उत्तरी छिमेकी चीनसँग नेपालको व्यापार बढ्न थालेको छ। २०७२ सालको भूकम्पपछि सुस्त रहेको चीनसँगको व्यापार चालु वर्षमा उल्लेखनीय बढेको छ।
चालु वर्षको पहिलो चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा समग्र व्यापार ४.१५ प्रतिशतले घटेको छ। तर, चीनसँगको व्यापार भने ३५ प्रतिशतले बढेको छ।
गत वर्ष पहिलो चार महिनामा २० करोड ४८ लाख रूपैयाँको सामान नेपालबाट चीन गएको थियो। त्यस्तै, ७४ अर्ब ६० करोड ७३ लाख रूपैयाँको सामान चीनबाट नेपाल आएको थियो।
यो वर्ष भने निर्यात चार गुणाले बढेर ८३ करोड ५४ लाख रूपैयाँको पुगेको छ। आयात ३२ प्रतिशतले बढेर एक खर्ब २५ करोड ३६ लाख रूपैयाँको पुगेको छ।
अझ नेपाल चीन व्यापारमा स्थल मार्गबाट हुने कारोबार उल्लेखनीय भएको छ। मुख्यतः तातोपानी र रसुवा नाकाबाट नेपाल चीनको स्थल मार्गबाट कारोबार हुने गरेको छ।
आर्थिक वर्ष २०७६–७७ को मध्यतिरबाट स्थल मार्गबाट पूर्ण निर्यात रोकिएको थियो भने आयात थप घटेको थियो। गत वर्षको अन्तिमबाट निर्यात सुरू भएको हो।
गत वर्षको पहिलो चार महिनामा यी दुबै नाकाबाट एक रूपैयाँको पनि वस्तु निर्यात भएको थिएन। चालु वर्षको पहिलो चार महिनामा ४४ करोड ७० लाख रूपैयाँको वस्तु निर्यात भएको छ। चीनसँग भएको समग्र निर्यातमा स्थल मार्गको योगदान शून्यबाट ५३ प्रतिशत पुगेको छ।
स्थल मार्गबाट हुने आयात गत वर्षको चार महिनाको तुलनामा करिब तीन गुणाले बढेको छ। वर्ष २०७९ को साउन, भदौ, असोज र कात्तिकमा करिब ११ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।
समग्र आयात व्यापारमा यी दुई नाकाको योगदान दुई प्रतिशत मात्रै थियो। वर्ष २०८० को यही चार महिनामा करिब २८ अर्ब एक करोड रूपैयाँ बराबरको पुगेको छ। समग्र आयात दुई नाकाको योगदान पाँच प्रतिशत पुगेको छ।
स्थल मार्गबाट बढेको व्यापारका साथै रसुवा र तातोपानी नाकामा बढेको चहलपहलले व्यवसायी उत्साहित भएका छन्। स्थल मार्गबाट हुने व्यापारले उल्लेखनीय लागत घट्ने व्यवसायीको भनाइ छ।
पानीजहाज र हवाईबाट सामान आयात गर्दा महँगो पर्छ। जसले सामानको लागत बढाउँछ भने पानीजहाजबाट समय पनि धेरै लाग्ने गरेको व्यवसायीको गुनासो छ।
हवाई मार्ग, सामुन्द्रिक मार्ग तथा स्थल मार्गबाट चीनसँगको वस्तु व्यापार हुने गरेको छ। धेरै सामान भने सामुन्द्रिक मार्गबाट ल्याइन्छ। समुन्द्र मार्गबाट हुने ढुवानीमा भारतका दुई बन्दरगाह बिशाखापटनम र कलकत्ता हुँदै आयात गरिन्छ।
हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठका अनुसार सबैभन्दा सहज स्थल मार्गबाट ढुवानी गर्दा हुन्छ।
सामुन्द्रिक मार्गबाट भारत हुँदै ल्याउँदा सामान आयात गर्न कम्तीमा डेढ महिना लाग्ने र भाडादर पनि महँगो पर्ने उनले बताए।
तर, स्थल मार्गबाट सामान ल्याउँदा बढीमा १५ दिनभित्र सामान आउँछ भने भाडा दर प्रतिकन्टेनर एक लाख रूपैयाँ सस्तो पर्छ।
'हामीले स्थल मार्गबाट नै कारोबार बढाउनु पर्ने हुन्छ, यो हुँदा हाम्रो लागत सस्तो पर्छ उपभोक्तालाई मूल्य कम पर्छ,' अध्यक्ष श्रेष्ठले भने, 'निर्यातमा पनि स्थल मार्गबाट सामान पठाउन प्रतिस्पर्धा गर्न सजिलो हुन्छ।'
आयात व्यापार सहज भए पनि निर्यातमा अहिले पनि गैर भन्सार अवरोधहरू रहेको व्यवसायीको गुनासो छ।
'लामो समय निर्यात नै भएन अहिले बढेको छ। तर गैर भन्सार अवरोध हटाउन सकियो भने थप बढाउन सकिन्छ,' एक व्यवसायी भने।
हाल नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति, तामाका तथा माटोका भाँडा लगायतका वस्तु चीन निर्यात भएको छ। चीनले नेपाललाई आठ हजार ९३२ वस्तुमा भन्सार छुट दिए पनि त्यसको लाभ उठाउन भने सकेको छैन। मूलतः चीनसँग नेपालले आयात व्यापार मात्रै गरेको देखिन्छ।
चालु वर्षको चार महिनाको अवधिमा नेपालले ७४ पैसाको सामान बेच्दा चीनबाट एक सय रूपैयाँ बराबरको सामान आयात गरेको छ। जबकी अर्को छिमेकी देश भारतसँग भने एक रूपैयाँको सामान बेच्दा नौ रूपैयाँ ५१ पैसा बराबरको सामान आयात भएको छ।