निर्देशक प्रभा बराल लामिछानेले भनिन्।
औसत रूपमा एक पसल सञ्चालन खर्च वार्षिक दुई लाख ६४ हजार ३७३ रूपैयाँ लाग्ने गरेको छ। यसरी भएको खर्चले सामानको लागत बढ्ने गर्छ।
मोटर व्यापार तथा मर्मतसम्बन्धी प्रतिष्ठानको सञ्चालन खर्च सबैभन्दा बढी देखिएको छ। यस्ता एक प्रतिष्ठानको औसत वार्षिक सञ्चालन लागत १३ लाख १४ हजार ३७९ रहेको छ।
थोक व्यापारमा एक प्रतिष्ठानको पाँच लाख ८३ हजार ३९३ र खुद्रा व्यापार एक प्रतिष्ठानको दुई लाख १९ हजार ३९३ रहेको छ।
प्रदेशहरूमध्ये सबैभन्दा बढी बागमती प्रदेशका व्यापारिक प्रतिष्ठानमा एक पसल बराबर औसत वार्षिक चार लाख ७० हजार सञ्चालन खर्च छ। सबैभन्दा कम मधेश प्रदेशमा एक लाख ३१ हजार छ।
व्यापारिक प्रतिष्ठानले २३ क्षेत्रमा यस्तो खर्च गर्ने गरेका छन्।
यो सर्वेक्षणले व्यापारिक प्रतिष्ठानको सबैभन्दा बढी खर्च घर भाडा तथा भण्डारणमा हुने गरेको देखाएको छ। वार्षिक रूपमा औसत ३० प्रतिशत अर्थात् सन्दर्भ वर्षमा ४० अर्ब ६४ करोड ४४ लाख यस्तो खर्च गरेका छन्।
घर भाडा तथा भण्डारणको लागि सबैभन्दा बढी खर्च मोटर व्यापार तथा मर्मतसम्बन्धी प्रतिष्ठानले गरेको देखिएको छ।
उनीहरूको जम्मा सञ्चालन लागतमा ३३ प्रतिशत घर भाडा तथा भण्डारणमा खर्च गरेका छन्। त्यस्तै होलसेल व्यापारीले १६.५ र खुद्रा व्यापारीले ३०१ प्रतिशत यस्तो खर्च गर्ने गरेको देखिएकाे छ। आफ्नो घरमा नै व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको अवस्थामा त्यस्तो लागत नजोडिएको कारण होलसेलको न्यून लागत देखिएको तथ्यांक कार्यालयका अधिकारीहरूले बताएका छन्।
ढुवानी तथा यातायातमा औसत २४ प्रतिशत खर्च भएको देखिएको छ। सन्दर्भ वर्षमा देखिएको दुई खर्ब ३२ अर्ब रकममध्ये ३२ अर्ब १६ करोड रूपैयाँ ढुवानी तथा यातायातमा खर्च भएको छ।
ढुवानी तथा यातायात क्षेत्रमा मोटर व्यापार तथा मर्मतसम्बन्धी प्रतिष्ठानले गरेको छन्। यो क्षेत्रले जम्मा सञ्चालन खर्चको ३० प्रतिशत ढुवानी तथा यातायातको लागि खर्च गरेको छ। होलसेल व्यापारिक प्रतिष्ठानले २३ र खुद्रा व्यापारिक प्रतिष्ठानले २४ प्रतिशत यस्तो खर्च गरेका छन्।
घर भाडा र ढुवानी खर्चपछि धेरै सञ्चालन खर्च इन्धनमा भएको देखिएको छ। इन्धनको औसत सञ्चालन खर्च सात प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।
बीमाको प्रिमियम भुक्तानीमा ४.४९ र बिजुलीको महसुलमा ४.१४ प्रतिशत लागत लागेको सर्वेक्षणले देखाएको छ।
२३ क्षेत्रमा विभाजन गरिएको सञ्चालन लागतमध्ये दान तथा चन्दा दिनको लागि पनि १.७ प्रतिशत खर्च भएको छ। भने विज्ञापनमा १.७२ प्रतिशत खर्च गरेका छन्।
दान तथा चन्दामा सबैभन्दा बढी खुद्रा व्यापारिक प्रतिष्ठानले खर्च गरेको छन्। जम्मा सञ्चालन लागतमा खुद्रा व्यापारिक प्रतिष्ठानले २.०१ प्रतिशत खर्च गर्दा मोटर व्यापार तथा मर्मत सम्भारसम्बन्धी व्यापारिक प्रतिष्ठानले १.४६ र होलसेल व्यापारिक प्रतिष्ठानले ०.९१ प्रतिशत खर्च गरेका छन्।
विज्ञापनमा भने सबैभन्दा बढी खर्च मोटर व्यापार तथा मर्मतसम्बन्धी व्यापार प्रतिष्ठानले गरेका छन्। उनीहरूले जम्मा सञ्चालन लागतमा ६ प्रतिशत विज्ञापनमा खर्च गर्ने गरेको देखिएको छ।
के कामको लागि कति खर्च?
खर्च भएको क्षेत्र |
सञ्चालन खर्च रकम |
सञ्चालन लागतमा हिस्सा |
घर र भण्डारणको लागि दिइएको भुक्तानी |
४० अर्ब ६४ करोड ४४ लाख |
३०.६१ प्रतिशत |
ढुवानी तथा यातायात खर्च |
३२ अर्ब १६ करोड ९७ लाख |
२४.२३ प्रतिशत |
इन्धन खर्च |
नौ अर्ब ३५ करोड ५४ लाख |
७.०५ प्रतिशत |
बीमा प्रिमियम |
पाँच अर्ब ९६ करोड ३९ लाख |
४.४९ प्रतिशत |
बिजुली |
पाँच अर्ब ५० करोड |
४.१४ प्रतिशत |
पसल सञ्चालनको लागि आवश्यक सामान (बिक्री गर्ने बाहेकको) |
पाँच अर्ब ४७ करोड ४७ लाख |
४.१२ प्रतिशत |
भरिया खर्च |
पाँच अर्ब ५ करोड ५० लाख |
३.८१ प्रतिशत |
अन्य खर्च |
चार अर्ब ५९ करोड ७५ लाख |
३.४६ प्रतिशत |
सञ्चार खर्च |
तीन अर्ब ९० करोड ४० लाख |
२.९४ प्रतिशत |
आवधिक मर्मतसम्भार खर्च |
तीन अर्ब २५ करोड ७४ लाख |
२.४५ प्रतिशत |
सल्लाहकार समिति,अडिट र एजेन्टहरू |
दुई अर्ब ७४ करोड २८ लाख |
१.९९ प्रतिशत |
विज्ञापन |
दुई अर्ब २७ करोड ७७ लाख |
१.७२ प्रतिशत |
चन्दा तथा दान |
दुई अर्ब २६ करोड आठ लाख |
१.७ प्रतिशत |
सवारी साधान भाडामा लिदा गरिने भुक्तानी |
एक अर्ब ८७ करोड ८५ लाख |
१.४२ प्रतिशत |
जग्गाको भाडा |
एक अर्ब ४७ करोड ३० लाख |
१.१९ प्रतिशत |
पानी (जार सहित) |
एक अर्ब ३९ करोड |
१.०५ प्रतिशत |
छपाई खर्च |
१,३६१,९५४ |
१.०१ प्रतिशत |
यात्रा खर्च |
एक अर्ब १६ करोड ३८ लाख |
०.८८ प्रतिशत |
स्टेशनरी |
९७ करोड ३४ लाख |
०.७३ प्रतिशत |
सुरक्षा गार्ड |
६४ करोड ३२ लाख |
०.४८ प्रतिशत |
तालिम र कार्यशाला |
४० करोड २३ लाख |
०.१३ प्रतिशत |
पत्रपत्रिकाहरू |
२४ करोड ६१ लाख |
०.१९ प्रतिशत |
उपकरण प्रयोगको भुक्तानी |
१६ करोड ५१ लाख |
०.१२ प्रतिशत |