सरकारले चालु आर्थिक वर्षको कर्मचारीको तलब/भत्ता, सामाजिक सुरक्षा भत्ता तथा निवृत्तिभरण बापतको दायित्व भुक्तानी सकेको छ।
सरकारी आयमा आएको कमी र निवृत्तिभरण तथा सामाजिक सुरक्षाको भत्ताको रकम वितरणमा विगतमा भएको ढिलाइले चालु वर्षमा भुक्तानी बाँकी रहन सक्ने आकलनसमेत कतिपय कर्मचारीले गरेका थिए। तर निर्माण व्यवसायीहरूको भुक्तानीमा समस्या देखिए पनि सरकारी कर्मचारीको तलब/भत्ता, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण लगायतका अनिवार्य दायित्व बापतको रकम आइतरबारसम्म भुक्तानी गरिएको महालेखा कार्यालयले जनाएको छ।
'अरू महिनाहरूमा २८–२९ गतेसम्म तलब भुक्तानी हुने गरेको थियो अहिले २४ गते तलब आएको छ,' राष्ट्रिय योजना आयोगमा कार्यरत एक उपसचिवले भने।
कार्यालयअनुसार कर्मचारीको तलब/भत्ता भुक्तानी भने फरक फरक मितिमा हुने गर्छ। तर आर्थिक वर्षको अन्तिम महिना भने एक साताअघि नै भुक्तानी गर्नुपर्ने हुन्छ।
'पछिल्लो दुई वर्षदेखि हामीले अन्तिम महिनाको तलब १५–२० गते नै हाल्ने गरेका थियौं। योपटक धेरै कार्यालयहरूको तलब आज गयो,' एक कोष लेखा नियन्त्रकले भने।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारले सम्बन्धित आर्थिक वर्षमा गरेको खर्च आर्थिक वर्ष सकिनुभन्दा कम्तीमा एक साता पहिले भुक्तानी गर्नुपर्ने हुन्छ। यही व्यवस्थाअनुसार आइतबार सरकारले अधिकांश निकायहरूको भुक्तानी गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
सरकारी आम्दानी र खर्चमा भएको असन्तुलन र अन्य प्राविधिक कारणले ठूलो मात्रामा पुँजीगत खर्चको भुक्तानी अझै भएको छैन भने कतिपय चालु खर्चको भुक्तानी पनि नभएको सरकारी अधिकारीहरूले बताएका छन्।
निर्माण व्यवसायीहरूका अनुसार हालसम्म ७० अर्ब रूपैयाँको भुक्तानी हुन बाँकी छ। यो आइतबार गरिएको भुक्तानी बाहेकको रकम हो।
यो वर्ष सरकारले गरेको विनियोजन रकम र यथार्थ खर्चबीच तालमेल नहुँदा भुक्तानीमा समस्या हुँदै आएको थियो। कर्मचारीको तलब, पूर्व कमर्चारीको पेन्सन र सामाजिक सुरक्षा भत्ताको रकमसमेत रकमान्तर गरेर भुक्तानी गर्नुपरेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले यो निवृत्तभरणका लागि ७४ अर्ब रूपैयाँ भुक्तानी भएको बताए।
सरकारले चालु आर्थिक वर्षमा ५३ अर्ब रूपैयाँ मात्रै निवृत्तिभरणमा राखेको थियो। तर २१ अर्ब रूपैयाँ थप निकासा लिएर भुक्तानी गरिएको हो।
'निवृत्तिभरण जस्तो अनिवार्य दायित्वमा समेत ३८ प्रतिशत भुक्तानी रकमान्तरबाट गर्नु परेको यो पहिलोपटक हो,' अर्थका एक अधिकारीले भने, 'विनियोजनमा गरिएको त्रुटिको कारण यो वर्ष भुक्तानी मिलान गर्न निकै समस्या परेको थियो, कतिपय हाम्रै कर्मचारीमा तलब नपाइने हो कि जस्तो आशंका थियो।'
तेस्रो त्रैमासको निवृत्तिभरण उपलब्ध गराउने क्रममा २० हजार शिक्षक र केही सेना प्रहरीको निवृत्तिभरणमा समस्या भएको थियो। त्यसपछि रकमान्तर गरेर भुक्तानी गरिएको थियो।
गत आर्थिक वर्षमा निवृत्तिभरणमा ६३ अर्ब रूपैयाँ खर्च भएकोमा यो वर्ष १७ प्रतिशतले वृद्धि भएको छ। कार्यालयका अनुसार दुई प्रतिशत निवृत्त हुने कर्मचारीको वृद्धि र १५ प्रतिशत तलब वृद्धिको कारणले भएको हो। १७ प्रतिशतको अतिरिक्त भार लाग्नेमा सरकारले यो वर्ष १५ प्रतिशत न्यून रकम छुट्ट्याएको थियो।
सामाजिक सुरक्षा बापतको रकम पनि रकमान्तर गरेर पूरा गर्नुपरेको पञ्जीकरण विभागका प्रतिनिधिले बताएका छन्।
त्यस्तै कर्मचारीको नियमित तलबसमेत यो वर्ष रकमान्तर गरेर भुक्तानी गरियो। आवश्यक रकम विनियोजन नगरेको कारण कतिपय कार्यालयहरूले दुईपटकसम्म रकमान्तर गरेर तलब खुवाउनु परेको हो।
तलब अपुग भएको खण्डमा एकपटकमा एक महिनाको खर्च नबच्ने गरी रकम माग गर्नुपर्ने बाध्यताको कारणले दोस्रोपटक पनि कतिपय कार्यालयले थप रकम माग गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकारीहरूको भनाइ छ।