चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर देखिएको छ।
सरकारले चालु आर्थिक वर्षमा औसत ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। तर राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो तीन महिनामा आधारभूत मूल्यमा ३.२ प्रतिशतको मात्र वृद्धिदर निकालेको हो।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा पनि ३.२ प्रतिशतको वृद्धिदर थियो।
यो वर्षको पहिलो तीन महिना र गत वर्षको सोही अवधिबीच क्षेत्रगत तुलना गर्दा चारवटा क्षेत्रको वृद्धिदर दोहोरो अंक (१० प्रतिशत माथि) देखिएको छ। त्यस्तै एउटा क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ।
तथ्यांक कार्यालयले १८ क्षेत्रमा विभाजन गरेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मापन गर्छ। तीमध्ये एउटाबाहेक सबै क्षेत्रमा धनात्मक वृद्धिदर देखिएको छ।
सबभन्दा बढी वृद्धिदर खानी तथा उत्खनन क्षेत्रमा छ। यसको वृद्धिदर १५.८ प्रतिशत पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा यो क्षेत्र १.९ प्रतिशतले ऋणात्मक थियो।
दोस्रोमा, वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर १३.२ प्रतिशतले हुने अनुमान तथ्यांक कार्यालयको छ। निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तरबैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम आदि कारणले यो क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयका अधिकारीको भनाइ छ। गत वर्ष पहिलो तीन महिनामा यो क्षेत्रको वृद्धिदर ९.९ प्रतिशत थियो।
त्यस्तै निर्माण क्षेत्रको वृद्धिदर ११.४ प्रतिशत छ। निर्माण व्यवसायीहरूले सरकारी भुक्तानी र म्याद थप लगायतका समस्याका कारण अघि बढ्न गाह्रो भएको गुनासो गरे पनि यो क्षेत्रको वृद्धिदर दोहोरो अंकमा देखिएको छ।
निर्माण क्षेत्र गत आर्थिक वर्षका तीनवटा त्रैमासमा ऋणात्मक देखिएको थियो। चौथो त्रैमासमा भने १० प्रतिशत वृद्धिदर थियो। चालु वर्षको पहिलो त्रैमासमा ११.४ प्रतिशत वृद्धिदर छ।
आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदर पनि उल्लेख्य बढेर ११.७ प्रतिशत पुग्ने अनुमान छ। गत वर्ष पहिलो त्रैमासमा यो क्षेत्रको वृद्धिदर ५६ प्रतिशत थियो। यो वर्ष पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले प्रत्यक्ष रूपमा सकारात्मक असर परेको तथ्यांक कार्यालयले जनाएको छ।
थोक र खुद्रा व्यापार, मोटरबाहन र मोटरसाइकल मर्मत वृद्धिदर भने ऋणात्मक छ।
यसपालि पहिलो त्रैमासमा यो क्षेत्रको वृद्धिदर ऋणात्मक १.२ प्रतिशत छ। समग्र आयातमा समान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुहरूमा आएको कमीका कारण कमी देखिएको बताइएको छ। गत आर्थिक वर्ष पनि यो क्षेत्र ०.१ प्रतिशतले ऋणात्मक थियो। गत वर्षका चार त्रैमासमध्ये अन्तिम त्रैमासमा मात्रै यो क्षेत्रमा वृद्धिदर थियो। यो वर्षको पहिलो त्रैमासमै फेरि ऋणात्मक देखिएको छ।
अर्थतन्त्रमा सबभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान उत्पादन वृद्धिले यो क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
कुन क्षेत्रको कति वृद्धिदर
क्षेत्र | वृद्धिदर |
कृषि वन तथा मत्स्य पालन | १.४ |
खानी तथा उत्खनन | १५.८ |
उत्पादनमूलक उद्योग | १.३ |
बिजुली, ग्यास र वातानुकूलित आपूर्ति | १.६ |
पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन | ३.१ |
निर्माण | ११.४ |
थोक र खुद्रा व्यापार, मोटरवाहन र मोटरसाइकल मर्मत | -१.२ |
ढुवानी र भण्डारण | १.६ |
आवास र सेवा क्षेत्र | ११.७ |
सूचना र सञ्चार | ३.१ |
वित्तीय र बीमा गतिविधिहरू | ११.७ |
घरजग्गा गतिविधिहरु | २.२ |
व्यावसायिक वैज्ञानिक र प्राविधिक गतिविधिहरू | ५.१ |
प्रशासनिक र सेवा गतिविधिहरू | ८.८ |
सार्वजनिक प्रशासन र रक्षा, अनिवार्य सामाजिक सुरक्षा | ६.५ |
शिक्षा | ०.८ |
स्वास्थ्य र सामाजिक गतिविधिहरू | १.१ |
कला, मनोरञ्जन र अन्य सेवा | २.८ |
औसत | ३.२ |