नेपालमा अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट (पिपिसी) उत्पादन भइरहेको छ। ओपिसीको प्रयोग नेपाली बजारमा मात्रै छ भने पिपिसी २०७९ साउन महिनादेखि भारतीय बजारमा पनि बिक्री भइरहेको छ।
पछिल्ला दिनहरूमा पिपिसीको माग बढ्दो क्रममा छ। भारतले ओपिसीको प्रयोग नगर्ने भएका कारण पनि उद्योगहरूले पिपिसीको उत्पादन क्रमशः बढाउँदै लगेका छन्।
अब भने नेपालले लाइमस्टोन क्याल्साइन्ड क्ले सिमेन्ट (एलसिथ्री) को सम्भावना खोजी सुरू भएको छ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार पछिल्लो १० वर्षदेखि विश्वका विभिन्न देशहरूमा एलसिथ्री सिमेन्टको उत्पादन सुरू भएका छन्। युरोप र अफ्रिकाका विभिन्न देशहरूले एलसी 'थ्री' सिमेन्टको उत्पादन गर्दैछ। नेपालको छिमेकी राष्ट्र भारतले पनि गत वर्षबाट यस्तो सिमेन्ट उत्पादन सुरू गरेको छ।
नेपालमा एलसिथ्री सिमेन्ट उत्पादन गर्न कति सम्भव छ?
यसबारे पत्ता लगाउन निजी क्षेत्र, विकास साझेदार र सरकारबीच अध्ययन प्रक्रिया अघि बढाउने सहमति भएको छ।
सोमबार मात्रै खानी तथा भूगर्भ विभाग, नेपाल सिमेन्ट उत्पादक संघ र भारतको सोसाइटी अफ टेक्नोलोजी एन्ड एक्सन फर रुरल एड्भान्समेन्ट (तारा) ले नेपालमा एलसिथ्री उत्पादनको सम्भावनाबारे अध्ययन गर्ने विषयमा सम्झौता (एमओयू) गरेका छन्। यो अध्ययनमा स्विस सरकारको सहयोग छ।
दिगो उत्पादन, कम लागत र वातावरणको हिसाबले ओपिसीभन्दा पिपिसी र पिपिसीभन्दा एलसिथ्री को उत्पादन राम्रो मानिन्छ।
सिमेन्ट उत्पादनको क्रममा चुनढुंगाको प्रयोग कसरी कम गर्ने भन्ने सवालमा नयाँ खोजीको सुरू गर्न थालिएको हो। पहिलो यी तीन थरीका सिमेन्टमा के फरक छ भन्ने विषयमा बुझौं।
खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट नारायण बाँस्कोटाका अनुसार सबभन्दा पहिले उत्पादन सुरू भएको ओपिसीको उत्पादनको क्रममा ९४ प्रतिशत क्लिंकर (चुनढुंगा पगालेर निस्किएको उत्पादन) र ६ प्रतिशत जिप्सन (एक प्रकारको पोटासयुक्त माटो) प्रयोग हुन्छ।
त्यस्तै, पिपिसी सिमेन्टको तयार गर्ने क्रममा ७४ प्रतिशतसम्म क्लिंकर, ६ प्रतिशत जिप्सन र अन्य २० प्रतिशत कोइला पगाले पछिको धुलो (ड्राइयास) प्रयोग हुन्छ।
एलसिथ्री को उत्पादनमा ४५ प्रतिशत मात्रा क्लिंकरको हुनेछ। यसमा जिप्सन, ट्रायस र काउलिन गुणस्तरको माटोको मात्रा ५५ प्रतिशत हुनेछ। यसको अर्थ पिपिसीको तुलनामा एलसिथ्री मा क्लिंकरको प्रयोग थप ३० प्रतिशतले घट्ने देखिन्छ।
यसको लागि सबभन्दा पहिले नेपालमा यस्तो माटो कति छ? कहाँ छ भन्ने पत्ता लगाउनु पर्ने हुन्छ। बाँस्कोटाका अनुसार यो एक प्रकारको रातो माटो भए पनि यस्तो माटोमा काउलिन केमिकल ४० प्रतिशत भएको हुनुपर्छ।
सोमबार गरिएको सम्झौताअनुसार खानी तथा भूगर्भ विभागले सम्भावित खानी कहाँ हुन्छ भनेर देखाउने काम गर्नेछ। ताराले प्राविधिक सहयोग उपलब्ध गराउनेछ। ताराले भारत र अफ्रिकामा पनि यस्तो माटो पत्ता लगाउने तथा उत्खनन गर्ने काम गरेको छ।
सिमेन्ट उत्पादकहरूले आफ्नो सिमेन्ट उद्योगमा परीक्षण गर्ने काम गर्नेछन्। त्यस्तै स्विस सरकारले यस्तो अध्ययनको क्रममा लाग्ने लागत सहयोग गर्नेछ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले दिगो उत्पादनमा एलसिथ्री उपयोगी हुने हुँदा अहिले सम्भावनाको खोजी गर्नु आवश्यकता भएको बताए।
'छुट्टाछुट्टै प्राकृतिक स्रोतको उपयोग गर्न पाइने भएपछि यस्तो वस्तु लामो समयलाई पुग्छ। यसले दिगो उत्पादनमा सहयोग पुर्याउँछ,' घिमिरेले भने।
एलसिथ्री उत्पादन गर्न सकेको खण्डमा उत्पादन लागत घट्नेछ। दिगो तथा लामो समय उत्पादनमा सहयोग पुर्याउनेछ। वातावरणमैत्री बन्छ। अर्थात् कम कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले एलसिथ्री को उत्पादन हुनसके बजारमा यस्तो सिमेन्टको मूल्य घट्ने बताए।
'सिमेन्ट उत्पादनको क्रममा सबभन्दा धेरै लागत क्लिंकरको हुन्छ,' अध्यक्ष थापाले भने, 'क्लिंकरको मात्रा नै कम गर्ने र त्यसको सट्टा नेपालकै माटो प्रयोग हुँदा लागत धेरै घट्छ।'
ओपिसीको तुलनामा पिपिसीमा क्लिंकर कम प्रयोग हुने भएकै कारणले प्रतिबोरा मूल्यमा एक सय रूपैयाँसम्म कम रहेकोछ। एलसिथ्री मा क्लिंकर थप कम प्रयोग हुने भएकै कारण मूल्य घट्ने हो।
'उत्खननको क्रममा चुनढुंगालाई बढी समय लाग्छ र लागत बढी लाग्छ। तर माटोको लागि कम समय र लागत लाग्छ,' थापाले भने, 'चुनढुंगालाई १४०० डिग्री सेल्सियसमा पकाएर क्लिंकर बनाइन्छ। तर काउलिनयुक्त माटो भने ७०० डिग्री सेल्सियसमा पकाए पुग्छ। यसले गर्दा ऊर्जाको खपत घट्छ।'
कम ऊर्जाले पुग्ने भएको कारणले कोइलाको प्रयोग घट्छ। यसले कार्बनडाइअक्साइड उत्सर्जन ४० प्रतिशतसम्म घटाउने अनुमान छ। सिमेन्ट उत्पादनका क्रममा भट्टामा कोइलाको प्रयोग गरिन्छ।