चालु आर्थिक वर्षको छ महिनामा (२०८० साउनदेखि पुस महिनासम्म) आलु (फ्रोजन, चिप्स तथा बिउ बाहेक) को आयात १८ करोड २३ लाख केजी भएको छ।
अघिल्लो वर्षको यसै समयमा २१ करोड नौ लाख केजी आयात भएको थियो। यस हिसाबले आलुको आयात १३ प्रतिशतले घटेको हो।
मूल्यलाई आधार मान्दा पनि आलुको आयात १४ प्रतिशतले घटेको छ। गत वर्षको ६ महिनामा पाँच अर्ब ३९ करोड रूपैयाँ बराबरको आलु आयात भएको थियो। यस वर्ष भने चार अर्ब ५९ करोड रूपैयाँको मात्रै भएको छ।
तर आलुको आयातको कारण राजस्व करिब दोब्बरले बढेको छ। गत वर्ष यस अवधिमा ५७ करोड रूपैयाँको यस्तो राजस्व उठेको थियो। यस वर्ष भने बढेर एक अर्ब १३ करोड रूपैयाँ पुगेको भन्सार तथ्यांक छ।
आलु मात्रै नभई प्याजमा पनि यस्तै देखिन्छ।
गत वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्ष प्याजको आयात ४६ प्रतिशतले घटेको छ। गत वर्ष साउनदेखि पुससम्म आठ करोड ६३ लाख केजी प्याज आयात भएको थियो। यस वर्ष यही समयमा चार करोड ६५ लाख केजीको मात्रै आयात भएको छ।
मूल्यको आधारमा पनि प्याजको आयात ३८ प्रतिशतले घटेर एक अर्ब ९३ करोड रूपैयाँ बराबरको मात्रै भएको छ।
तर प्याजको आयातबाट भन्सार विन्दुमा उठ्ने राजस्व भने ४१ प्रतिशतले बढेको छ। प्याजको आयातबाट गत वर्ष ६ महिनामा भन्सार विन्दुमा ३४ करोडको राजस्व उठेको थियो। यो वर्ष बढेर बढेर ४८ करोड रूपैयाँ पुगेको भन्सार तथ्यांकले देखाएको छ।
समग्रमा परिमाण र मूल्य दुवै हिसाबले आलु र प्याजको आयात २३ प्रतिशतले घटेको छ। तर यी वस्तुको आयातबाट उठ्ने राजस्व भने ७७ प्रतिशतले बढेको छ।
२३ प्रतिशतले आयात घट्दा पनि ७७ प्रतिशतले राजस्व बढ्नुको कारण यी वस्तुमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हो। गत वर्षसम्म यी दुई कृषि उपजको आयातमा भ्याट छुट दिइएको थियो। जसको कारण एक रूपैयाँ पनि भ्याट उठेको थिएन।
यस वर्ष यस्तो छुट खारेज गरियो। छ महिनामा आलुबाट ६२ करोड रूपैयाँ र प्याजबाट २८ करोड रूपैयाँ भन्सार विन्दुमा भ्याट उठेको भन्सार विभागका अधिकारीहरूले जानकारी गराएका छन्।
सरकारले यसै वर्षबाट स्याउमा दिइएको भ्याट छुट पनि खारेज गरेको थियो। जसको प्रभाव राजस्वमा देखिएको छ। आयात परिमाणको हिसाबले गत वर्षको ६ महिना र चालु वर्षको ६ महिनामा स्याउको आयात करिब समान (चार करोड ६० लाख केजी) छ।
तर स्याउको आयातबाट गत वर्ष ६ महिनामा ४० करोड रूपैयाँको मात्रै राजस्व उठेको थियो। यो वर्ष भने करिब तीन गुणाले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार स्याउको आयातबाट एक अर्ब १३ करोड रूपैयाँ राजस्व उठेको छ। ६० करोड रूपैयाँको स्याउको आयातबाट भ्याट मात्रै उठेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा १३० वस्तुमा भ्याट र ३४० वस्तुको अन्तःशुल्क छुट खारेज गरेको थियो। विशेष गरी कृषि उपजमा भ्याट छुट खारेजी भएपछि विरोध भएकोमा सरकारले आन्तरिक उत्पादनमा भ्याट नलगाउने र आयातितमा मात्रै लगाउने प्रतिबद्धता जनाएको थियो। आन्तरिक राजस्व विभागले सूचना नै निकालेर आन्तरिक कृषि उत्पादनमा भ्याट नलाग्ने जनाएको छ।
त्यस्तै आयातित मदिरामा भन्सार विन्दुमा दुई प्रतिशत लक्जरी कर उठाउने नीति चालु वर्षको बजेटबाट लिइएको थियो। भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षमा अघि सारिएको कर नीतिबाट मात्रै पाँच अर्ब रूपैयाँ राजस्व बढेको छ।
बढेको पाँच अर्ब रूपैयाँमध्ये सबैभन्दा धेरै योगदान आलु, प्याज र स्याउको आयातमा लागेको भ्याटको छ। आलु, प्याज र स्याउको आयातमा छ महिनामा एक अर्ब ५३ करोड भ्याट उठेको छ।
चालु वर्षको ६ महिनामा समग्र आयात ३.०९ प्रतिशतले घट्दा राजस्व भने ६ प्रतिशतले बढेको छ। आयात घट्दा पनि राजस्व घट्नुको एउटा कारणमा विगतमा दिइएको भ्याट र अन्तःशुल्क छुटको खारेजी भएको तथ्यांकले देखाएको छ।