माग बढाउनको लागि बजारको विश्वास जित्न सरकार र राष्ट्र बैंकले एकपछि अर्को कदम अघि बढाएको छ। लामो समयदेखि रोकिएको कित्ताकाट खुला, ऋण विस्तारको लागि सहज नीति तथा व्यवसायीले उठाउँदै आएका आएका विभिन्न मार्गदर्शनको संशोधन यसैका उदाहरण हुन्।
बजारमा माग र उत्पादन नबढ्दा बैंकिङ क्षेत्रमा कर्जाको माग नबढ्ने बजारमा लगानी नहुने अवस्था सिर्जना भएको थियो। नेपाल राष्ट्र बैंकले बिहीबार मात्रै सेयर, घर तथा आवास र अटो कर्जा विस्तार गर्ने गरी नीति यसको सीमा बढाएको छ।
ऋण प्रवाह बढाउनका लागि कतिपय कर्जाको जोखिम भार घटाएको छ भने कर्जा नोक्सानीको व्यवस्था घटाएको छ।
ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण थपिएको समय बढाएर पुस मसान्तसम्म पुर्याएको छ। एकै प्रकारको ऋणमा अधिकतम दुई प्रतिशतभन्दा बढीको अन्तर हुन नपाइने व्यवस्था गरेको छ।
अब सेयर कर्जा व्यक्तिगत १५ करोड र संस्थागत २० करोड लिन पाइने भएको छ। गत वर्ष व्यक्तिगत ४ करोड र संस्थागत १२ करोडको व्यवस्था गरिएको थियो। घर कर्जा धितोको ५० प्रतिशत लिन पाइने भएको छ। यसअघि काठमाडौं उपत्यकामा ४० प्रतिशत मात्रै थियो।
असल कर्जामा राख्नुपर्ने न्यूनतम कर्जा नोक्सानी व्यवस्था १.२ प्रतिशतमा झारिएको छ। यसअघि १.३ प्रतिशत थियो। अटो कर्जामा १५० प्रतिशत जोखिम भार रहेकोमा १२५ प्रतिशतमा झारिएको छ।
उल्लेखित माग बैंकर र निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आइरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीकर्ताको आत्मविश्वास बढाउन अहिलेको व्यवस्था उपयोगी हुने बताए।
‘अहिले सबैको आत्मविश्वास गुमेको देखिन्छ, यसले सबैतर्फ असर गरेको सन्दर्भमा अहिलेको व्यवस्थाले सकारात्मक प्रभाव पार्ने छ,’ उनले भने।
राष्ट्र बैंकले अघि बढाएका कदम मात्रै पर्याप्त नभए पनि सहयोगी भएको उनको भनाइ छ। साथै अहिलेको समयमा सरकार राष्ट्र बैंकले लिने नीति र व्यवस्थाहरू शंका गर्ने सुविधा नराखेर लिन पनि आग्रह गरे।
‘अहिले जतिसक्यो आत्मविश्वास बढाउने समय हो, तर अब के गर्ने हो भनेर शंका गर्ने गरी अरू नीति पनि सँगै लियो भने आत्मविश्वास बढ्दैन,’ उनले भने।
अघिल्लो पटक राष्ट्र बैंकले लचिलो भएर चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि पनि ठूला ऋणी सुपरीवेक्षण गर्न छुट्टै मार्गदर्शन लिएको थियो। यसले ऋणमा नकारात्मक प्रभाव परेको उनले बताए।
साथै उनले व्यवसायीका मागअनुसार केही लचिलो नीति लिए पनि किस्तावन्दीमा काम गरेको भन्दै एकैपटक कदम चाल्न पनि आग्रह गरे।
यद्यपि अहिलेको व्यवस्थाबाट बजारको आत्मविश्वास बढ्ने तथा यसले बैंकमा लगानीको माग बढ्नुका साथै बजारमा लगानी छरिने बताए।
उद्योगी प्रवलजंग पाण्डे पनि अहिलेको व्यवस्थाले बजार चलायमान बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिए। लामो समयदेखि बजार चलायमान हुन सकेको छैन, राष्ट्र बैंक अहिले केही लचिलो बनेर कर्जा विस्तारलाई सहयोग पुर्याउने नीति लिएको छ, यसले बजार चलायमान बनाउने छ,’ उनले भने।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबारमा पनि यो व्यवस्थाले लाभ पुर्याउने बताए। उनले राष्ट्र बैंक लचिलो देखिए पनि पर्याप्त नभएको तर्क गरे।
‘लामो समयदेखि रोकिएको कित्ताकाट खुलेपछि केही चलायमान भएको छ, यता ऋण लिन पाउने सुविधा पनि केही बढेकोको कारण यसको सकारात्मक असर देखिएला, तर यसलाई धितोको कम्तीमा ७० प्रतिशत पुर्याउनु पर्छ, विगतमा ८० प्रतिशतसम्म थियो,’ उनले भने।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासस्वरूप नै राष्ट्र बैंकले लचिलो व्यवस्था गरेको बताए। उनले अहिलेको व्यवस्थाबाट बैंक र व्यवसायी दुबैलाई सहयोग पुग्ने बताए।
‘ऋणी र बैंक दुबैलाई राहत पुग्ने गरी कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचानको व्यवस्था गरिएको छ, जोखिम भार घटाइएको छ, यसले ऋण लिने र दिने दुबैलाई सहयोग पुग्ने छ,’ उनले भने।
भट्टले व्यवसायी र बैंकरले राखेका माग सम्बोधन गर्ने प्रयास गरिएको बताए। राष्ट्र बैंकले यसअघि व्यवसायीले उठाउदै आएको चालु पुँजी कर्जा मार्गदर्शन संशोधन तथा लचिलो बनाएको थियो।
संशोधित मापदण्डअनुसार उत्पादनमूलक उद्योगमा जाने तीन करोडसम्मको कर्जामा चालु पुँजी कर्जा मागर्दशन लागू नहुने, चालु पुँजी कर्जाको खाता वर्षमा एकपटक शून्य राख्नुपर्ने यसअघिको प्रावधान सच्याएर १० प्रतिशतसमेत राख्न सकिने, गतिशील किसिम चालु पुँजी कर्जा, कारोबार रकमको आधारमा ४० प्रतिशतसम्म पाउने र स्थायी प्रकृतिको (पर्मानेन्ट) कर्जा ५० प्रतिशतसम्म लिन पाइने व्यवस्था गरिएको छ।