डन्डी तथा बिलेट उद्योग 'सर्वोत्तम स्टिल' फलामजन्य ढुंगा प्रशोधन गरी डन्डी बनाउनेसम्मको पूर्ण चक्र निर्माणको तयारीमा लागेको छ।
सरकारले नेपालमै फलाम खानी, 'धौवादी' सञ्चालनमा ल्याउने तयारी समेत गरिएको अवस्थामा सर्वोत्तमले यस्तो तयारी गरेको हो।
'हामी डेढ-दुई वर्षमै फलामजन्य प्रशोधित ढुंगाबाट स्पन्ज आइरन पनि उत्पादन विस्तारको तयारीमा छौं,’ सर्वोत्तम स्टिलको माउ कम्पनी सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले सेतोपाटीसँग भने।
नेपालमा सञ्चालित अधिकांश उद्योगले अर्धतयारी वस्तुका रूपमा तयारी एमएस बिलेट (फलामका लामा/ठूला टुक्रा) आयात गरेर डन्डी उत्पादन गर्दै आएका छन्। २०७८ सालमा सर्वोत्तमले उत्पादन गर्नुअघि बिलेट उत्पादक कम थिए। सर्वोत्तमले ठूलो लगानीका साथ ठूलै परिमाणमा उत्पादन थालेपछि यसको बजार बढ्दै गयो। यसले अहिलेसम्मकै उच्च लगानी गरेर परवानीपुरमा बिलेटको उद्योग सञ्चालनमा ल्याएको थियो। योसँगै नेपालमै उत्पादित बिलेटको परिमाण पनि बढ्यो।
निर्माण सामग्री उत्पादनमा अग्रणी स्थान बनाइरहेको उद्योगले अब बिलेटको कच्चा पदार्थ, अर्थात् स्पन्ज आइरन (कच्चा फलाम स-साना टुक्रा) पनि बनाउने भएको हो। यसका लागि कम्पनीले हाल बिलेट उद्योग भएको ठाउँ परवानीपुरमै थप १५ बिघा जग्गा लिएको छ। त्यस्तै करिब ५ अर्ब रूपैयाँ लगानी थपिएको समूहका अध्यक्ष न्यौपानेले बताए।
लगानी र उत्पादन हिसाबले सबभन्दा ठूलो स्टिल उद्योग हो सर्वोत्तम। स्थिर र चालु पुँजी गरी आठ अर्ब रूपैयाँभन्दा धेरै लगानी छ। अब स्पन्ज आइरन बनाउने लगानी समेत थप्दा १३ अर्ब रूपैयाँभन्दा धेरै हुन्छ। उद्योगमा ६ सय जनाभन्दा धेरैले रोजगारी पाएका छन्।
हाल निर्माण सामग्रीको बजार घटेको छ। पहिले वार्षिक ७/८ खर्ब रूपैयाँ बराबरको निर्माण काम हुनेमा हाल तीन खर्ब हाराहारी मात्र छ। बजार सुस्त भए पनि सर्वोत्तमको उत्पादन भने बढेको छ।
उद्योगबाट अहिले आफ्नो ब्रान्डसँगै अरू कम्पनीका तीन ब्रान्डका डन्डी उत्पादन भइरहेकाले उत्पादन बढेको न्यौपानेले बताए। त्यस्तै नौवटा डन्डी उद्योगलाई सर्वोत्तमले बिलेट बिक्री गरिरहेको छ।
'बिजुलीको अवरोध र बजार माग कम भएकाले उद्योग पूर्ण क्षमतामा त चलेको छैन। तर पहिले बिलेट आयात गर्ने केही उद्योगलाई अहिले हामीले नै बेचिरहेका छौं। त्यस्तै केही कम्पनीको डन्डी नै उत्पादन गरिरहेकाले यो वर्ष उत्पादन बढेको हो,' न्यौपानेले सेतोपाटीसँग भने।
सर्वोत्तमको क्षमता वार्षिक दुई लाख ४० हजार टन बिलेट उत्पादन हो। अघिल्लो आर्थिक वर्ष ८६ हजार टन उत्पादन गरेको थियो भने यो वर्ष एक लाख ५ हजार टन भएको छ।
गत वर्ष सर्वोत्तमले ६० प्रतिशत डन्डी र ४० प्रतिशत बिलेट उत्पादन गरेको थियो। उद्योगलाई स्पन्ज आइरनबाट बिलेट मात्र बनाउनुभन्दा यसबाट डन्डी तयार गर्दा बढी लाभ हुन्छ। किनभने डन्डी बनाउन बिलेट बनाउनैपर्छ। त्यसैले सर्वोत्तमले यस वर्ष डन्डी उत्पादनमै जोड दिएको छ। यस वर्ष बिलेट २० प्रतिशत र डन्डी ८० प्रतिशत उत्पादन भएको छ।
सर्वोत्तमले अहिले आठ आकारमा डन्डी उत्पादन गर्छ; ८, १०, १२, १६, २०, २५, २८ र ३२ एमएम। मूल्यका हिसाबले चालु वर्षमा मात्रै १० अर्ब रूपैयाँभन्दा बढीको डन्डी तथा बिलेट सर्वोत्तमले उत्पादन गरेको छ। पूर्ण क्षमतामा चल्दा यसले वार्षिक २० अर्ब रूपैयाँ बराबरको उत्पादन गर्न सक्छ।
अध्यक्ष न्यौपानेका अनुसार सर्वोत्तमले ४० मेगावाट विद्युत प्रयोग गर्छ। तर हाल मागअनुसार पाएको छैन। अब स्पन्ज आइरन उत्पादन गर्दा ६० मेगावाट खपत हुन्छ।
स्पन्ज आयात गरी डन्डी उत्पादन गर्दा विद्युत लागत र अन्य स्वदेशी कच्चा पदार्थ समेत जोडेर ७० प्रतिशतमाथि मूल्य अभिवृद्धि हुन्छ। अहिले स्पन्ज आइरनको आयात मूल्य किलोको ४८ रूपैयाँ र डन्डीको बजार मूल्य करिब ८८ रूपैयाँ छ। दस प्रतिशत मूल्य उतारचढाव भए पनि ७० प्रतिशतमाथि मूल्यअभिवृद्धि हुन्छ।
बिलेट आयात गरेर डन्डी बनाउँदा भने २० देखि २५ प्रतिशतसम्म मात्रै मूल्य अभिवृद्धि हुन्छ। आइरन ओर (फलामजन्य ढुंगा) आयात गरेर स्पन्ज बनाउँदा मूल्य अभिवृद्धि थप बढ्छ। स्पन्ज आइरनका लागि पनि कच्चा पदार्थ आवश्यक हुन्छ जुन आयात नै गर्नुपर्छ। यो प्रतिकिलो २९ रूपैयाँ पर्छ। यो कच्चा पदार्थको मूल्यदेखि डन्डी बनाउँदासम्मको लागत र त्यसलाई बजारमा ८८ रूपैयाँ किलोमा बेच्दा तीन गुणा बढी मूल्य अभिवृद्धि हुन्छ।
हाल हामीकहाँ कुनै पनि उद्योगले स्पन्ज आइरन उत्पादन गर्दैनन्। पहिले बिलेट र स्पन्ज आइरन दुवैको आयातमा भन्सार महसुल ५ प्रतिशत लाग्थ्यो भने अन्तशुल्क लाग्दैन थियो। पछि सरकारले स्पन्ज आइरनमा भन्सार १ प्रतिशत बनायो। बिलेटमा भने ५ प्रतिशत भन्सार शुल्क र प्रतिमेट्रिक टन २ हजार ५ सय रूपैयाँ अन्तशुल्क लाग्छ। यसपछि स्पन्ज आयात बढेर बिलेट उत्पादन पनि बढ्न थालेको हो।
टेबलमा हेर्नुहोस् तीन आर्थिक वर्षमा बिलेट र स्पन्जको आयातको विवरणः
| आर्थिक वर्ष | रकम (रूपैयाँमा) | परिमाण (केजीमा) |
बिलेट | २०७७/७८ | ७१ अर्ब ५२ करोड | एक अर्ब १७ करोड ४७ लाख |
२०७८/७९ | ५१ अर्ब ३० करोड | ५१ अर्ब ३० करोड |
२०७९/८० (११ महिना) | २१ अर्ब | २६ करोड २८ लाख |
स्पन्ज | २०७७/७८ | ७ अर्ब ८७ करोड | १९ करोड १५ लाख |
२०७८/७९ | २४ अर्ब | ४१ करोड ५७ लाख |
२०७९/८० (११ महिना) | ३९ अर्ब ८१ करोड | ७० करोड ४३ लाख |