सुनचाँदीको आयात आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा साढे २५ अर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।
सुनको आयात २०७९/८० मा ३७ प्रतिशतले कम भएको छ। २०७८/७९ मा ३५ अर्ब ६१ करोड रूपैयाँको (ढिक्का सुन) सुन आयात भएको थियो। २०७९/८० मा २२ अर्ब ३५ करोड रूपैयाँको मात्रै छ।
त्यस्तै चाँदी आयात ८८ प्रतिशतले घटेको छ। २०७८/७९ मा अर्धतयारी (ढिक्का चाँदी) १३ अर्ब ९ करोड रूपैयाँ बराबरको आयात भएको थियो। २०७९/८० मा एक अर्ब ५१ करोड रूपैयाँको मात्रै आएको भन्सार विभागको तथ्यांक छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो एक दशक समयमा पहिलोपटक चाँदी आयात कम भएको हो। २०७०/७१ यता हरेक वर्ष चाँदी आयात उकालो लागेको थियो।
आयात मूल्यको हिसाबमा सुन र चाँदीमा २५ अर्ब ६५ करोड रूपैयाँ (झन्डै ५२ प्रतिशत) ले कमी आएको छ।
सरोकारवालाहरूका अनुसार यसरी आयात घट्नुका केही कारण छन् – सुनचाँदी आयातको परिमाण घटाइनु वा कोटा प्रणाली लागू हुनु, भन्सार महसुल बढ्नु, बजार मूल्य बढेर क्रय शक्ति घट्नु र अवैधानिक कारोबार बढ्नु प्रमुख हुन्।
यस्ता कारण भए पनि सुनचाँदी आयातमा अहिले आएको कमी अस्वाभाविक मानिएको छ। त्यसैले अवैधानिक कारोबार धेरै भएको शंका गर्ने ठाउँ रहेको सरकारी अधिकारी तथा सरोकारवालाहरूले बताएका छन्।
पूर्वसचिव चन्द्र घिमिरे यसबारे गम्भीर अनुसन्धान गर्न जरूरी रहेको बताउँछन्।
'सरकारी नीतिअनुसार आयात कम त भयो तर अहिले जुन हिसाबले घटेको छ, यो स्वाभाविक छ त भन्ने प्रश्न उब्जिएको छ,' उनले भने, 'यसबारे अनुसन्धान हुन जरूरी छ। तर सुनचाँदी यहाँ खपत गर्न मात्र ल्याइँदैन। त्यसैले निर्यात प्रयोजनका लागि ल्याइने सुनचाँदीमा आएको गिरावटले पनि आयात कम भएको हुन सक्छ।'
चाँदी आयात अस्वाभाविक बढेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि सरकारले कडाइ गरेको थियो। अहिले बजार मागको तुलनामा ३० प्रतिशत पनि आयात देखिँदैन। व्यवसायीहरूका अनुसार वार्षिक १० करोड ग्राम चाँदीको माग छ। तर गत वर्ष पाउडर र ढिक्का चाँदी समेत गर्दा करिब ३ करोड ग्राम मात्रै आएको छ। यो तथ्यांकले बजार मागमा ७० प्रतिशतले कमी आएको देखाउँछ।
व्यवसायी तेजरत्न शाक्य सुन आयात घट्नुका पछाडि भने मुख्य दुई कारण देख्छन् – कोटा घटाइनु र मूल्य अत्यधिक हुनु।
सरकारले २०७६ चैतबाट सुनको दैनिक आयात कोटा १० केजी तोकेको थियो। त्यसअघि २० केजी थियो। व्यवसायीहरूले निरन्तर माग गरेकाले एक वर्षपछि फेरि पहिलेकै परिमाणमा पुर्याइयो।
विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सरकारले फेरि २०७८ फागुनबाट १० केजीमा झारेको हो।
'कोटा कम भएकाले वैधानिक आयात हुन सकेन। त्यसको प्रभाव अहिले देखिएको छ,' उनले भने, 'त्यस्तै पछिल्ला महिनाहरूमा सुनको भाउ लगातार बढेकाले पनि कारोबार कम भएको हो।'
हालै त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब एक क्विन्टल सुन बरामदपछि भने अवैधानिक रूपमा आयात भएको आशंका झनै बढेको छ। अवैधानिक कारोबार बढेकैले वैधानिक कारोबार घटेको अनुमान पनि गरिएको छ।
'वैधानिक कारोबार निरूत्साहित गर्दा अवैधानिक कारोबार बढेको देखिन्छ। सुनचाँदीमा अहिलेको कोटाले बजार माग धान्दैन भनेर हामी सरकारलाई भनिरहेका छौं, सुनेकै छैन,' व्यवसायी शाक्यले भने, 'हामीले माग पुग्दैन भन्दै गर्दा बजारमा अभाव त छैन नि भनिन्छ। तर यसको कारण र असर के रहेछ, अहिले देखिँदैछ।'