एकै आर्थिक वर्षमा नेपालबाट हुने निर्यात २१.४ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब रूपैयाँको वस्तु नेपालबाट निर्यात भएको थियो। गत वर्ष २०७९/८० मा ४३ अर्ब रूपैयाँले घटेर एक खर्ब ५७ अर्ब रूपैयाँको मात्रै भयो।
२१ प्रतिशतको गिरावट आउँदा पनि व्यापार तथा निकासी प्रवर्द्धन बोर्डले भने निर्यातलाई सन्तोषजनक भनेको छ।
आयातमा आधारित निर्यात हिस्सा कम हुँदै गएको, धेरै मूल्य अभिवृद्धि हुने र नेपाली कच्चा पदार्थमा आधारित उत्पादनको निर्यात बढेको छ।
'समग्रमा निर्यात घटे पनि अधिकांश वस्तुको निर्यात बढेको छ। यसलाई सन्तोषजनक मानेका छौं,' व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले भने।
व्यापार विज्ञ पुरूषोत्तम ओझा गत वर्षको आयातको प्रभाव निर्यातमा देखिएको बताउँछन्। उनका अनुसार गत वर्ष निर्यात घट्नुको प्रमुख कारण नै तेल हो।
'भारतले तेल निर्यातमा नयाँ नीति लिएसँगै नेपालबाट तेलको निर्यात घटेकाे र आयात पनि कम भयो,' ओझाले भने।
नेपाल राष्ट्र बैंकको नेपालको वैदेशिक व्यापार प्रवृत्ति अध्ययन प्रतिवेदन हेर्यो भने २०५० को दशकमा नेपालबाट विदेशी बजारमा सबैभन्दा बढी निर्यात हुने वनस्पति घ्यू थियो। निर्यात हुने मात्रै होइन, आयातमा पनि वनस्पति घ्यू अग्रस्थानमा छ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यका अनुसार विगतदेखि नै भारत र नेपालमा हुने भन्सार भिन्नतामा नेपाल-भारतको आयात निर्यातको तथ्यांक फरक देखिन्छ।
'पञ्चायतकालदेखि नै भारतमा भन्दा नेपालमा भन्सारदर कम भयो भने तेस्रो मुलुकबाट नेपालमा कच्चा पदार्थ ल्याउने र भारत निकासी बढाउने गरेको पाइन्छ,' आचार्यले भने।
विगतको निर्यातलाई विज्ञहरूले स्वेलिङ (फुलाइएको) निर्यात भन्ने गरेका थिए। नेपालमा सामान्य मात्रै (१५/२० प्रतिशतको) मूल्य अभिवृद्धि गरेर आयातकै भरमा निर्यात गरिने लाभ उठाउने गरेका थिए। भारतले सम्बन्धित देशहरूबाट नै तेलको निर्यात गर्न थालेपछि नेपालबाट निर्यात घटेको छ।
आर्थिक वर्ष २०७८/७९ मा भएको कुल निर्यातमा ४७ प्रतिशत योगदान सूर्यमुखी, पाम र भटमासको तेलको थियो। त्यस आर्थिक वर्षमा दुई खर्बको सामान निर्यात भएकोमा यी तीन प्रकारको तेल मात्रै ९४ अर्बको भएको थियो।
गत वर्ष भने जम्मा ३३ अर्ब रूपैयाँको मात्रै यस्तो तेल निर्यात भएको छ। आर्थिक वर्ष २०७९/८० मा भएको एक खर्ब ५७ अर्बको जम्मा निर्यातमा यी तेलको योगदान २१ प्रतिशतमा झरेको थियो।
समग्र निर्यात ४३ अर्बले घट्दा यी तीन प्रकारको तेलमा मात्रै ६१ अर्ब रूपैयाँले कमी आएको छ।
यी तीन प्रकारको तेलमा नेपालको उत्पादन होइन, तेस्रो मुलुकबाट निर्यात गर्ने र भारतले नेपाललाई दिएको छुटलाई प्रयोग गर्दै नेपालबाट भारत निर्यात हुने गरेको थियो। गत वर्ष भारतले सम्बन्धित देशबाट तेल ल्याउँदा पनि भन्सार घटाएपछि नेपालबाट हुने निर्यात उल्लेख्य घट्यो।
तर नेपाली कच्चा पदार्थमा आधारित तथा मूल्य अभिवृद्धि बढी हुने वस्तुको आयात उल्लेख बढेको छ। सबैभन्दा बढी फलाम तथा स्टिलकाे उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/७९ मा जम्मा ३ अर्ब ८७ करोड आइरन स्टिलको निर्यात भएकोमा गत वर्ष १० अर्ब ८२ करोड पुगेको छ।
प्रमुख निर्यात बढेका पाँच उत्पादन
|
सामान
|
निर्यात भएको रकम
|
अघिल्लो वर्षको तुलनामा वृद्धिदर
|
फलाम तथा स्टिल
|
१० अर्ब ८२ करोड
|
१७९ प्रतिशत
|
उनी कार्पेट
|
११ अर्ब ५० करोड
|
२० प्रतिशत
|
अलैंची
|
८ अर्ब २७ करोड
|
७२ प्रतिशत
|
तयारी पोसाक
|
८ अर्ब ६१ करोड
|
९.५ प्रतिशत
|
जुस
|
६ अर्ब ६३ करोड
|
९.२
|
गत वर्ष पाम, सूर्यमुखी तथा भटमास तेलसँगै धागो, जुट र जुटका उत्पादन, उनीबाट बुनेका कपडा, अन्य कपडा, कटनका बोरा तथा झोला, जुस, कागज तथा कागजका उत्पादनहरूको निर्यात घटेको छ।
धेरै निर्यात हुनेमध्ये गत वर्ष निर्यात घटेका पाँच वस्तु
|
सामान
|
निर्यात भएको रकम
|
अघिल्लो वर्षको तुलनामा वृद्धिदर
|
पाम तेल
|
२० अर्ब ५० करोड
|
-५०.५१ प्रतिशत
|
धागो
|
१२ अर्ब २० करोड
|
-२.९ प्रतिशत
|
भटमास तेल
|
८ अर्ब ४७ करोड
|
-८२.४ प्रतिशत
|
जुट र जुटका उत्पादन
|
७ अर्ब ६४ करोड
|
-४.१ प्रतिशत
|
सूर्यमुखी तेल
|
४४ करोड १८ लाख
|
-९० प्रतिशत
|