प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणको क्रममा स्थलमार्गबाट हुने व्यापार सहजीकरण गर्नको लागि व्यवसायीहरूले आग्रह गरेका छन्।
नेपाल र चीनको स्थलगत व्यापार रसुवागढी र तातोपानी नाकाबाट मात्रै हुने गरेको छ।
यी दुबै नाकाबाट २०७२ साल यता सहज रूपमा व्यापार हुन नसकेको सन्दर्भमा व्यवसायीहरूले दीर्घकालीन समस्या समधान खोज्न आग्रह गरेका छन्।
नेपाल चीन विजनेश समिटको क्रममा समेत नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल चीनस्थलगत मार्गबाट सहज आयात निर्यातको हुन नसेको भन्दै सहजीकरण गर्नु पर्ने बताए।
त्यस्तै, चाईना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)सँगको छलफलमा नेपाल चेम्बर अफ कमर्शले नाका सहज नहुँदा नेपाल चीन व्यापारमा अवरोध आएको भन्दै दुबै देशको निजी क्षेत्रबाट यसको लागि पहल गरिनु पर्ने बताए।
विभिन्न समयमा अवरोध भएपनि रसुवा र तातोपानी दुबै नाकाबाट सामान आयात भइरहेको छ। तर, तातोपानी नाकाबाट पछिल्लो चार वर्षदेखि एक रूपैयाँको पनि सामान निर्यात हुन सकेको छैन। २०७२ को भूकम्पपछि नै आयात निर्यातमा अवरोध भए पनि २०७६ कात्तिकदेखि तातोपानी नाका हुँदै एक रूपैयाँको पनि सामान निर्यात नभएको भन्सार विभागको तथ्यांक रहेको छ।
यता २०७६ माघदेखि निर्यात रोकिएको रसुवा नाकाबाट गत वर्ष पुसबाट मात्रै सामान निर्यात सुरू भएको थियो।
आयातको तुलनामा निर्यातको हिस्सा भने निकै न्यून रहेको छ। यद्यपी स्थलगतमार्गबाट सामान पठाउन सक्दा चीनसँग निर्यात बढेको देखिन्छ। चालु आर्थिक वर्षको दुई महिनामा चीनतर्फ ५४ करोडको सामान निर्यात हुँदा २९ करोडको सामान रसुवा भन्सार कार्यालयबाट मात्रै भएको छ।
नेपाल चीन आयात निर्यात व्यापारको अवस्था
नेपाल-चीन व्यापार |
वर्ष | आयात | निर्यात | व्यापारमा निर्यातको योगदान प्रतिशतमा |
२०७४/७५ | १ खर्ब ५९ अर्ब ९८ करोड | २ अर्ब ४७ करोड | १.५ |
२०७५/७६ | २ खर्ब ५ अर्ब ५१ करोड | २ अर्ब १० करोड | १.०१ |
२०७६/७७ | १ खर्ब ८१ करोड ९२ लाख | १ अर्ब १९ करोड | १.०३ |
२०७७/७८ | २ खर्ब ३३ अर्ब ९२ करोड | १ अर्ब १ करोड ६० लाख | ०.४ |
२०७८/७९ | २ खर्ब ६४ अर्ब ७८ करोड | ८० करोड ८७ लाख | ०.३ |
२०७९/८० | २ खर्ब २२ अर्ब ७१ करोड | १ अर्ब ७६ करोड ५७ लाख | ०.७ |
*२०८०/८१ (दुई महिनामा) | ४६ अर्ब ५४ करोड | ५४ करोड ३३ लाख | १.१५ |
गतवर्ष पुस यता डेढ वर्षको अवधिमा रसुवा नाकाबाट २७ अर्ब २५ करोड रूपैयाँको सामान आयात भएको छ। तर यही समयमा निर्यात भने डेढ अर्ब रूपैयाँको मात्रै भएको छ।
स्थलगतमार्गबाट निर्यात गर्नको लागि रसुवा मात्रै विकल्प भएपछि पछिल्ला महिनाहरू निर्यात बढेको व्यवसायीहरूको भनाइ छ। गत आर्थिक वर्षको पुस महिनादेखि चैत महिनासम्म २१ करोड ७० लाख रूपैयाँको सामान आएकोमा वैशाखमा मात्रै ६६ करोड ५६ लाख रूपैयाँको सामान निर्यात भएको थियो।
चालु वर्षको साउनमा पनि करिब साढे २२ करोडको सामान निर्यात भएकोमा साउनमा भने सात करोड ३९ लाख रूपैयाँको निर्यात भएको छ।
कुन महिना कति निर्यात
अवरोध हटेपछि रसुवा नाकाबाट भएको निर्यात |
पुस, २०७९ | चार करोड ९३ लाख |
माघ, २०७९ | पाँच करोड २४ लाख |
फागुन, २०७९ | चार करोड ४६ लाख |
चैत, २०७९ | ६ करोड ८७ लाख |
वैशाख, २०८० | ६६ करोड ५६ लाख |
जेठ, २०८० | १३ करोड १२ लाख |
असार, २०८० | १८ करोड ४१ लाख |
साउन , २०८० | २२ करोड ४१ लाख |
भदौ, २०८० | सात करोड ३९ लाख |
रसुवा नाकाबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति, तामाका तथा माटाका भाँडा लगायतका वस्तु चीन निर्यात गरिने गरेको छ। भन्सार अधिकारी र व्यवसायीहरूले स्थलगत मार्ग खोलिदिँदा आयात निर्यात सस्तो पर्ने तर्क गर्छन्।
तातोपानी र रसुवा नाका दुबैबाट आयात बढ्न थालेपछि भन्सार चहलपहल बढेको छ। तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण बास्तोलाका अनुसार चीनतर्फबाट अहिले गैर-भन्सार अवरोधहरू कम भएको छ भने भन्सार परीक्षण छिटो गरिएको छ।
'विगतमा डेढ महिनासम्म पनि भन्सार परीक्षण नगर्ने र त्यसले सामान बिग्रिने, लागत बढ्ने गरेको थियो। अहिले २४ घण्टाभित्रै परीक्षण भएको छ,' बास्तोलाले भने।
हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले पटक-पटक नाका अवरोध गरिने कारण खोजेर दीर्घकालिन समधान खजिनु पर्ने बताउँछन्। अहिले भने व्यापारमा सहज भएको भन्दै सधै यस्तै अवस्था हुनुपर्ने उनको भनाइ छ।
'विभिन्न बाहानामा नाका अवरोध गरिएको थियो, कहिले बन्द हुन्छ कहिले खुल्छ थाहा नै नहुने,' उनले भने, 'तत्काल भन्सार पास गराउने पर्ने सामान समेत डेढ/दुई महिनासम्म भन्सारमा रोकिने गर्यो, कति व्यfपारी त पलायन नै भएका छन्, अहिले भने सहज भएको छ।'
नेपाली पक्षसँग कुनै छलफल नै नगरी चिनियाँ नाका पटक-पटक अवरोध हुँदै आएको नेपाली व्यवसायीहरूले गुनासो गर्दै आएका छन्।