वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीले यस वर्ष धानको उत्पादन ५० प्रतिशत घट्ने हचुवा दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उनले धान उत्पादन ५० प्रतिशत घट्ने देखिएको र खाद्य मौज्दातमा नेपाल सहज अवस्थामा नरहेको बताएका हुन्।
नेपालको इतिहासमै कुनै पनि वर्ष धान उत्पादन यति धेरै प्रतिशतले कम भएको छैन। सबभन्दा कम उत्पादन भएको २०७८ सालमा, ८.७४ प्रतिशत हो। धान भित्र्याउने बेलामा आएको बाढी र धानमा लागेको रोगका कारण त्यो वर्ष कम भएको थियो। गत वर्ष त झन्डै ७ प्रतिशत बढी नै उत्पादन भएको थियो।
तर सचिव दुवाडीले यो वर्ष धान उत्पादन आधा नै घट्ने बताए। यति धेरै परिणाममा कम हुनु भनेको अर्थतन्त्रमा उथलपुथल हुनु हो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ। समग्र कृषिमा धानको मात्र हिस्सा १६ प्रतिशत छ। त्यसैले धान उत्पादन ५० प्रतिशत कम भए अर्थतन्त्र नै ऋणात्मक वृद्धिदरमा पुग्ने अवस्था छ।
सरकारले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। सरकारका अन्य निकायहरूले यो वर्ष समग्र कृषि र धान उत्पादनमा सुधार आउँदा आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा राखेका छन्। अन्य कतिपय उपसूचकहरूमा समस्या देखिए पनि कृषि उत्पादनका कारण आर्थिक वृद्धिमा सहयोग पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयका अधिकारीहरूले बताएका छन्।
सचिव दुवाडीले समितिको बैठकमा कृषि मन्त्रालयका 'साथीहरू' र संयन्त्रहरूबाट आएको सूचनाका आधारमा उक्त तर्क राखेको बताएका थिए। हामीले उनलाई कुन स्रोत र तथ्यांकका आधारमा यति संवेदनशील दाबी गर्नुभयो भनेर सोधेका छौं।
सेतोपाटीसँगको कुराकानीमा भने उनले यो आफ्नो अनुमान मात्र भएको बताए।
'पूर्वी तराईको जिल्लामा धान रोपाइँ आधा पनि भएन भनेर कृषिका साथीहरूले त्यो बेला भन्नुभएको थियो। मिडियामा पनि यही कुरा आएको थियो। त्यसै आधारमा धान उत्पादन ५० प्रतिशतले घट्ने बताएको हुँ,' उनले भने।
सचिव दुवाडीले भनेजस्तै यो वर्ष रोपाइँ ५० प्रतिशतले घटेको पनि होइन। कृषि मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष धान रोपाइँ गत वर्षभन्दा तीन प्रतिशतले मात्र कम भएको थियो।
सञ्चारमाध्यमहरूमा आएको कुरा के थियो भनेर सोध्दा पनि सचिव दुवाडीले भन्न सकेनन्। विगतमा कति धान उत्पादन भइरहेको छ, कहाँ के कारणले घटेको वा बढेको छ लगायत कुनै तथ्यांक विश्लेषण नगरी उनले समितिमा बोलेको देखिन्छ। 'कृषिका साथीहरू' र मिडियालाई हवाला दिँदै सचिव दुवाडीले हचुवाका भरमा धान उत्पादन घट्ने तर्क राखेको देखिएको छ।
हामीले उनलाई सरकारको जिम्मेवार पदमा बसेको व्यक्तिले बिनाआधार यस्तो तर्क गर्न मिल्छ भनेर पनि सोधेका थियौं।
हाम्रो प्रश्नमा उनले भने, 'सबैलाई सचेत गराउन यो विषय राख्न आवश्यक देखेर राखेको हुँ। मैले सबै कुरा व्याख्या गर्न सकेको त थिइनँ तर हामीले 'फुड बिहेबियर' बदल्नुपर्छ। भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ, उत्पादन पनि घटेको छ भनेर सचेत गराउन बोलेको हुँ।'
तर उनले भनेका कुराले सचेत होइन मानिसलाई आतंकित बनाउने स्थिति सिर्जना हुन सक्ने अधिकारीहरूले बताएका छन्। धान उत्पादनको सबै आकलन र लेखाजोखा गर्ने कृषि तथा पशुपंक्षी मन्त्रालय समेत सचिव दवाडीको यो भनाइप्रति अचम्मित देखिएको छ। जिम्मेवार पदमा बसेको व्यक्तिले अनुमानका भरमा गलत तथ्यांक दिएर बोल्न नहुने कृषि मन्त्रालयका अधिकारीहरूले बताए।
'यसले बजारको चक्र खलबल्याउनुका साथै मानिसहरूमा त्रास पैदा हुन्छ,' कृषिका एक अधिकारीले भने, 'यस्तो सूचना भएमा कृषक स्वयं धान बेच्न मान्दैनन्। व्यापारीले महँगो मूल्य तिरेर आफ्नो कब्जामा लिने प्रयास गर्छन् र अझ महँगोमा बेच्ने जस्ता असर देखिन्छन्। जनतामा झनै त्रास बढ्छ।'
मन्त्रालय प्रवक्ता सवनम सिवाकोटीले यो वर्ष धान उत्पादन कम हुने होइन, अझ वृद्धि हुने देखिएको बताइन्। प्रारम्भिक तथ्यांकले वृद्धि हुने देखाएको तर अन्तिम प्रतिवेदनमाथि भने छलफल भइरहेको उनले बताइन्।
'धानको उत्पादन बढ्ने नै अनुमान छ तर आधिकारिक तथ्यांक निकालिसकेका छैनौं,' प्रवक्ता सिवाकोटीले भनिन्।
हरेक वर्ष धान उत्पादन तथा उत्पादकत्वको तथ्यांक निकाल्ने कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले पनि यसपालि धान उत्पादन केही बढ्ने आकलन गरिएको बताए। विभिन्न स्थानबाट उपलब्ध तथ्यांकहरू विश्लेषण गरेर मन्त्रालयले अहिले यसमा छलफल गरिरहेको उनले जानकारी दिए।
'धान उत्पादन आधा घट्नु भनेको त पत्याउनै नसकिने कुरा हो। ५० प्रतिशत उत्पादन घट्ने हुनै सक्दैन। कहिल्यै भएको छैन। देशमै ठूलो प्रकोप आयो भने त के भन्न सकिएला र, नत्र यसरी उत्पादन कहिल्यै घट्दैन,' उनले भने।
बिहीबार समितिमा सचिव दुवाडीले राखेको तर्कमा सांसदहरूले भने चासो देखाएका थिएनन्।
समिति सदस्य रमा कोइराला पौडेलका अनुसार छलफलको मुख्य विषय नभएकाले पनि समिति सदस्यहरूले के कारणले धान उत्पादन ५० प्रतिशत घट्ने देखिएको हो भन्ने प्रश्न गरेनन्।
यस्तो छ पछिल्लो पाँच वर्षको उत्पादन
आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार ११ टन धान उत्पादन भएको थियो। यो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ८.८ प्रतिशतको वृद्धिदर हो।
आर्थिक वर्ष २०७६/७७ मा एक प्रतिशतले घटेर ५५ लाख ५० हजार ८७८ टन उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७७/७८ मा १.२८ प्रतिशतले बढेर ५६ लाख २१ हजार ७१० टन उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६२५ टन उत्पादन भएको थियो।
गत आर्थिक वर्षमा ६.९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको थियो।