नेपालमा पहिलो र दक्षिण एसियाली मुलुकमा दोस्रो 'महिला उद्यमी हरित पार्क' काभ्रेपालञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुने भएको छ।
दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखालसँगको सहकार्यमा पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ।
महिला उद्यमीका उत्पादनहरू अभिवृद्धि गर्ने, उत्पादनलाई कृषि र पर्यटन क्षेत्रसँग जोड्ने र हरित अर्थतन्त्रमा टेवा पुर्याउने यस औद्योगिक पार्कका मुख्य उद्देश्य हुन्।
'यसभन्दा पहिले भारतमा यस्तै प्रकारको पार्क सार्वजनिक-निजी साझेदारी मोडलमा सञ्चालनमा ल्याएको छ। नेपालमा २०७६ देखि नै अघि बढाइएको थियो, अहिले मूर्त रूप लिँदैछ,' महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले भनिन्, 'उद्यममा महिलाको योगदान बढाउन तथा हरित अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउन यो नमूना परियोजना हुनेछ।'
सय रोपनी जग्गामा फैलिने यो पार्कलाई तीन विभाग; इको (पर्यावरणीय) पर्यटन, उत्पादन क्षेत्र र आइटी (सूचना तथा प्रविधि) मा विभाजन गरेर व्यवस्थित गराउन खोजिएको छ।
इको पर्यटन क्षेत्रको रूपमा विकास गर्न विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन गरिने छ। कला हेर्न तथा यस्ता सामग्रीको आकर्षणका लागि पर्यटकहरू त्यहाँ पुग्ने अपेक्षा छ।
त्यस्तै स्थानीय खाना पनि प्रदर्शन गरिने छ। परम्परागत खाना र स्थानीय मदिरा लगायत प्रदर्शनीले अवलोकनकर्तालाई लोभ्याउने आशा गरिएको छ।
उत्पादन क्षेत्र महत्त्वपूर्ण विभाग हुनेछ। यहाँ स्थानीय कच्चा पदार्थ र कृषिमा आधारित पचास वटा साना उद्योग स्थापना गरिने छ। यसमा २५ वटा लघु उद्यमीका उद्योग रहने छन् भने २५ वटा स्टार्ट-अप हुने छन्।
पार्कमा 'भर्चुअल' बजार पनि निर्माण गरिने अध्यक्ष रिजालले बताइन्। यहाँ स्थानीय उत्पादक र कृषकहरूले हरित औद्योगिक पार्कभित्र महिला उद्यमीहरूसँग प्रत्यक्ष कारोबार गर्न सक्ने गरी व्यवस्था मिलाइने उनले बताइन्।
के-के भयो काम?
२०८० जेठ २४ मा बसेको मन्त्रिपरिषद बैठकबाट औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत निर्माणाधीन यस पार्कलाई 'महिला औद्योगिक ग्रामका' रूपमा विकास गर्ने निर्णय भएको छ। आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकाले एक सय रोपनी जग्गा उपलब्ध गराइसकेको मेयर महेश खरेलले जानकारी दिए। उनका अनुसार आगामी २५ वर्षका लागि जमिन भाडामा दिने सम्झौता गरिएको छ।
त्यस्तै हरित औद्योगिक पार्कको गुरूयोजना, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको छ।
हालसम्म पार्कमा संघीय सरकार र स्थानीय तहको गरी सवा दुई करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको छ। पार्कसम्म पुग्ने बाटो कालोपत्रे हुनुका साथै अन्य आवश्यक पूर्वाधार पनि निर्माण भइरहेको मेयर खरेलले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामको रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ। आगामी वर्षको बजेटमा औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।
दिगो विकासका तीन लक्ष्यलाई सघाउने
दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले यो परियोजना सञ्चालनमा आउँदा दिगो विकासका तीनवटा लक्ष्य पूरा गर्न ठूलो सहयोग पुग्ने बताइन्। उनका अनुसार दिगो विकासका १७ वटामध्ये ५, ९ र १३ नम्बर बुँदाका लक्ष्य पूरा गर्न सहयोग पुर्याउने छ।
दिगो विकासको ५ नम्बर लक्ष्यमा लैंगिक समानताको विषय उल्लेख छ। सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाई लैंगिक समानता हासिल गर्ने यसको उद्देश्य हो।
९ नम्बरमा उद्योग पूर्वाधार र नवीन सिर्जना छ। उत्थानशील पूर्वाधारहरू निर्माण गर्ने, समावेशी तथा दिगो औद्योगीकरण प्रवर्द्धन गर्ने र नवप्रवर्तनलाई प्रेरित गर्ने यसको उद्देश्य हो।
र, १३ नम्बर बुँदामा जिम्मेवारीपूर्ण उपभोग तथा उत्पादनको लक्ष्य छ। यसको उद्देश्य दिगो उपभोग र उत्पादनका ढाँचाहरू निर्माण गर्ने हो।
यो परियोजनालाई राष्ट्रिय योजना आयोगको १४ औं योजनासँग पंक्तिबद्ध गराई लघु, साना र मझौला उद्यमी तथा कम्पनीहरूलाई उनीहरूको विस्तारका लागि आवश्यक उत्कृष्ट पूर्वाधार तथा सुविधा परिपूर्ति गर्न सघाउ पुग्ने अपेक्षा राखिएको छ।
प्रदूषणमुक्त पार्कमा शून्य कार्बनको नीति
प्रदूषणमुक्त, ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा र शून्य कार्बन निर्माण यसका प्रमुख विशेषता हुन्। फोहोर व्यवस्थापन र पुनः प्रयोग, फोहोर पानी प्रशोधन र पुनः प्रयोग, हरयाली र बर्खे पानी संकलन गरी प्रदूषणमुक्त पार्क बनाइने लक्ष्य छ।
छानोमा सोलार, सोलारबाट चल्ने सडक बत्ती, स्वच्छ प्रविधि र नवीकरणीय ऊर्जा प्रविधि प्रयोग गर्ने तथा साझा पूर्वाधार र कुशल व्यवस्थापन प्रणाली लागू गर्दै ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको नमूना प्रयोग हुने बताइएको छ।
स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरी पार्कको संरचना भूकम्प प्रतिरोधी बनाइने छ। ऊर्जा, लागत र पानी बचत गर्ने, कार्बनडाइअक्साइड उत्सर्जन घटाउने, घरभित्रको वातावरणीय गुणस्तर सुधार गर्ने र प्राकृतिक स्रोतहरूमा प्रयोग हुने सामग्रीको प्रभाव विचार गर्ने डिजाइन समावेश गरिएकाले शून्य कार्बन नीति लागू गरिने उल्लेख छ।
यस्तो छ भावी योजना र परिणामको लक्ष्य
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो हरित पार्क सञ्चालनमा ल्याएसँगै अन्य ६ वटा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाउने योजना छ।
यो परियोजनाले हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने, व्यावसायिक उत्पादनमा नवीन विचार, प्रविधि र सीप अनुवाद गर्न मद्दत गर्ने दक्षिण एसियाली महिला विकास मञ्चले उल्लेख गरेको छ। दिगो विकासका लक्ष्य पूरा गर्न सघाउ पुर्याउनुका साथै महिलालाई उद्यमी बनाउन महत्त्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ।
कृषकहरूको उत्पादकत्वमा वृद्धि, उच्च गुणस्तरको प्रशोधन पूर्वाधारको सिर्जना, उत्पादकको क्षमता अभिवृद्धि गरी एउटै परियोजनामा करिब एक हजार रोजगारी सिर्जना गर्ने पनि लक्ष्य छ। प्रभावकारी आपूर्ति शृंखलाका कारण प्रतिस्पर्धी वातावरण तय हुने अनुमान पनि छ।
सामाजिक, आर्थिक र वातावरणीय दिगोपन पक्षहरूको एकीकरण, औद्योगिक पार्कमा एकीकृत लागत प्रभावकारी साझा पूर्वाधार र सेवाहरू, स्थानीय परिवेश र जनसंख्यालाई फाइदा पुर्याउन पार्क नजिकैका क्षेत्रमा होम-स्टे सुविधा विस्तार गर्ने भावी योजना छ।
यसले स्थानीयको आयस्रोत र रोजगारी बढाउन सहयोग पुर्याउने छ। यो परियोजना सञ्चालनमा आउँदा करिब एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ। यो पार्कभित्र उद्योग स्थापनाका लागि महिलाको नाममा उद्योग दर्ता भएको हुनुपर्ने व्यवस्था छ।