गत आर्थिक वर्षभर नै उल्लेख्य घटेको पेट्रोलियम पदार्थको खपत चालु आर्थिक वर्षमा भने क्रमशः बढ्न थालेको छ।
गत वर्ष मूल्य बढ्ने, परिमाण घट्ने भएकोमा चालु आर्थिक वर्षमा भने परिमाण बढ्ने, मूल्य घट्ने गरेको छ।
पेट्रोलियम पदार्थको खपत बढ्नुले औद्योगिक क्रियाकलाप बढेको र सवारी आवतजावत बढेको संकेत गर्छ।
आर्थिक क्रियाकलापमा क्रमशः सुधार देखिन थालेको कारण पेट्रोलियम पदार्थको खपत बढेको सरोकारवालाको भनाइ छ।
परिमाणको आधारमा पेट्रोलियम पदार्थको खपत गत वर्षको भन्दा करिब ४ प्रतिशतले बढेको छ। ढुवानीमा सबैभन्दा बढी प्रयोग हुने डिजेलको खपत ६ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा तीन लाख ४० हजार आठ सय ३० किलोलिटर डिजेल आयात भएको थियो। चालु वर्षको चार महिनामा भने तीन लाख ५९ हजार छ सय किलोलिटर आयात भएको छ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान डिजेलको प्रयोग निर्माणाधीन आयोजना तथा औद्योगिक क्षेत्रमा ४० प्रतिशत र यातायात तथा ढुवानीमा ६० प्रतिशत प्रयोग हुने बताउँछन्।
अहिले निर्माणको काम सुस्त रहेको छ। ढुवानीमा माग बढे पनि नेपालभन्दा भारतमा सस्तो भएकोले उल्लेख्य बढ्न सकेको छैन। औद्योगिक क्षेत्रमा भने डिजेलको माग बढेको व्यवसायीहरूको भनाइ रहेको छ।
गत वर्ष पहिलो चार महिनामा तीन प्रतिशतले घटेको ग्यासको खपत चालु वर्षमा भने ०.५ प्रतिशतले बढेको छ।
ग्यासको प्रयोग औद्योगिक र पर्यटन क्षेत्रमा ३० प्रतिशत र घरायसी प्रयोगमा ७० प्रतिशत रहेको छ। पछिल्लो समयमा पर्यटन क्षेत्रमा ग्यासको प्रयोग उल्लेख्य बढेको बताइएको छ। घरायसी क्षेत्रमा ग्याससँगै विद्युतीय चुल्होको प्रयोग पनि बढेको छ।
गत आर्थिक वर्षमा मात्रै ८२ हजार आठ सय ३० इन्डक्सन र इन्फ्रारेड चुल्हो आयात भएको छ। यस्तो चुल्होमा विद्युतको प्रयोग गरिन्छ, यसो हुँदा ग्यासको खपत कम हुन्छ। चालु वर्षको चार महिनामा समेत ५२ हजार १५ वटा यस्तो चुल्होको आयात हुनाले भान्सामा विद्युतको उपयोग बढेको तथ्य देखाउँछ।
पेट्रोलको खपत भने घटेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा दुई लाख २९ हजार किलोलिटर पेट्रोलको आयात भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुई लाख २३ हजार किलोलिटर आयात भएको छ।
यसको आयात घट्नुको प्रमुख कारण सीमावर्ती बजारमा सस्तो मूल्यमा पेट्रोल पाइनु भएको आयल निगमका अधिकारीहरू स्वीकार्छन्।
'हाम्रो धेरै डिजेल र पेट्रोल ढुवानीमा खपत हुन्छ, सीमावर्ती बजारमा सस्तो मूल्यमा पाइने भएको कारण १० देखि १५ प्रतिशत भार कम भएको छ,' नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने।
नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराई सीमावर्ती बजारमा र नेपाली बजारमा देखिएको मूल्य अन्तरको कारण पनि पेट्रोलको आयातमा कमी आएको बताउँछन्।
खुला सीमानाको कारणले गर्दा उपभोक्ताले समेत भारतीय पेट्रोल पम्पमा गएर तेल हाल्ने र मालबाहक सवारी साधनले भारततर्फ मात्रै तेल भर्ने गरेको कारणले पनि कमी आएको हुन सक्ने उनको भनाइ छ।
'विगतमा भारतीय सीमावर्ती क्षेत्रमा सो वर्षको तुलनामा २०/२५ रुपैयाँसम्म सस्तो तेल नेपालमा पाइने गरेको थियो, अहिले महँगो छ,' उनले भने 'हाम्रो डिजेल/पेट्रोल खपत आयात निर्यातमा प्रयोग हुने ढुवानीले ठूलो हिस्सा ओगटेको छ र यी साधनले भारतीय बजारमा डिजेल पेट्रोल हाल्दा पनि आयात घटेको हुन सक्छ।'
मूल्य घट्दा उपभोक्तालाई राहत
भन्सार विभागको तथ्यांकअनुसार समग्र पेट्रोलियम पदार्थको आयात परिमाणको आधारमा चार प्रतिशतले बढेको छ।
तर आयात मूल्य भने गत वर्षको तुलनामा ७.५ प्रतिशतले घटेको छ।
गत वर्ष चार महिनामा ९८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। चालु वर्षमा भने आयात मूल्य १० अर्ब रुपैयाँ घटेको छ। यो अवधिमा ८८ अर्ब ९८ करोड ४४ लाख रुपैयाँको आयात भएको छ।
यसले नेपालको मूल्यवृद्धि नियन्त्रणमा समेत सहयोग पुगेको छ। ०७९ मंसिरमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ रहेकोमा अहिले घटेर १७० रुपैयाँ रहेको छ।
गत वर्ष मंसिरमा प्रतिलिटर १७८ रहेको डिजेलको मूल्य अहिले घटेर १६० रुपैयाँमा झरेको छ।