देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढेको देखिएको छ।
गत वर्ष साउनबाट मासिक ४९ लाख रूपैयाँको सिमेन्ट निर्यात सुरू भएकोमा पछिल्लो ६ महिनादेखि मासिक १० करोड रूपैयाँभन्दा बढीको निर्यात भएको छ।
निर्यात सुरू भएको १४ महिनामा एक अर्ब २० करोड रूपैयाँको सिमेन्ट र क्लिंकर भारतीय बजारमा बिक्री भएको छ।
सरकारले सिमेन्ट निर्यातको लागि अनुदान तथा छुटको व्यवस्था गरेसँगै नेपाली सिमेन्ट उत्पादकले भारतीय बजारमा सिमेन्ट बेच्न सुरू गरेका थिए।
गत वर्षको बजेटबाट सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको थियो।
हाल नेपालबाट पाल्पा सिमेन्ट, अर्घखाँची सिमेन्ट, बालाजी सिमेन्ट र सिजी सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन्।
गत वर्ष साउनमा पहिलो पटक पाल्पा सिमेन्टले ४१ लाख रूपैयाँको सिमेन्ट निर्यात गरेर भारतीय बजारमा बेच्न सुरू गरेकोमा एक वर्षको अवधिमा चार वटा उद्योगले भारत सिमेन्ट पुर्याउन थालेका छन्।
गत वर्ष साउन र भदौमा भएको सिमेन्टको तुलनामा चालु वर्षको साउन र भदौमा भएको सिमेन्ट क्लिंकरको निर्यात ४६ गुणा बढी छ। सिमेन्टको निर्यात गत वर्ष साउनबाट सुरू भए पनि क्लिंकरको निर्यात भने गत वर्ष असोजबाट मात्रै सुरू भएको थियो।
कुन महिना कति भयो निर्यात
- साउन २०७९ मा (पहिलो महिना)– ४९ लाख रूपैयाँ
- भदौ २०७९– ४० लाख रूपैयाँ
- असोज २०७९– एक करोड २६ लाख रूपैयाँ
- कात्तिक २०७९– एक करोड ३५ लाख रूपैयाँ
- मंसिर २०७९– ९१ लाख रूपैयाँ
- पुस २०७९– चार करोड २० लाख रूपैयाँ
- माघ २०७९– आठ करोड सात लाख रूपैयाँ
- फागुन २०७९– १३ करोड ७६ लाख रूपैयाँ
- चैत २०७९– ११ करोड ७६ लाख रूपैयाँ
- वैशाख २०८० मा– १३ करोड १२ लाख रूपैयाँ
- जेठ २०८०– १२ करोड ३२ लाख रूपैयाँ
- असार २०८०– १० करोड २९ लाख रूपैयाँ
- साउन २०८०– २३ करोड ५० लाख रूपैयाँ
- भदौ २०८०– १८ करोड ३४ लाख रूपैयाँ
भारतमा तयारी सिमेन्टभन्दा बढी क्लिंकर निर्यात भएको छ। क्लिंकर सिमेन्ट अर्धतयारी कच्चा पदार्थ हो। चालु वर्षको दुई महिनामा २५ करोड ३६ लाख ४३ हजार रूपैयाँको एक लाख ११ हजार १०६ टन क्लिंकर निर्यात भएको छ।
त्यस्तै, १६ करोड ४८ लाख ४३ हजार रूपैयाँको दुई लाख २७ हजार ३०२ टन पिपिसी सिमेन्ट निर्यात भएको छ। भारतीय बजारमा क्रमशः माग बढ्दै जान थालेपछि नेपाली सिमेन्ट उत्पादहरूले भारतीय बजारमा विज्ञापन समेत गर्न सुरू गरेका छन्।
सिमेन्टको निर्यातमा सुधार भए पनि आन्तरिक माग बढ्न नसकेको कारण उत्पादन भने घटेको छ। सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार अहिले सिमेन्टको उत्पादन क्षमता २५ देखि ३० प्रतिशत मात्रै रहेको छ।
सिमेन्टको लागि यो समय अफ सिजन मानिन्छ। तर, गत वर्ष यसै समयमा ३५ प्रतिशतसम्म क्षमतामा उद्योग चलेपनि अहिले थप घटेको उनले बताए।
'अहिले अफ सिजन पनि हो तर विगतमा यही समयमा हुने माग पनि अहिले छैन, कात्तिक मंसिरपछि माग बढ्न सक्छ,' थापाले भने।
सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपाली सिमेन्ट उद्योगहरूको वार्षिक उत्पादन क्षमता दुई करोड ५० लाख टन पुगेको छ।