२०७२ को भूकम्पपछि विभिन्न कारण देखाउँदै सहज व्यापार हुन नसकेको तातोपानी र रसुवा नाकाबाट कारोबार बढ्न थालेको छ।
तातोपानी र रसुवा भन्सार नाका चीन र नेपाल बीचको प्रमुख स्थलगत नाका हो।
पछिल्लो आठ वर्षदेखि सरकारले चीनतर्फका यी नाकाबाट लक्ष्यअनुसार राजस्व उठाउन सकेको थिएन। व्यापारीहरू भने भन्सार अवरोधको समस्या कूटनीतिक पहलबाट समधान गर्न सरकारलाई आग्रह गर्दै आएका थिए। यही साउनबाट भने रसुवा र तातोपानी दुवै भन्सार कार्यालयबाट उल्लेख्य कारोबार बढेको व्यापारीहरूले बताएका छन्।
साउन महिनामा उठेको राजस्व तथ्यांकले पनि यी दुई नाकाबाट उल्लेख्य कारोबार भएको देखाएको छ।
भन्सार विभागले साउन महिनामा कुल ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ३२ अर्ब ६६ करोड रूपैयाँ मात्रै भन्सार राजस्व उठेको छ। साउन महिनामा लक्ष्यको तुलनामा बढी राजस्व उठाउने तीन वटा भन्सार कार्यालय मात्रै छन्।
प्रमुख १० भन्सार नाकाको साउनको राजस्व लक्ष्य र प्राप्ति
भन्सार कार्यालय | लक्ष्य | प्राप्ति |
भैरहवा | आठ अर्ब २९ करोड | ६ अर्ब ४८ करोड |
विराटनगर | तीन अर्ब ५० करोड | दुई अर्ब ८५ करोड |
वीरगञ्ज | १५ अर्ब ६२ करोड | ११ अर्ब ८६ करोड |
सुख्खा बन्दरगाह | चार अर्ब २५ करोड | चार अर्ब आठ करोड |
मेची | एक अर्ब १५ करोड | एक अर्ब ११ करोड |
नेपालगञ्ज | एक अर्ब ८१ करोड | एक अर्ब ४१ करोड |
त्रिभुवन विमानस्थल | दुई अर्ब ११ करोड | एक अर्ब ८८ करोड |
रसुवा | ८० करोड | एक अर्ब चार करोड |
तातोपानी | ३२ करोड | ५३ करोड |
जनकपुर | ७२ करोड | ४७ लाख |
लक्ष्यको तुलनामा सबैभन्दा बढी राजस्व संकलन गर्ने नाका तातोपानी भएको छ। तातोपानी भन्सार नाकाबाट साउनमा ३२ करोड रुपैयाँको राजस्व उठाउने लक्ष्य राखिएकोमा ५३ करोड रूपैयाँको उठेको छ। यो लक्ष्यको तुलनामा ६५ प्रतिशत बढी हो।
त्यस्तै, रसुवा भन्सार कार्यालयबाट साउनमा ८० करोड रूपयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ४ करोड रूपैयाँको राजस्व उठेको छ। तातोपानी र रसुवा नाकाबाट साउनमा एक अर्ब १२ करोडको भन्सार महसुल उठ्ने लक्ष्य लिएकोमा एक अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
'विगतमा लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठ्न सकेको थिएन अहिले तातोपानीबाट मात्रै लक्ष्यको तुलनामा १६५ प्रतिशत राजस्व उठेको छ, कारोबार बढेको छ,' तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण बास्तोलाले भने, 'पछिल्लो दिनमा त दैनिक साढे दुई करोडको राजस्व उठिरहेको छ।'
उनका अनुसार चीनतर्फबाट अहिले गैर-भन्सार अवरोधहरू कम भएको छ भने भन्सार परीक्षण छिटो गरिएको छ।
'विगतमा डेढ महिनासम्म पनि भन्सार परीक्षण नगर्ने र त्यसले सामान बिग्रने, लागत बढ्ने गरेको थियो। अहिले २४ घण्टा भित्रै परीक्षण भएको छ,' बास्तोलाले भने।
तातोपानी नाकामा मानिसको आवातजावतमा अझै रोक लगाइए पनि पहिलेको तुलनामा तातोपानी नाका सहज भएको हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठ बताउँछन्।
'विभिन्न बाहानामा नाका अवरोध गरिएको थियो, कहिले बन्द हुन्छ कहिले खुल्छ थाहा नै नहुने,' उनले भने, 'तत्काल भन्सार पास गराउने पर्ने सामान समेत डेढ/दुई महिनासम्म भन्सारमा रोकिने गर्यो, कति व्यपारी त पलायन नै भएका छन्, अहिले भने सहज भएको छ।'
चिनियाँ नाकाबाट आयात निर्यात गर्ने व्यवसायी बच्चुनारायण पौडेल पनि अहिले तातोपानी नाका सहज भएको बताउँछन्।
'पहिलेको तुलनामा निकै सहज भएको छ गैर-भन्सार अवरोधहरू कम भएका छन्,' पौडेलले भने, 'रसुवा नाकामा अहिले कुनै पनि अवरोध छैन तातोपानी नाकामा पैदल यात्रु आवत जावत पनि हुन थालेपछि अझै व्यापार बढ्ने छ।'
नेपाली पक्षसँग कुनै छलफल नै नगरी चिनियाँ नाका पटक-पटक अवरोध हुँदै आएको नेपाली व्यवसायीहरूले गुनासो गर्दै आएका छन्। भूकम्पपछि तातोपानी नाका चार वर्ष पूर्ण बन्द भएको थियो। त्यसपछि पुन: कोभिडको कारण देखाएर अवरोध गरिएको थियो।
गत वर्ष दसैंका सामान चीनको सडकमा आइपुगेपछि लामो समय नाका बन्द गरेको थियो।अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ।